ब्रजिलका पूर्वराष्ट्रपति लुलालाई भ्रष्टाचारको दोषबाट सफाइ

लुला

तस्बिर स्रोत, Getty Images

ब्रजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई सर्वोच्च अदालतका एक न्यायाधीशले भ्रष्टाचारको दोषबाट सफाइ दिएका छन्।

यसले सन् २०२२ को राष्ट्रपति निर्वाचनमा सहभागी हुने उनको बाटो खुलेको छ।

वामपन्थी नेता लुलालाई सन् २०१९ मा १८ महिना कैदपछि रिहा गरिएको थियो।

घुसकाण्डमा सफाइ

ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशले लुलाविरुद्धका यसअघिका प्रमाणित आपराधिक दोष रद्द गरिदिएका छन्।

उनलाई अपरेशन कार वाश नामक घुसकाण्डको अनुसन्धानपश्चात् दोषी ठहर गरिएको थियो। त्यसमा अन्य नेता तथा व्यापारीहरू पनि परेका थिए।

तर न्यायाधीश एड्सन फाकिनले ती दोषबाट उनलाई सफाइ दिएका छन्।

उनलाई दोषी ठहर गरेको दक्षिणी सहर कुरिचीबाको अदालतलाई ती चारवटा मुद्दा हेर्ने अधिकार नभएको भन्दै न्यायाधीश फाकिनले अब तिनको सुनुवाइ राजधानी ब्रजिलियास्थित सङ्घीय अदालतमा हुने फैसला गरेका छन्।

अब उनीमाथि लागेका दोष पुन: प्रमाणित नभएसम्म उनको राजनीतिक अधिकार पुनर्स्थापित हुनेछ।

अर्थात् आगामी चुनावमा उनी वर्तमान राष्ट्रपति जइर बोल्सोनारुविरुद्ध लड्न सक्नेछन्।

सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका लुलालाई सन् २०१८ मा दोषी ठहर गरिएको थियो।

दोषी ठहर भएपछि डेढ वर्ष जेल परेका उनलाई आजीवन सार्वजनिक पदमा चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो।

तर पछिल्लो फैसलाले अहिलेको निम्ति उनलाई चुनावको बाटो खुलेको छ।

एक विज्ञप्ति जारी गर्दै लुलाले उनी सधैँ सही थिए भन्नेको यो स्वीकारोक्ति मात्र भएको बताए।

ब्रजिलका वर्तमान राष्ट्रपति बोल्सोनारुले देशका जनताले लुलालाई फेरि उम्मेदवारका रूपमा हेर्न नचाहेको बताएका छन्।