नेपाली संस्कृति: पुर्ख्यौली काममा पुनरागमनपछि कुम्ह टोलमा उल्लास

कुम्हाले
    • Author, मतिना त्वानाबासु
    • Role, बीबीसी न्यूज नेपाली

यतिबेला भक्तपुरको पोटरी स्क्वायर अर्थात् कुम्ह टोल निकै व्यस्त छ।

तिहारको लागि चाहिने पालालगायत विभिन्न माटाका भाँडाहरू किन्न‚ भाडा बनाएको हेर्न र बनाउन सिक्ने मानिसहरूको बिहानदेखि लाम लाग्छ।

लाम लाग्नेमा जति विदेशी पर्यटक देखिन्छन् त्योभन्दा बढी स्वदेशी पर्यटक भेटिन्छन्।

जीवित सङ्ग्रहालयजस्तो लाग्ने कुम्हालेहरूको यो बस्तीमा यतिबेला केही व्यक्ति र तिनको परिवारको उपस्थितिले रौनक थपेको छ।

पेसामा पुनरागमन

यसअघि फाट्टफुट्ट देखिने गणेशकुमार प्रजापति ३ महिनादेखि नियमित देखिन थालेका छन्।

उनले पनि बुवा हजुरबुवाले गर्दै आएको पेसासँग नटुट्ने साइनो गाँसेका छन्।

"म तरकारी व्यापार गर्थेँ। बिहान तरकारी बेचेर फर्किए पछिको समय तरकारी उब्जाउने बारीमै बित्थ्यो," उनी भन्छन्।

"त्यसबाट समय रह्यो भने माटोको भाडा बनाउने काम गर्थेँ। तर त्यसमा म त्यति गम्भीर कहिल्यै थिइनँ। अब भने परिवारको बिँडो थाप्ने समय भयो भन्ने लागेको छ।"

कुम्हाले टोलमा सूर्यकुमार प्रजापतिले पनि आफ्नो उपस्थिति बाक्लो बनाएका छन्।

२०५० सालयता करिब दुई दशक किराना पसल‚ जुत्ता पसल गरिसकेका उनी पछिल्लो केही वर्षदेखि पुर्ख्यौली पेसामा सक्रिय छन्।

पर्यटकहरू

एउटा निजी कम्पनीमा दश-पाँचको जागिर गर्छन्। तर बिहान बेलुकाको समय माटो खेलेरै बिताउँछन्।

"यसले जीविका त चल्छ नै । त्योभन्दा बढी यो पेसाको निरन्तरतामा केही योगदान हुन्छ भन्ने लाग्छ," उनी भन्छन्।

रहर कि बाध्यता

विनोदकुमार प्रजापति विगत १० वर्षदेखि खेल कम माटोसँग बढ्ता खेलिरहेका छन्।

विद्यार्थी उमेरदेखि दौडमा सक्रिय उनी प्रशिक्षक समेत भए।

अहिले पनि दौडन्छन्। तर आफ्नै स्वास्थ्यको लागि मात्र।

"खेलमार्फत परिवारको समृद्धि सम्भव नदेखेपछि मैले पुर्ख्यौली पेसा रोजेँ। सुरुमा बाध्यता लाग्थ्यो। तर अहिले रहरले गर्दै छु। खुसी छु," उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘माटो नै छैन भने त काम के गर्नु र?’: सङ्कटमा प्राचीन पेसा

आफूले बनाएका सामान बेच्न उनले कुम्ह टोलमै पसल पनि खोलेका छन्।

"आर्थिक समृद्धिका लागि मात्र यो काममा फर्केको होइन। आफ्नो सन्ततिलाई आफ्नो पेसा र पहिचान बुझाउन जरुरी छ भन्ने ठानेर कृषि कर्म छोडेर म यो पेसामा फर्किएँ। मेरी आमा मेरो निर्णयले निकै सुखी अनुभूत गर्नुहुन्छ," ३९ वर्षका गणेशकुमार प्रजापतिले भने।

माटो मुछ्दै‚ माटोसँग खेल्दै हुर्केकालाई त्यही काममा फर्कन कुनै ठुलै सङ्घर्ष गर्नपर्ने स्थिति देखिँदैन।

तर माटोसँग टाढिएर फेरि माटोमा जीवन देख्नेसम्मको अवस्था त्यसै आउँदैन भन्छन् पेसाले आर्किटेक्ट इन्जिनियर ३३ वर्षका चन्द्र प्रजापति।

उनी खासगरी चाडपर्वमा बुवा आमा र बाजे बजैलाई माटाका भाडा बनाउने काममा सघाउँछन्।

हरेकपटक माटो छुँदा मन भावुक हुने उनी बताउँछन्।

"भाँडाकुँडा बनाएर जीविका चलाउने सवाल एकातिर छ। त्यो भन्दा पनि ठुलो के लाग्छ भने हामीले बनाएको माटाका सामान तलेजु र नवदुर्गागणसम्म पुग्छ," उनले सुनाए।

