दशैँ: भक्तपुरको तलेजु मन्दिरमा के के गरिन्छ?

- Author, मतिना त्वानावासु
- Role, भक्तपुर
दशैँ सुरु भएपछि भक्तपुरको तलेजुमा व्यस्तता बढ्न थाल्छ।
पूजापाठसँगै त्यहाँ संलग्न व्यक्तिहरूको सक्रियता पनि बढ्छ।
शक्ति पीठको दर्शनपछि भक्तजनहरू तलेजुको अनिवार्य दर्शन गर्नुपर्छ भन्ने मान्यतासहित तलेजुको मन्दिरमा पुग्छन्। यसरी सर्वसाधारणको भिड पनि बढ्छ।
सिमरौनगढबाट करिब ८ सय वर्ष पहिले हरिसिंदेव नामका राजाले तलेजुलाई भक्तपुर पुर्याएको ऐतिहासिक मान्यता छ।
नेपाल मण्डलमा प्रवेश गर्नु पूर्व तलेजुको नाम तुलना भवानी रहेको कथन छ।
मल्लकालमा राजाहरूले इष्टदेवीको रूपमा पुज्ने गरेको तलेजुमा अहिले पनि बर्सैभरि विभिन्न खालका पूजाहरू हुने गर्दछन्। दशैँमा विशेष पूजाआजा हुन्छ।
ती पूजाहरूमा भक्तपुरका हरेक जात र समुदायका मानिसहरूलाई संलग्न हुन पाउने गरी मिलाइएको व्यवस्थाको निरन्तरता अहिले पनि कायमै रहेको संस्कृतिविद् ओम धौभडेल बताउँछन्।
तलेजुमा घटस्थापना
दशैँको पहिलो दिन घटस्थापनाको लागि तलेजुको दशैँ घरमा वाकुली भन्ने स्थानबाट उग्रचण्डा र उग्रचण्डीको सवारी अनिवार्य मानिन्छ।
भण्डारखाल पोखरीमा तिनलाई स्नान गराइ अभिषेक गरिन्छ।

सप्त कलश, शिवशक्ति कलश, कुम्भ र श्रीयन्त्रको स्थापनापछि जमरा राखिने तलेजुका चार पुजारी नाइकेमध्येका एक सिद्धिवीर कर्माचार्यले बताए।
त्यसपछि राजोपाध्याय र कर्माचार्य पुजारी नाइके मिलेर चण्डी पाठ गर्ने उनले बताए।
दशैँ नसकिएसम्म हरेक दिन बिहान चण्डी पाठ र साँझमा आरती हुने जानकारी उनले दिए।
तान्त्रिक र वैदिक पूजापाठ
तलेजुमा वैदिक र तान्त्रिक पूजापाठ हुने गर्दछ।
राजोपाध्याय पुजारीले वैदिक पूजापाठ गर्दछन् भने कर्माचार्यले तान्त्रिक।
नित्य पूजादेखि वर्षभरिको पर्व पूजा‚ रात्रि पूजा‚ विभिन्न अवसरमा स्थापना गरिएका था पूजाका लागि आवश्यक चाँजोपाँजो मिलाउने जिम्मेवारी जोशी पुजारीको हुने पुजारी नाइकेमध्येका एक प्रगेशराज राजोपाध्यायले बताए।
वर्षैभरि पूजापाठ भइरहने भए पनि निश्चित व्यक्ति मात्रले तिनको दर्शन पाउने बताउँदै सर्वसाधारणले तुलजा भवानी वा तलेजुको दर्शन पाउन दशैँनै कुर्नुपर्छ उनी भन्छन्।
रहस्यमय
तलेजुमा हुने पूजा कस्तो हुन्छ वा कति लामो समयसम्म चल्छ भन्ने जानकारी गर्नेलाई बाहेक अरूलाई छैन। पूजा गर्नेले पनि बताउन मिल्दैन भन्छन् राजोपाध्याय पुजारी प्रगेशराज।
आफ्नो बुवा उत्तमाङ्गराज राजोपाध्याय संलग्न हुँदा पूजाबारे कहिल्यै कुनै जानकारी नदिएको भन्दै उनले जति गोप्य भयो त्यति तलेजुको महिमा बढ्ने बताए।
"म आफू स्वयम् संलग्न नभएसम्म त्यहाँ हुने पूजापाठबारे मलाई केही थाहा थिएन। कतिपय थाहा पाइसकेको कुरा मैले भन्न पनि मिल्दैन।"

उनको कुरामा सही थाप्दै कर्माचार्य पुजारी सिद्धिवीर कर्माचार्यले भने, "तलेजु भवानीको दर्शन सर्वसाधारणले दशैँमा मात्र पाउँछन्। पूजापाठ पनि बेलुकीपख वा रातमा हुने हुँदा धेरैले देख्न सकेका हुँदैनन्। त्यसैले तलेजुको स्वरूप र पूजाबारे कौतुहलता कायमै छ।"
सर्वसाधारण मात्र होइन‚ तलेजुको पूजामा संलग्न भनिएका कतिपय व्यक्तिलाई पनि त्यहाँ भित्रको पूजाआजाबारे खासै जानकारी नहुने हुँदा तलेजु र उनको पूजा रहस्य नै रहेको संस्कृतिविद् धौभडेल बताउँछन्।
तलेजु दर्शन
सप्तमी अर्थात् फूलपातीको दिन तलेजु भवानीलाई तलेजुको मूल चोकको दक्षिण मूल देव घरबाट बाजागाजासहित दशैँघरमा विराजमान गराइन्छ।
'पुरानो लुगा (घाजी नङ) लगाएका पुजारीहरू (राजोपाध्याय, कर्माचार्य र जोशी) ले तलेजु भवानीलाई बोकेर कुमारी चोकस्थित दघरमा स्थानान्तरण गर्नु नै 'द्यो क्वँ विज्याइगु' वा तुलजा यात्रा हो', जोशी पुजारी नरेन्द्र जोशीले भने।
उनले थपे, "पञ्चाङ्ग निर्णायक समितिको साइतअनुसार नै तुलजा यात्रा हुन्छ।"

