तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डोनल्ड ट्रम्प: क्यापिटल हिलमा भएको हिंसाबारे बयान दिन आउन अमेरिकी पूर्वराष्ट्रपतिलाई संसदीय समितिको आदेश
गत वर्ष अमेरिकी संसद् भवन क्यापिटल हिलमा भएको दङ्गाको अनुसन्धान गरिरहेको एउटा संसदीय समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई सांसदहरूसमक्ष बयान दिनेगरी उपस्थित हुन आदेश दिएको छ।
ट्रम्पलाई सम्बोधन गरेर पठाइएको उक्त आदेशमा भनिएको छ: "कुनै अमेरिकी राष्ट्रपतिले निर्वाचन उल्ट्याउन गरेको पहिलो र एकमात्र प्रयासको केन्द्रमा तपाईँ हुनुहुन्थ्यो।"
"उक्त क्रियाकलाप गैरकानुनी र असंवैधानिक भएको कुरा तपाईँलाई थाहा थियो।"
ट्रम्पका एक वकिलले उक्त समितिका सदस्यहरूलाई "मापदण्डहरू उल्लङ्घन गरेको" आरोप लगाएका छन्।
ट्रम्प उपस्थित भएनन् भने के हुन्छ?
पूर्वराष्ट्रपति ट्रम्पले उक्त छानबिनको आलोचना गर्दै आफूलाई दिइएको आदेशलाई डेमोक्र्याटिक [पार्टीको] शासनको "आपत्" बाट मतदाताको ध्यान अन्यत्र मोड्ने चालको सङ्ज्ञा दिएका छन्। अर्को महिना अमेरिकामा मध्यावधि निर्वाचन हुन लागेको छ।
संसद्मा उपस्थित हुन दिइएको आदेशको पालना नगरे ट्रम्पले फौजदारी अभियोग खेप्नुपर्ने हुनसक्छ।
ट्रम्पलाई ज्यानुअरी ६ कमिटी भनेर चिनिने उक्त समितिमा नोभेम्बर ४ भित्र दस्तावेजहरू बुझाउन र नोभेम्बर १४ को दिन वा त्यसको आसपास बयान दिन उपस्थित हुनैपर्ने भनिएको छ।
यदि ट्रम्पले कङ्ग्रेससामु बयान दिन वा माग गरिएका सामग्रीहरू बुझाउन अस्वीकार गरेमा उक्त समितिले उक्त विषय न्याय मन्त्रालयमा पठाउन सक्छ।
त्यसो भयो भने उनीविरुद्ध फौजदारी कारबाही प्रक्रिया सुरु हुनसक्छ।
कस्तो छ कारबाहीको नजिर?
कङ्ग्रेसको मानहानि गरेको आरोपमा ट्रम्पका एक पूर्वरणनीतिकार स्टीभ ब्याननलाई ६,५०० अमेरिकी डलर जरिबाना र चार महिनाको जेल सजाय सुनाइएको केही घण्टापछि ट्रम्पलाई बयान दिन उपस्थित हुन पत्र जारी गरिएको हो।
ब्याननले कङ्ग्रेसमा बयान दिन वा दस्तावेजजहरू उपलब्ध गराउन नमानेपछि उनलाई कारबाही गरिएको थियो।
ट्रम्पका अर्का सहयोगी पिटर नभारो त्यस्तै प्रक्रियामा सहयोग नगरेका कारण कङ्ग्रेसको मानहानिसम्बन्धी सुनुवाइमा अर्को महिना उपस्थित हुन लागेका छन्।
उक्त संसदीय समितिले ट्रम्पका समर्थकहरूले ज्यानुअरी ६, २०२१ मा अमेरिकी क्यापिटल हिलमा गरेका हिंसक झडपको घटनाको छानबिन गरिरहेको छ।
को छ समितिमा?
उक्त समितिमा सात डेमोक्र्याट र दुई रिपब्लिकन सांसद छन्।
गत साता उनीहरूले एकमतले रिपब्लिकन दलबाट प्रतिनिधित्व गर्दै राष्ट्रपति बनेका ट्रम्पलाई उक्त दङ्गामा आफ्नो भूमिकाबारे बयान दिन बाध्य पारेका थिए।
ट्रम्पले आफ्ना समर्थकहरूलाई सन् २०२० को राष्ट्रपतीय निर्वाचनको परिणाम अस्वीकार गर्न उक्साएको सांसदहरूको दाबी छ।
परिणामस्वरूप ट्रम्प समर्थकहरूले संसद् भवनमा तोडफोड गर्दै र हुलदङ्गा मच्चाउँदै जो बाइडनलाई विजेता घोषित हुनबाट रोक्ने प्रयास गरेको उनीहरूको भनाइ छ।
आदेशसहित पठाइएको एउटा पत्रमा समितिका अध्यक्ष बेनी थोम्सन र उपाध्यक्ष लिज चेनीले समितिले ट्रम्पविरुद्ध "धेरै प्रमाण जुटाएको" उल्लेख गरेका छन्।
नोभेम्बरको निर्वाचनमा तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्समा यदि रिपब्लिकन पार्टीले फेरि नियन्त्रण कायम गरेमा ज्यानुअरी ६ को घटना हेरिरहेको संसदीय समिति भङ्ग हुनेछ।
निर्वाचनमा रिपब्लिकन पार्टी बलियो बनेर आउने व्यापक अनुमान गरिएको छ।