भक्तपुरः सम्पदा संरक्षणमा पुरानोसँग नयाँ पिँढीको हातेमालो

भैरवनाथ
    • Author, मतिना त्वानाबासु
    • Role, बीबीसी नेपाली सेवा

पुरातात्त्विक सम्पदाहरूको पुनर्निर्माणमा उदाहरणीय भनिएको भक्तपुरमा नयाँ र पुराना पुस्ताको सहकार्यमा टौमढीस्थित चार सय वर्षभन्दा पुरानो प्रख्यात भैरवनाथको मन्दिरको जीर्णोद्धारको काम भइरहेको छ।

भक्तपुर नगरपालिकाको आफ्नो खर्चमा उपभोक्ता समितिमार्फत् भैरवनाथ मन्दिरको जीर्णोद्धारको काम भइरहेको बताइएको छ।

स्थानीय दक्ष तथा अनुभवी शिल्पकारहरूसँग परियोजनास्थलमै गई उनीहरूका परम्परागत काम गर्ने शैली, सीप सिक्ने दुर्लभ अवसर जुटेको नयाँ पुस्ता बताउँछन्।

विगत दुई महिनादेखि भैरवनाथ मन्दिरको जीर्णोद्धार कार्यमा संलग्न ६२ वर्षीय कृष्णप्रसाद छुकांलाई झिँगटीको समयमै जोहो नहोला र समयमै जीर्णोद्धार कार्य नसकिएला भन्ने चिन्ता छ।

"अहिले हामीसँग भएका आधाभन्दा बढी झिँगटी काम नलाग्ने भइसकेका छन्। त्यसैले मैले चिने जानेकालाई झिँगटी भए ल्याइदिन अनुरोध गरेको छु," उनले भने।

इतिहास

भक्तपुरको प्रसिद्ध बिस्केटजात्रा यही भैरवनाथ मन्दिरबाट सञ्चालन हुने गर्छ। भैरवनाथ मन्दिरलाई भारतको काशी विश्वनाथ मन्दिरका रूपमा पनि चिनिन्छ।

विश्वनाथको काटिएको शीर राख्न भैरवनाथ मन्दिर निर्माण गरिएको जनविश्वास छ। भैरवनाथको काटिएको शीर अझै पनि जीवितै रहेको जनविश्वास छ।

भूपतीन्द्र मल्लले नेपाल संवत् ८३८ मा जिर्णोद्धार गरेको बताइएको भैरवनाथको मन्दिर वि.सं. १९९० सालको भूकम्पले पूर्णरूपमा ध्वस्त भएको थियो।

त्यसपछि वि.सं. १९९३ मा मन्दिरलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिएकोमा ४५ सालको भूकम्पले फेरि भत्काएर ५२ सालमा पुनर्निर्माण गरिएपछि पछिल्लो पटक ०७२ सालको भूकम्पले पुनः क्षति पुर्‍याएको थियो।

भक्तपुर

'गरेका दक्ष कर्मी अब्बल'

भक्तपुर नगरपालिकाले करिब डेढ करोड रुपैयाँ खर्चमा एक वर्षभित्र भैरवनाथ मन्दिरको जीर्णोद्धार कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ।

गत आर्थिक वर्षमै कार्य शुरू गर्ने बताइए पनि सो मन्दिरको पुनर्निर्माणबारे अन्तिम निर्णय गर्न विज्ञहरूको टोलीलाई करिब आठ महिना लागेको नगरपालिकाको सम्पदा शाखाका इन्जिनियर तथा मन्दिर जीर्णोद्धार परियोजनाका प्राविधिक इन्चार्ज सूर्यभक्त खर्बुजा बताउँछन्।

भक्तपुरलगायत अन्य क्षेत्रका संरक्षणविद् र प्राविधिकहरूको टोलीको गहन अध्ययनपछि भैरवनाथ मन्दिरको माथिल्लो तलामात्र भत्काएर पुनः जस्ताको तस्तै बनाउने अन्तिम निर्णय आएपछि जीर्णोद्धार कार्य थालेको उनी बताउँछन्।

त्यसका लागि परम्परागत शैलीमा पुरातात्त्विक सम्पदा निर्माणमा अनुभवी दक्ष स्थानीय कर्मीहरू लागि परेको उनी बताउँछन्।

भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थी तथा अन्य नयाँ पुस्ता समेत सहभागी गराई मन्दिरको जीर्णोद्धारको काम पढेलेखेका नयाँ पुस्ता र अनुभवले खारिएका दक्ष कर्मीहरूको सहकार्यमा भइरहेको इन्जिनियर खर्बुजा बताउँछन्।

उनी भन्छन्, "हामी जति नै राम्रो प्राविधिक हौँ भने तापनि उहाँहरूको सीप र दक्षता हाम्रोभन्दा निकै राम्रो छ। हामीले नक्साङ्कन तथा निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तरजस्ता केही कुरामा सहयोग गर्न सक्छौँ।"

भक्तपुर

सीप हस्तान्तरण

२०४५ सालको भूकम्पमा ध्वस्त भएको भैरवनाथ मन्दिरको २०५२ सालमा पुनर्निर्माण भएको थियो।

१९९३ सालमा सो मन्दिरको पुनर्निर्माण गर्ने कर्मीहरू नै ५२ सालमा सहभागी थिए। त्यति बेलाका एक युवा कर्मी जगत्‌वीर शिल्पकार अहिले अनुगमनकर्ताको रूपमा सक्रिय छन्।

भैरवनाथ मन्दिर पुनर्निर्माणको अनुभवपछि उनलाई ५४ सालमा पाँचतले मन्दिर पुनर्निर्माणको अवसर पनि मिलेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भूकम्पका तीन वर्ष: ‘हामी सुरक्षित छैनौँ’