"सामाजिक आवश्यकता पुर्‍याउनेदेखि धार्मिक परम्परा निर्वाह गर्नेसम्मको काममा चाहिने सामान हामी तयार पार्छौँ। यति ठुलो सांस्कृतिक‚धार्मिक र परम्परागत कर्मसँग जोडिन पाउँदा गर्व महसुस हुन्छ।"

फर्किएका सबैको आ-आफ्नै कारण छन्।

कुनै सुखद त कुनै दुखद।

कुम्हाले

बजार

माटाका भाँडाकुँडाको माग वर्षेनी बढ्दै गरेको कुम्ह टोलका प्रजापतिहरू बताउँछन्।

उनीहरूका उत्पादन देशभित्र र बाहिर धेरैले रुचाएका छन्।

गणेश प्रजापति भन्छन्, "माटाका भाँडाको माग धेरै छ। बनाउने मानिसहरूचाहीँ कम छन्। बनाएको सामान त थुपार्नै भ्याउँदैन। बजारको त समस्या नै छैन।"

रोशन प्रजापति पनि उनको भनाइसँग सहमत हुँदै थप्छन्, "हामीले बनाउन मात्र सक्यौँ भने जस्तो सामान पनि बिक्छ। एक समय आधुनिकीकरणतर्फ उन्मुख भएर आधुनिक सामानहरू प्रयोग गर्न रुचाउने मानिसहरू पछिल्लो समय आफ्नो संस्कार र संस्कृतिलाई माया गर्न थालेको देख्छु। त्यसैले माटाका सामान बनाएर बाहिर फिँजाउन मात्र सक्नुपर्छ। नबिक्ने भन्ने कुरै छैन।"

माटोको कला सिक्दै पर्यटक

उल्लास

हातैले घुमाउनु पर्ने चक्रको ठाउँमा विद्युतीय चक्र आएपछि दिनमै सयौँ भाँडाकुँडा बनाउन सकिने भएको छ।

भाडा पोल्ने परम्परागत प्रविधिले गर्ने क्षति नयाँ भट्टी भित्रिएपछि कम भएको छ।

पहिले जस्तो धुलो धुवाँ र कडा मिहिनेत गर्नु नपर्ने भएकाले पनि नयाँ पुस्ता र अन्य पेसा अङ्गालिसकेका मानिसहरू यो पेसामा आकर्षित हुन थालेको विगत ३ दशकदेखि यो पेसामा निरन्तर लागिरहेका रोशन प्रजापति बताउँछन्।

कुम्हाले टोलको मध्य भागमा घाममा पाला सुकाउँदै गरेका केही युवाहरूलाई देखाउँदै उनले भने, "यी भाइहरू अर्कै पेसामा थिए। फर्केर यो पेसामा आए। उनीहरूलाई देख्दा हामीमा पनि काम गर्ने जोस बढेको छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, तिहारमा प्रयोग हुने प्ररम्परागत मिठाई कुन-कुन हुन्?

पढ्दैमा सबैले काम पाइहाल्ने स्थिति नेपालमा नबनिसकेको बताउँदै अर्का कुम्हाले मोहन प्रजापति नयाँ पुस्ताको यो पेसामा रहर बढेको स्विकार्छन्।

सिक्न खोज्नेहरू पनि बढ्दै गरेको उनी बताउँछन्।

७८ वर्षीय ललित प्रजापति साना साना केटाकेटी र युवालाई सिकाउन पाउँदा आफ्नो सीपमा अमृत भरिएको अनुभूति हुने बताउँछन्।

"नयाँ पुस्ता आउने क्रम ढिलो भए पनि जारी छ।"

चिन्ता

ललित प्रजापति
तस्बिरको क्याप्शन, ललित प्रजापति

पेसागत पुनरागमन पनि बिस्तारै बढ्दै छ।

तर यो पेसाको आधार भनेको माटो हो। माटो उपलब्ध हुने ठाउँहरू तीव्र गतिमा हराउँदै छन्।

माटोको "ग्यारेन्टी" छैन। त्यसैले नयाँ पुस्तालाई यो पेसामा उनीहरूको भविष्य "ग्यारेन्टी" गर्न नसकेको पाका कुम्हालेहरू बताउँछन्।

विक्रम संवत् २००१ सालमा जन्मेको बताउने ललित प्रजापति कुम्ह टोलका एक मात्र व्यक्ति हुन् जो २ वटा विद्युतीय चक्र जडान गरेर पनि परम्परागत चक्र नै घुमाउँछन् र भाँडाकुँडा बनाउँछन्।

आफ्नो पेसाप्रति निकै गर्व गर्दै उनी भन्छन्, "यो पेसा जन्मँदा चाहिन्छ। मर्दा पनि चाहिन्छ। पूजाआजा र चाडपर्वमा पनि चाहिन्छ। सितिमिति हराएर जाँदैन। यो पेसा सङ्कटमा पर्न सक्ने भनेको माटोको कारणले हो। माटो हुन्जेल चल्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, भाइ मसलामा सामग्री कहाँबाट आउँछन्?