मुकुन्डोको कथा: सीप हस्तान्तरण नहुँदा परम्परागत ज्ञान हराउने खतरा

- Author, मतिना त्वानाबासु
- Role, बीबीसी न्यूज नेपाली
पूर्ण चित्रकार भक्तपुरको नवदुर्गा गणको मुकुन्डो बनाउने काम गर्छन्।
परम्परागत मुकुन्डो बनाउने सीप नयाँ पुस्तामाझ हस्तान्तरण हुन नसकेकोमा भने उनी दु:खी छन्।
व्यवसायिक उन्नतिको जोखिमले गर्दा नयाँ पुस्ताले काम सिक्ने जाँगर नदेखाएको उनको भनाई छ।
चित्रकार भन्छन्: "नेपालका धार्मिक-सांस्कृतिक धरोहरका रुपमा रहेका जात्रापर्वहरू सङ्कटमा पर्ने डर छ।"
खै नयाँ पुस्ता?
पूर्ण चित्रकारको परिवारको पुर्ख्यौली पेशा नै चित्र कोर्ने, रङ्ग भर्ने र मुकुन्डो बनाउने हो।
भक्तपुरको जीवित देवी मानिने नवदुर्गा गणको मुकुन्डो बनाउने काम झण्डै साढे पाँच दशकयता उनी एक्लैको जिम्मामा छ।
७४ वर्षमा टेकिरहँदा अहिले उनी आफ्नो सो अभिभारा बोक्ने अर्को बलियो काँधको खोजीमा छन्।

"मेरो उमेर ढल्की सक्यो, बुढ्यौली लागि सक्यो। कहिले ज्वरो आउने, कहिले जीउ दुख्ने भइरहन्छ। पहिले जस्तो काम गर्न सक्ने अवस्था अब ममा रहेन।"
भक्तपुरका अन्य थुप्रै जात्रामा प्रयोग हुने मुकुन्डो समेत उनैले बनाउँदै आएको बताउँछन्।
"ठिमीको निलबाराही जात्रा; बनेपा, पनौतीको देवी नाच, काठमाण्डूको वसन्तपुरमा नचाइने सातदेवी नाचको मुकुण्डो; भक्तपुरको पुलुकिसी जात्राको ख्वपा, प्रख्यात विस्केट जात्राको भैरबनाथको रथमा रङरोगन गर्ने काम आजसम्म मैले नै गरिरहेको छु।"
जटिल सीप
नवदुर्गा गणको मुकुन्डो बनाउने काम निकै संवेदनशील र खर्चिलो हुने बताउँछन् पूर्ण चित्रकार।
"वर्षेनी झण्डै तीन लाख रुपैयाँ खर्च लागेपनि त्यति रकम कहीँबाट पनि आउँदैन," उनले सुनाए।
"त्यसमा प्रयोग हुने माटोदेखि सुनसम्म सबैको जोहो आफैले गर्नुपर्छ।"
नवदुर्गाको मुकुन्डो बनाउन 'बोचा' भनिने विशेष किसिमको माटो चाहिन्छ।
नजिकै ब्रम्हायणी खोलामा पाइने त्यस किसिमको माटो अहिले पाइन छाडेपछि समस्या थपिएको उनको भनाइ छ।

सुकाएको माटोलाई धूलो पार्नेगरी कुटेपछि त्यसलाई मैदा र पानीको माडमा मुछिन्छ।
त्यसरी तयार हुने माटाका डल्लालाई कपास राखेर फेरि कुट्नुपर्ने उनी बताउँछन्।
"तन्काउँदा नचुँडिँदासम्म कपास मिसाइरहन पर्नु त्यसको कारण हो," कलाकार पूर्ण बताउँछन्।
त्यसरी हातैले तयार पारिने मुकुन्डोको स्वरुपलाई निश्चित समय हेरेर छायाँमा र हावामा सुकाइन्छ।
बोरा, कपडा र नेपाली कागज टाँस्ने काम सकेर रङरोगन गरेपछि बल्ल मुकुण्डो तयार हुन्छ।
गोप्य शिल्प
१३ वटा मुकुन्डो बनाउन झण्डै तीन महिना समय लाग्ने चित्रकारको अनुभव छ।
दशैँको नवमीमा प्रदर्शनीमा राख्नुअघि हुने अन्य थुप्रै औपचारिकताले गर्दा यति समय पनि अपुग हुने उनको अनुभव छ।
"त्यसैले नवदुर्गाको मुकुन्डो बनाउने काम नसकेसम्म मलाई आराम हुँदैन। पीर परिरहन्छ।"
काका विष्णुबहादुर चित्रकारले मुकुन्डो बनाउँदा कसैलाई देखाउन हुन्न भनेर पूर्णलाई सिकाएका रहेछन्।
त्यसैले आजका दिनसम्म पनि खास शिल्प गोप्य नै राखेको उनी बताउँछन्।