उहिले आफूले सिकेजस्तै अहिलेका नयाँ पुस्तालाई पनि पुरातात्त्विक सम्पदा संरचना निर्माणको ज्ञान दिन सके भविष्यमा तिनको संरक्षण र पुनर्निमाण सम्भव हुने ठान्छन्।

"मन्दिर बनाउने भनेको घर बनाउने जस्तो सजिलो हुँदैन। भत्काउँदा पनि कहाँको कुन काठ कता कसरी राख्ने भन्ने ध्यान दिनुपर्छ। मन्दिरहरू काठको चुकुलको भरमा अडेका हुन्छन्। भत्काउँदा पनि होस पुर्‍याउनु पर्छ। नत्र सबै एकैचोटि ढल्न सक्छ, थप क्षति पुग्न सक्छ।"

उनले आफूले जानेको सीप विभिन्न कलेजमा गई इन्जिनियरिङका विद्यार्थीहरूसँग बाँडिरहेका छन्। त्यही पनि आएका युवाहरूलाई काठको नामदेखि प्रयोग हुने चुकुल, नसजस्ता परम्परागत निर्माण प्रविधिको जानकारी दिने गरेको उनी बताउँछन्।

नयाँलाई अवसर

भैरवनाथ जीर्णोद्धार उपभोक्ता समितिको पहलमा बाँसको बाक्लो खट बाँधिएको छ। अहिले माथिल्लो तला भत्काउने काम लगभग सकिएको छ।

ख्वप इन्जिनियरिङ कलेजमा स्नातकोत्तर गरिरहेकी इन्जिनियर रबीना शिल्पकार सोही खटमा चढेर ‍दक्ष कर्मीका साथमा नापजाँचको काम गरिहेकी छन्।

भैरवनाथ मन्दिरबारे विज्ञहरूको टोलीसँग मिलेर त्यसको गहन अध्ययन गर्ने अवसर समेत पाएकी उनी चुकुलहरूको सहायतामा अडिने गरी बनाइएको मन्दिर र त्यस्ता संरचनाहरूको संरक्षण र पुनर्निर्माणबारे किताब पढेर नजानेका कतिपय कुरा परियोजनामा संलग्न भएपछि थाहा पाएको बताउँछिन्।

आफूले सधैँ दर्शन मात्र गरेर हिँड्ने गरेको भैरवनाथको मन्दिरमाथि आफैँ चढेर नाप जाँच र नक्साङ्कन गर्न पाइरहेको रबीना बताउँछिन्, जुन उनको लागि ज्यादै सुखद विषय हो।

"यो मन्दिरको इतिहासबारे बुझ्ने मौका पनि पाएँ। कसरी एकतले मन्दिर तीनवटा छाना भएको साततले मन्दिरमा परिणत भयो भन्ने थाहा पाएँ। यो मन्दिरको बनोट, यसमा प्रयोग भएको पुरानो प्रविधि र कसरी उपलब्ध स्थानीय स्रोतसाधनबाट यसको संरक्षण गर्न सकिन्छ भन्ने यही आएर सिकिरहेकी छु।"

'म भाग्यमानी छु'

रबीनाले यसअघि पाँचतले मन्दिर तथा दत्तात्रय मन्दिरको जीर्णद्धारमा समेत काम गर्ने मौका पाइन्। तर त्यहाँ महिला भएकै कारण मन्दिर उक्लन नदिएको उनी सम्झन्छिन्।

तर भैरवनाथ मन्दिर जीर्णोद्धार परियोजनामा भने उनले मन्दिर उक्लेर नाप जाँच गर्ने नक्सा बनाउने कर्मीहरूको काम हेर्ने मौका पाइन्।

"एकजना केटीलाई प्रायः मन्दिरमा उक्लन अनुमति दिइँदैन। तर यहाँ मलाई कुनै छेकबार छैन। म निसंकोच उक्लन सक्छु। आफ्नो काम गर्न सक्छु। कर्मीहरूका काम अवलोकन गरेर धेरै सिक्ने अवसर पाउँछु। यो मेरो लागि दुर्लभ उपलब्धि हो। म आफूलाई निकै भाग्यमानी ठान्दछु।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, भूकम्पका चार वर्ष: तपाईँ बस्ने घर सुरक्षित छ?

उनीसँगै अमित प्रजापति पनि भैरवनाथ मन्दिर जीर्णोद्धार परियोजनामा संलग्न छन्। उनका लागि पनि यो परियोजना कुनै प्रयोगशालाभन्दा कम छैन।

आजभोलि यस्ता मन्दिरहरूको पुनर्निर्माण वा संरक्षणका लागि आवश्यक झिँगटीहरूको निर्माण नहुने भएकाले कसैका घरमा झिँगटी भए त्यही सङ्कलन गरी संरक्षण कार्य अघि बढाउन पर्ने बताइएको छ।

भैरवनाथ मन्दिरको छानासमेत मर्मत गर्न लागिएको र त्यसका लागि झिँगटी आवश्यक भएकाले त्यसको जोहोका लागि नगरपालिकाले सर्वसाधारणसँग सहयोगका लागि आह्वान गरेको सम्पदा शाखाका इन्जिनियर सूर्यभक्त खर्बुजाले बताए।

यही आर्थिक वर्षभित्र जीर्णोद्धार सकिने बताइएको उक्त परियोजनाले नयाँ पुस्तामा पुरानो सीप हस्तान्तरण गर्ने शैलीको उदाहरण प्रस्तुत गरेको संस्कृतिविद्हरू बताउँछन्।