यसरी दशैँघरमा स्थानान्तरण गरिएकी तलेजु देवीलाई दशमीको दिन टीकाको शुभ साइतमा टीका तथा जमरा ग्रहण गराएर पुनः मूल चोकको दक्षिणस्थित मूल देव घरमा विराजमान गराइने उनले बताए।
फूलपातीदेखि दशमीका दिनसम्म सर्वसाधारणले समेत दर्शन गर्न पाउने गरी तलेजुलाई भक्तपुर दरबारको दशैँ घरमा राखिन्छ।
तलेजुमा बलि
अष्टमीको दिन पनि बलिसहितको विशेष पूजा हुन्छ।
अष्टमीको रातलाई कालरात्रि भनिन्छ। कालरात्रिको पूजा झन् विशिष्ट हुने त्यहाँ संलग्न हुने व्यक्तिहरू बताउँछन्।
सो रात निकुथुँ अर्थात् ३२ गुणले युक्त निक्खर कालो राँगोसहित २५ राँगा र ५१ वटा भन्दा बढी बोकाको बलि चढाइने जानकारहरू बताउँछन्।

सो रातको वर्णन शब्दमा गर्न नसकिने उनीहरू बताउँछन्।
कुमारी पूजा
नवमीको दिन तलेजुमा गणकुमारीहरूको पूजा गरिन्छ।
भैरव र गणेश र नौ गणकुमारीसहित ११ कुमारीहरूको एकै पटक पूजा हुन्छ।
भक्तपुरको गणकुमारीमा भैरव र गणेशको सहभागिता हुनेबारे धेरैलाई जानकारी छैन भन्छन् संस्कृतिविद् ओम धौभडेल।
गणकुमारीको विधि विधानअनुसार तलेजुभित्र पूजापछि भक्तपुर नपा ५ चासुखेलस्थित द्योछेंबाट बाजागाजासहित एकान्तकुमारीलाई बोकेर तलेजु ल्याएपछि त्यहाँ उनको पूजा हुन्छ।
राँगो दौडाउने जात्रा
सोही दिन परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् (राँगो) जात्रा गरिन्छ।
नवदुर्गा घरमा राखिएको खःमेय्लाई तान्त्रिक विधिअनुरूप पूजाआजा गरी नवदुर्गा द्योछेंबाट दौडाएर व्रम्हायणी पीठसम्म पुर्याइन्छ र नवदुर्गालाई बलि चढाइन्छ।
महिषासुरको प्रतीक मानिएको खःमेय् व्वाकेगु जात्रा (राँगो दौडाउने) दशैँ वा मोहनी नखःको एक महत्त्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ।

दशैँको अन्तिम दिन 'खड्ग जात्रा'
दशमीको दिन टीकाको शुभ साइतमा टीका तथा जमरा ग्रहण गराएर पुनः मूल चोकको दक्षिणस्थित मूल देव घरमा तलेजु भवानीलाई विराजमान गराइने परम्परा रही आएको पुजारीहरू बताउँछन्।
महानवमीको साँझ नवदुर्गा देव गृहबाट जात्रा गरेर ल्याएको खःमेय्को बलीपछि सिद्धी प्राप्ति गरेका नवदुर्गा गणले टिकाको दिन बेलुका तलेजु मन्दिरको स्वर्ण द्वारमा तलेजु भवानीसँग अङ्कमाल गरी देवत्व प्राप्त गर्ने धार्मिक तथा ऐतिहासिक परम्परा रही आएको पुजारी नाइके सिद्धिवीर कर्माचार्यले बताए।
तलेजुबाट सिद्धि प्राप्त गरेपछि नवदुर्गा गण तलेजु सँगसँगै पायो न्ह्याकेगु अर्थात् खड्ग जात्रामा सरिक हुने उनले बताए।
तलेजु भवानीको प्रतीकको रूपमा खड्गसँगै तलेजुको वाहन सेतो घोडालाई नगर परिक्रमा गराइने उक्त जात्रामा हजारौँ भक्तजनहरूको सहभागिता रहने गर्दछ।
चन्द्र मासको गतिअनुसार हुने उक्त पायो जात्राको क्रममा भक्तपुरको टौमढीस्थित स्वपुंग भैरवनाथ परिसरमा पुगी नवदुर्गा देवगणले उक्त पायोको दर्शन गरेर फर्केपछि पायोःद्यो वा खड्ग तलेजु मन्दिरमा ल्याउने चलन छ।
कर्माचार्य पुजारी भन्छन् 'खड्ग जात्रा असत्यमाथि सत्यको जयको उत्सव हो। यो जात्राको समापनले तलेजुमा दशैँ सकिएको सङ्केत गर्छ।'








