जलवायु परिवर्तन: विश्व तापमान वृद्धि नियन्त्रणबाहिर जान लागेको संयुक्त राष्ट्रसङ्घको चेतावनी

    • Author, म्याट म्याकग्रा
    • Role, वातावरण संवाददाता

निराशा दर्शाउने संयुक्त राष्ट्रसङ्घको एउटा अध्ययन प्रतिवेदनले विश्व तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयासका लागि विश्वसनीय मार्गचित्र नदेखिएको जनाएको छ।

वैज्ञानिकहरूले चाहिँ तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुगेको अवस्थामा विश्वभरिका मानिसमा खतरनाक प्रभाव पर्ने ठानेका छन्।

राष्ट्रसङ्घको प्रतिवेदनले गत वर्ष ब्रिटेनको ग्लासकोमा आयोजित कोप-२६ नाम दिइएको जलवायु सम्मेलनयता कार्बन उत्सर्जन कटौती गर्ने विभिन्न देशका सरकारहरूको योजना दुःखद रूपमा अपर्याप्त रहेको जनाएको छ।

समाजको तत्काल रूपान्तरणले मात्रै विपद्‌बाट जोगाउन सक्ने प्रतिवेदनमा उल्लेख छ। कोप २७ नाम दिइएको अर्को जलवायु सम्मेलन आगामी साता इजिप्टमा सुरु हुँदैछ।

गत वर्ष ग्लास्गोमा जलवायुसम्बन्धी कूटनीतिज्ञहरूको बैठकयता विश्वको ध्यान अन्यत्रै मोडिए पनि यो साताबाट जलवायु परिवर्तनका समस्याबारेका विवरणहरूमाथि चर्चा सुरु भएको छ।

यसै साता बीबीबीका दर्शक र स्रोताहरूका जिज्ञासाको जबाफ दिँदै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले विश्वले जलवायु परिवर्तनमा पुनः ध्यान केन्द्रित नगरे विपत्तिको सामना गर्नुपर्ने चेतावनी दिएका थिए।

संयुक्त राष्ट्रसङ्घले बिहीवार सार्वजनिक गरेको उत्सर्जन अन्तरसम्बन्धी अध्ययनले वैज्ञानिक र कूटनीतिज्ञहरूको निराशालाई प्रतिविम्बित गरेको छ।

विश्व तापमान.८ डिग्री सेल्सियस बढ्ने

विगत १३ वर्षयता गरिँदै आइएको अध्ययनले प्रतिबद्धता र वास्तविकताको अन्तरबारे विश्लेषण गर्ने गरेको छ।

प्रतिवेदनको निष्कर्षमा १ दशमलव ५ डिग्री सेल्सियसको सीमा गम्भीर जोखिममा रहेको उल्लेख गरिएको छ।

यो विश्लेषणले कार्बन कटौती गर्ने नयाँ प्रयासहरूका कारण सन् २०३० सम्म विश्वव्यापी उत्सर्जन १ प्रतिशतभन्दा भन्दा थोरै मात्रै कम हुनेछ।

तर वैज्ञानिकहरूका अनुसार १ दशमलव ५ डिग्री सेल्सियसको लक्ष्य भेट्नका लागि उत्सर्जन ४५ प्रतिशतसम्म घटाउनुपर्छ।

अहिलेकै नीतिहरूका आधारमा तापमानको प्रभाव मूल्याङ्कन गर्दै प्रतिवेदनले यो शताब्दीमा विश्वको तापक्रम २ दशमलव ८ डिग्री सेल्सियसले बढ्ने आकलन गरेको छ।

यदि राष्ट्रहरूले आर्थिक सहायता पाउने हो र तयार गरिएका योजनाहरू कार्यान्वयन गर्ने हो भने यसलाई २ दशमलव ४ डिग्री सेल्सियसमा सीमित गर्न सकिने उल्लेख छ।

"हामीसामु उल्लेख्य परिवर्तन गर्न सक्ने मौका थियो, तर त्यो समय कटिसकेको छ," प्रतिवेदन तयारीमा संलग्न राष्ट्रसङ्घीय पर्यावरण कार्यक्रमका कार्यकारी निर्देशक इङ्गर एन्डर्सनले भनिन्।

उनले हाम्रो समाज र अर्थतन्त्रमा जरैदेखि परिवर्तन गर्न सके मात्रै जलवायुसम्बन्धी विपद्‌बाट बच्न सकिने बताइन्।

राष्ट्रसङ्घले कार्बन उत्सर्जनमा आमूल कटौती गर्ने लक्ष्य हासिल गर्न कठिन रहेको स्वीकार गर्दै जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्नेमा जोड दिएको छ।

पर्यावरण कार्यक्रमका कार्यकारी निर्देशक इङ्गर एन्डर्सन कक्षाकोठादेखि मतदान स्थलसम्म जलवायु परिवर्तनबाट निम्तिने जोखिमबारे छलफल हुनुपर्ने बताउँछिन्।

राष्ट्रसङ्घ बाहेकका संस्थाहरूले हालैका साताहरूमा सार्वजनिक गरेका प्रतिवेदनहरूले पनि तापमान वृद्धि हुने औँल्याएका छन्।

यो साता प्रकाशित भएका प्रायः सबै प्रतिवेदनले केही सकारात्मक प्रयासहरूबारे उल्लेख गरे पनि जलवायु परिवर्तनको असर कम गर्ने उपलब्धिहरूमा अझै कमी रहेको औँल्याएका छन्।