"पैसा कम भयो भनेर मैले आजसम्म बनाउन छाडेको छैन। कति मानिसहरू मुकुन्डो बनाउने कामलाई इँटा पार्नेसँग दाँजेर बोल्छन्। तर त्यति सजिलो कहाँ छ र!"
अचेल कपडा टाँसेको, कागज टाँसेको जोकोही गएर हेर्न पाउँछन्।
उनी कारण खुलाउँछन्: "धेरै गोप्य बनाउँदा मुकुण्डो बनाउने काम र यसको प्रयोग हुने जात्रा नै सङ्कटमा पर्ने ठानी ती कुराहरु खुला रुपमा गर्न थालेको हुँ।"
महङ्गो
चित्रकारले २०३६ सालमा पहिलोपटक भक्तपुरको गुठी संस्थानमा मुकुन्डो र अन्य चित्रहरु बनाउन चाहिने आर्थिक अनुदानका लागि निवेदन दिएका थिए।
त्यतिखेर उनले वार्षिक ६ सय चार रुपैयाँ अनुदान जुटाएका थिए।
२०४५ सालमा फेरि अर्को निवेदन राखेपछि त्यसमा पाँच हजार रुपैयाँ थपियो।
पैसा बढाउन २०४८ सालमा गुठी संस्थानको केन्द्रीय कार्यालय पु्ग्दा त्यहाँका प्रशासकले 'मन भाँचेर पठाएको' उनी बताउँछन्।
उनी सम्झन्छन्: "पैसा नपुगे नबनाउनु भनेर प्रशासकले पठाएपछि मलाई धेरै चित्त दुख्यो।"
२०६८ सालदेखि भने गुठी संस्थानले वर्षेनी १५ हजार दिन थाल्यो।

उनले बनेपा, धुलिखेल, पनौती, जयबागेश्वरीदेखि मन्त्रालय र राष्ट्रपति भवनसम्म धाएर १५ लाख रूपैयाँ जम्मा पारे।
"काम गर्ने पनि मै हुँ, पैसा जुटाउन चहार्ने पनि मै।"
गत साल भक्तपुर नगरपालिकाले त्यसमा १० लाख रुपैयाँ थपेर २५ लाखको अक्षय कोष बनाइदिए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ।
प्रयास
भक्तपुर नगरपालिकाले पूर्ण चित्रकारको सहयोगमा भक्तपुरमा रहेका झण्डै दुई दर्जन चित्रकार परिवारलाई पुर्ख्यौली पेशामा फर्काउन कोशिस गरेको थियो।
तर सो पेशा सिक्न कसैले आफ्नो नाम दर्ता गराएनन्।
"खै मुकुन्डो बनाउने काम सजिलो छैन भनेर आएनन् कि पैसा कम छ भनेर आएनन्!"
आफ्ना तीन छोरामध्ये माइलोले मात्र आफूलाई सघाइरहे पनि उसले समेत निरन्तरता दिनेमा ढुक्न छैनन् पूर्ण चित्रकार।
"मेरो हातको सीप र मिहिनेत मैले भगवानको कामको लागि भन्ने ठानेको छु। कहिलेकाहीँ यो जात्रा-पर्व चलाउने-बचाउने जिम्मेवारी मेरो मात्र त होइन नि भन्ने लाग्छ। तैपनि हरेक वर्ष गरिनै रहेको छु।"










