नेपाल दशैँ: मुख्य चार्डपर्वमा हुने आर्थिक गतिविधि 'खुम्चँदै', के हुन् कारण

बजार अनुगमन

तस्बिर स्रोत, RSS

पछिल्ला वर्षहरूमा दशैँ-तिहारजस्ता नेपालका मुख्य चाडपर्वका बेला हुने आर्थिक गतिविधिमा केही "शिथिलता उत्पन्न भइरहेको" अर्थशास्त्री तथा व्यवसायीहरूले बताएका छन्।

तीन वर्षयता त्यस्तो अवस्था आउनुमा कोभिड महामारी मुख्य कारण भएको उनीहरूको भनाइ छ।

तर नेपालीको बदलिँदो जीवनशैलीका कारण पनि मुख्य चाडपर्वमा हुने आर्थिक गतिविधिमा कमी आउन थालेको कतिपयको बुझाइ छ।

नेपालीले एक वर्षभरि उपभोगमा गर्ने खर्चको तुलना गर्दा दशैँ-तिहारका बेला नै सबैभन्दा धेरै उपभोग्य खर्च गर्ने गरेको बताइन्छ।

तर पछिल्ला वर्षहरूमा त्यस्तो प्रवृत्तिमा परिवर्तन देखापरिरहेको विभिन्न सङ्केत पाइने व्यवसायी र कतिपय अर्थशास्त्रीले बताएका हुन्।

उनीहरूका भनाइ त्यसका विभिन्न कारणहरू रहेका छन् र तीमध्ये मुख्य तीन कारण यस्ता छन्:

१. नेपालीको परिवर्ति जीवनशैली

दशैँका बेलाको आर्थिक गतिविधि खुम्चिनुमा त्यस्ता कारणमध्ये नेपालीको बदलिँदो जीवनशैली प्रमुख भएको ठान्छन् नेपाल चेम्बर अफ कमर्सको आपूर्ति समितिका सभापति तथा खाद्या तथा किनारा व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ।

उनी भन्छन्, "दशैँमै लुगाफाटो किन्ने दशैँमै मासुभात खाने भन्ने चलन चाहिँ हट्दै गयो। १२ महिना नै मासुभात खाइएको छ, नयाँ लुगा लगाइएको छ त्यसैले त्यस्तो चलन कम भयो भन्नुपर्छ।"

"त्यसले गर्दा पहिलेपहिले जस्तो दशैँमै कारोबार धेरै हुन्छ भन्ने छैन तर पनि दशैँका बेलामा ५-१० प्रतिशत बढी त हुन्छ नै।"

डोटीमा बिक्रीका लागि राखिएका फलफूल र तरकारी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, डोटीमा बिक्रीका लागि राखिएका फलफूल र तरकारी

दशैँ-तिहारमा मिठो खाना खाने र राम्रो नाना लाउने पुरानो चलन हो।

तर अहिले बदलिँदो जीवनशैलीका कारण औसत नेपालीले जुनसुकै बेला खाना र लुगाफाटामा खर्च गर्न थालेको ठान्नेहरू धेरै छन्।

उनीहरूका भनाइमा आवश्यक परेको मात्र होइन आफूलाई रहर लागेको कुरा किन्न वा खानका लागि नेपालीहरूले दशैँ नै कुर्न अब छाडेका छन्।

२. महामारीको असर

दशैँको अर्थतन्त्र सुस्ताउनुको अर्को कारण जीवनशैली परिवर्तनको आम बदलिँदो प्रवृत्ति मात्र नभएको जानकारहरूको भनाइ छ।

त्यसका अतिरिक्त विगत तीन वर्षदेखिको कोभिड महामारीका कारण कैयौँको क्रयशक्ति घट्नु पनि अर्को कारण रहेको उनीहरू बताउँछन्।

महामारीको प्रभाव व्यापारव्यवसायमा परेको बताउँछन् नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष लालबहादुर परियार।

उनले भने, "महामारीका कारण मानिसहरूले किन्नै नसक्ने अवस्था भनेको छ। पैसा कम भएपछि मान्छेले खाना त किन्छन्, तर कपडा किन्न छाड्छन्।"

"तीन वर्षदेखि कपडाको कारोबार खासै भएको छैन र यसपालि पनि खासै भइरहेको छैन।"

३. नेपाल धर्मनिरपेक्ष राज्य हुनु

कतिपयका बुझाइमा नेपाल धर्मनिरपेक्ष राज्य भएपछि पनि दशैँको चहलपलमा कमी देखिन थालेको छ।

त्यसको असर अर्थतन्त्रमा पनि पर्ने गरेको व्यवसायीहरूको तर्क छ।

फाइल तस्बिर
तस्बिरको क्याप्शन, फाइल तस्बिर

यद्यपि नेपाल राष्ट्र ब्याङ्का पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेपाल धर्मनिरपेक्ष राज्य बनेपछि दशैँको रौनकमा कमी आए पनि खर्च गर्ने प्रवृत्तिमै कमी नआएको बताउँछन्।

उनले भने, "धार्मिक तथा सांस्कृतिक हिसाबले दशैँको रौनक कम भएको छ तर खर्च गर्ने प्रवृत्तिमा खासै कमी आएको छैन।"

तर व्यवसायीहरू दशैँ नमनाउनेहरूले दशैँमा खासै किनमेल नगर्ने बरु अन्य आफ्ना समुदाय विशेष चार्डपर्वमा किनमेल गर्ने बताउँछन्।

दशैँमा खर्च

अधिकारी तथा विज्ञहरू नेपालमा दशैँ-तिहारका बेला वर्षभरि हुने कुल उपभोग्य खर्चमध्ये करिब २० प्रतिशत हुने बताउँछन्।

नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टका भनाइमा पनि यो बेला नै नेपालमा सबैभन्दा बढी थोक तथा खुद्रा कारोबार हुने गर्छ।

उनी दशैँ-तिहारको अर्थतन्त्रको गतिविधिले नेपालको कुल गार्हस्थ उत्पादनको करिब करिब ४० प्रतिशत हिस्सा ओगट्ने बताउँछन्।

यद्यपि त्यसको आधिकारिक विवरण भने कसैसँग पनि उपलब्ध छैन।

दशैँका बेलामा नेपालीहरूले विशेषगरी माछामासु, मिठाइ, दुग्ध पदार्थ अनि नयाँ लुगा तथा हालैका वर्षमा घुमफिरमा समेत खर्च गर्ने गरेका छन्।

नेपाली अर्थतन्त्र आयातमुखी बनिरहेको र कृषि उत्पादनमा समेत नेपाल परनिर्भर बन्न थालेको क्षेत्रीको भनाइ छ।

यस्तो अवस्थामा दशैँ-तिहारजस्ता चार्डपर्वमा हुने खर्चले आयातको आकार वृद्धि गरिरहेकाले नेपालले कमसेकम चामल, दाल र खाद्यान्नजस्ता कुराको देशमै उत्पादन बढाउनुपर्नेमा उनको जोड छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, किन तलेजु भवानीको मन्दिर वर्षमा एक पटक मात्र सर्वसाधारणका लागि खुल्छ?