रानीपोखरी पुनर्निमार्णमा महिलै महिलाको प्रयोग

- Author, विष्णु पोखरेल
- Role, बीबीसी नेपाली सेवा
हातमा पञ्जा र शिरमा फेटा गुथेका केही महिलाहरू रानीपोखरीको एक छेउमा सुकेका स-साना बुट्यान र घाँस काटिरहेका थिए।
अर्को छेउमा उस्तै पहिरनमा रहेका महिलाहरू कोदालो र बेल्चा लिएर खनिरहेका देखिन्थे।
अनि, अर्कोपट्टि भने एकजना पुरुष बलिरहेको आगोमा महिलाहरूले लगेर थुपारिदिएको फोहोर जलाइरहेका थिए।
दरबार हाई स्कुलपट्टिको सडक पेटीमा हिडिरहेकाहरू टक्क रोकिदैँ नीलो बारबाट चिहाएर रानीपोखरीतर्फ हेरिरहेका देखिन्थे।
महिला वर्चस्व
रत्नपार्कपट्टिबाट चाहिँ केही व्यक्तिहरू रानीपोखरीभित्रै पसेर त्यहाँका गतिविधि नियालिरहेका थिए।

पानी सुकाएर सुक्खा बनाइएको रानीपोखरी र त्यसको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको लामो समयसम्म पनि पुनर्निर्माण हुन नसकेका बेला गत सोमवारदेखि हरेक दिन यस्तै दृश्य देखिन्छ।
र, यो दृश्यको सबैभन्दा रोचक पक्ष, त्यहाँ काम गर्ने करिब ५० जनामध्ये दुईजना बाहेक सबै महिला छन्।
हुन त भूकम्पपछिको पुनर्निर्माणका क्रममा गाउँ-गाउँमा महिलाको सक्रियता निक्कै बढेको देखिन्छ।

तर, लामो समयसम्म विभिन्न खाले विवाद र काठमाण्डू महानगरपालिकाका पदाधिकारीबीच देखिएको राजनीतिक रस्साकस्सीपश्चात् पुनर्निर्माण सुरु गरिएको रानीपोखरीमा संलग्न महिलाको धेरै सङ्ख्या विशेष खालको छ।
सिपालु महिला
त्यसको कारणबारे खुलाउँदै पुनर्निर्माणमा संलग्न भक्तपुरको भाजुपोखरी जीर्णोद्धार तथा पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद दुमरू भन्छन्, "पुनर्निर्माण प्राधिकरणले अनुरोध गरेपछि हामीले बूढापाकाबाट पोखरीमा पानी जम्ने गरि निर्माण गर्न सिपालु बनेका दिदीबहिनीलाई लिएर आएका हौँ।"
विभिन्न विवादमा फस्दै आएको रानी पोखरीलाई हालै सरकारले पुनर्निर्माण प्राधिकरणमार्फत् पुनर्निर्माण गर्ने निर्णय गरेको हो।
त्यसपछि प्राधिकरणले परम्परागत शैलीमै त्यसको पुनर्निर्माणका लागि उपभोक्ता समितिमार्फत काम सुरु गरेको अधिकारीहरू बताउँछन्।
पहिले उक्त पोखरी पुनर्निर्माण सुरु गरिँदा त्यसमा आधुनिक निर्माण सामग्री प्रयोग गर्न लागेको भन्दै विरोध भएको थियो।
अधिकारीहरूका अनुसार फेरि त्यस्तै विवाद नआओस् भनेर प्राधिकरणले परम्परागत शैलीमा निर्माण गर्न सक्ने जनशक्तिको खोजी गर्यो।

