किन यसपालि नेपालमा निर्मित दुर्गा मूर्तिको माग ह्वात्तै घट्यो

- Author, बिमला चौधरी
- Role, नेपालगञ्ज
माटोको मूर्तिमा भविष्य देखेका नेपालगञ्जका मूर्तिकार अंकित मिश्र यस वर्षको दशैँमा दुर्गा मूर्तिको माग आधा घटेपछि निराश छन्।
गत वर्ष ५५ वटा मूर्ति सेट बनाएर पनि माग धान्न नसकेका मूर्तिकार मिश्रले यो वर्ष मुस्किलले ३५ वटा मूर्ति खपत भएको बताए।
नेपाली मूर्तिकार सबै तनावमा भएको उनी बताउँछन्।
उनले भने, 'यो वर्ष मूर्तिको मामलामा बहुतै खराब छ, सबैजना मूर्ति लिन भारत गए, त्यसैले मूर्तिको माग आएन।''
आफ्नो देशका मूर्तिकारले बनाएका मूर्ति नकिनेर भारतीय बजारबाट ल्याउने प्रवृत्तिले निराश बनाएको मिश्रले बताएका छन्।
सस्तो पनि बिकेन
गत वर्ष १५ हजार देखि ७० हजार रुपैयाँमा मूर्ति विक्री गरेको बताउने मिश्रले यसपालि सस्तो मूल्यको मूर्ति बनाए पनि माग नआएको बताए।
सानै उमेरमा भारतको कोलकातामा गएर आफ्ना मामासँग मूर्ति बनाउन सिकेका २६ वर्षीय अंकितले हाल नेपालगञ्ज क्षेत्रमा दुई दर्जनभन्दा बढीलाई सिकाइसकेको बताउँछन्।
यही पेशामा भविष्य देखेर बाह्रै महिना मूर्ति बनाउनमै समय खर्चिँदै आएका उनले भने, - ''यो वर्षको अवस्था हेरेर पेशा सङ्कटमा पर्ने पो हो की? भनेर निराशा छाएको छ।''
अर्डर अनुसार विभिन्न थरीका दुर्गा मूर्ति नेपालमै उपलब्ध हुने भएकाले बाहिरबाट मूर्ति ल्याउनु गलत भएको अंकितको भनाइ छ।
पेशाबाट पलायनको जोखिम
अंकितसँगै मूर्ति बनाउन सिकेका नेपालगञ्जको रानीतलाउ नजिकै घर भएका सन्दीप बंशकारले पनि मूर्तिमै भविष्य देखेर ४ वर्षसम्म यही पेशालाई निरन्तरता दिए।
यो वर्ष मूर्तिको माग नआउँदा उनी पनि निराश छन्।

गत वर्ष एक्लैले निर्माण गरेको १५ वटा मूर्ति सेट विक्री गरेका बंशकारले यो वर्ष ६ वटा मात्र खपत भएको बताए।
गत वर्षभन्दा आधा मात्र विक्री भएपछि आगामी वर्षदेखि नेपालगञ्जमा मूर्ति नबनाउने योजना उनले बनाएका छन्।
उनले भने, ''माटोको काम हो, मेहनत धेरै लाग्छ। अब अटो रिक्सा नै चलाउँछु, मूर्ति बनाउँदिन।''
कोरोनाभाइरस महामारीका कारण गत वर्ष भारतीय नाका बन्द हुँदा नेपाली मूर्तिकारले बनाएका मूर्ति नै धेरै खपत भएको थियो।
बाँकेको जानकी गाउँपालिकास्थित कोठारपुरका मूर्तिकार राजकुमार हरिजनले पनि गत वर्ष ४६ वटा मूर्ति सेट बनाएर विक्री गरेको तर यो वर्ष जम्मा ३० वटा मूर्ति खपत भएको बताए।
भारतबाट मूर्ति आपूर्ति
भारतबाट मूर्ति ल्याउँदा केही सस्तो पर्ने र भन्सारले सहजै ल्याउन दिने भएकाले नेपालमा निर्माण गरिएका मूर्तिको माग घटेको मूर्तिकार हरिजनको भनाइ छ।
नेपाल र भारतमा बनेका मूर्तिको मूल्यमा खासै भिन्नता छैन।
हरिजनले भने, ''उल्टै ट्रयाक्टरको भाडा र लिन जाने मानिसहरूको दिनभरिको हर्जाना जोड्दा बराबर नै हुन जान्छ। सिमानाकामा कुनै रोकटोक छैन, मूर्तिको बहानामा अरू सामान पनि ल्याइहाल्छन्, त्यसैले धेरै आएको हुनसक्छ।''
भारतबाट ल्याइने दुर्गा मूर्तिहरू सहजै भित्रिन दिएकाले आफूहरू मर्कामा परेको मूर्तिकारहरूको गुनासो छ।
तर भन्सारको बाटो भएर आउने सबै मूर्तिहरूको जाँच गरेर नियमानुसार भन्सार शुल्क लिइने गरेको नेपालगञ्ज भन्सारका अधिकृत डिल्लीराज शर्मा बताउँछन्।
भन्सारको बाटो भएर आउने सबै सामान जाँच हुन्छ।