कसरी भेटिए?
अध्यक्ष दुमरू भन्छन्, "हामीलाई प्राधिकरणले भक्तपुर नगरपालिकामार्फत सम्पर्क गर्यो, त्यसपछि दिदीबहिनीहरूलाई ल्याएर काम सुरु गरेका हौँ।"
प्राधिकरणले उनीहरूलाई सम्पर्क गर्नुको कारण थियो, उनीहरूको समूहले भक्तपुरस्थित भाजुपोखरीमा पानी अडिने गरि पुनर्निर्माण सुरु गर्नु।
उपत्यकाका पोखरीलाई परम्परागत प्रविधिमा पुनर्निर्माण नगर्दा त्यसको मौलिकता गुम्ने मात्र होइन पानी नै नअडिने देखिएपछि त्यसबारे जानकारहरूको खोजी गरिएको अधिकारीहरूको तर्क छ।
त्यसक्रममा भक्तपुरेहरूमा त्यो सीप भएको पत्ता लागेपछि उनीहरूलाई रानीपोखरी निर्माणमा संलग्न गरिएको उनीहरू बताउँछन्।
भक्तपुरका महिलाले चाहिँ कसरी सिके त पानी अडिने गरि पोखरी निर्माण गर्न?
दुमरू भन्छन्, "हामीले बूढापाकाहरूसँग सोधखोज गर्यौ र उनीहरूको अनुभव र सीपबाट सिकेर पुनर्निर्माण सुरु गरेका हौं।"

कालो माटो
रानीपोखरीमा काम गर्न आएकी भक्तपुरकी रत्ना केशरीले पनि उनको भनाइमा सहमति जनाइन्।
दुमरूसँगको संवाद सुनिरहेकी उनले पोखरीमा कसरी पानी अडिन्छ भन्ने अर्थ्याउँदै भनिन्, "अरू काम गरिसकेपछि माटो मुछेर पोखरीको भुइँ टाल्नु पर्छ, लिपपोत पनि गर्नुपर्छ। अरू माटोले हुँदैन, कालै माटो चाहिन्छ।"
उनले भक्तपुरको भाजुपोखरीमा पनि सुरुमा पानी नरोकिएपछि कालो माटोले लिपपोत गरेपछि अडिएको बताइन्।
रानीपोखरीमा पनि भक्तपुर वा पनौतीबाट कालो माटो ल्याउने तयारी रहेको बताइएको छ।
रानीपोखरी पुनर्निर्माण सुरू भएपछि सरोकारवालाहरू यो पटक भने पोखरी र त्यसको बीचमा रहेको मन्दिर बन्नेमा ढुक्क देखिन्छन्।
रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष होमप्रसाद खड्गी भन्छन्, "यो पोखरी पहिले नै पुनर्निर्माण हुनुपर्थ्यो। ढिलै भए पनि सुरु भएको छ। आउँदो तिहारसम्ममा पुनर्निमार्माण होला भन्ने आशा छ।"
मल्लकालीन शैली
उनले पुरातात्त्विक कुरामा धेरै विवाद गर्नुहुन्न भन्ने कुरामा सबै सरोकारवाला सहमत भएपछि यसपटक सहमति भएको बताए।
रानीपोखरी पुनर्निर्माणको अनुगमनका लागि खटिएका पुरातत्त्व विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठ आफूले दैनिक निर्माणस्थलको अनुगमन गरिरहेको बताउँछन्।
उनले भने, "अब पहिले जस्तो विवाद आउने सम्भावना छैन। किनकि हामीले अहिले नियमित अनुगमन गरिरहेका छौँ र यसलाई मल्लकालीन शैलीमै बनाउनेमा सबै सहमत छौँ।"
उनका अनुसार काठमाण्डू महानगरपालिकाले पहिले पोखरी वरिपरी लगाएको पर्खाल भत्काइने छैन।
उनले भने, "ठूलो रकम खर्च भइसकेकाले बनिसकेको पर्खाल भत्काउनु भन्दा त्यसको बाहिरपट्टी माटो लिपेर हुन्छ कि के गरेर हुन्छ परम्परागत देखाउने कोसिस गरिन्छ।"