अधिकृत शर्माले भने, ''मूर्ति केबाट बनेको भन्नेमा भन्सार शुल्क भर पर्छ।'' खुला सिमाना भएकाले अन्य बाटो भएर भित्रिने मूर्तिबारे चाहिँ जानकारी नभएको उनले बताए।
नेपालगञ्जको जमुनाहा नाकामा खटिएका सशस्त्र प्रहरीले अन्य धातुबाट बनेका मूर्तिमा भन्सार लाग्ने तर माटोको दुर्गा मूर्तिलाई सहजै भित्रिन दिने गरेको बताए।
मूर्तिसँगै नवरात्रमा चाहिने पूजाको सामग्रीमा पनि छुट दिने गरेको तर त्योबाहेक अन्य सामान भए भन्सारमा बुझाउने गरेको सशस्त्र प्रहरीको भनाइ छ।
तर, मूर्ति बनाउन प्रयोग हुने सामग्रीमा भने भन्सार कार्यालयले महङ्गो कर लिने गरेको मूर्तिकारहरूको गुनासो छ।
मूर्तिको मेहनत
माटो, सुतरीको डोरी, बाँस, पराल लगायत सामग्री प्रयोग गरी मूर्ति बनाइने गरेको उनीहरू बताउँछन्।
नेपालमा मूर्ति सजावटका सामग्री नपाइने भएकाले माटो, बाँस र परालबाहेक सबै सामान भारतबाट ल्याउँदा भन्सार तिरेर ल्याउनु पर्ने बाध्यता रहेको उनीहरू बताउँछन्।
मूर्तिकालागि चिम्टाइलो माटो खोजेर एक ट्रिपको तीन हजार रुपैयाँका दरले किन्ने गरेको बताउने अंकितले भने, ''हामी जसरी मूर्ति सजावटको सामग्रीमा कर तिरेर ल्याउँछौँ त्यसरी नै बाहिरबाट भित्रिने मूर्तिमा पनि कर लगाउनु पर्यो।'' त्यसो भएमा मात्र स्वस्थ्य प्रतिस्पर्धा हुनसक्ने उनले बताए।
सामानको उपलब्धतामा समस्या हुँदाहुँदै पनि सिमानाका बन्द भएपछि मात्रै नेपाली मूर्तिकारहरूले अवसर पाउने गरेको अंकितले बताए।
घटस्थापनाका दिन बाँकेमा मात्र करिब तीन सयसम्म दुर्गा मूर्तिहरू ठाउँ ठाउँमा स्थापना हुने गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
बाँकेको नेपालगञ्ज, कोहलपुर र खजुरालगायतका स्थानमा मूर्ति निर्माण हुँदै आएका छन्।
नेपालगञ्जमा बनेका मूर्तिहरू बाँके मात्र नभएर सुर्खेत, दाङ र काठमाण्डूसम्म पुग्ने गरेको बताइएको छ।
दशैँतिहार सकिनासाथ मूर्तिकारहरू अर्को वर्षकोलागि मूर्ति बनाउने तयारीमा लाग्ने भएकाले आवश्यक मूर्तिको माग नेपाली मूर्तिकारले नै पूरा गर्न सक्ने अंकित बताउँछन्।









