नोबेल शान्ति पुरस्कारः युक्रेन, रुस र बेलारुसका अधिकारवादीलाई दिने घोषणा

यो वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसी मानव अधिकारकर्मी एलीयास बीलियाट्स्की र रुसी मानव अधिकार सङ्गठन मेमोरियल तथा युक्रेनी मानव अधिकार सङ्गठन सेन्टर फर सिभिल लिबर्टीजलाई दिने घोषणा गरिएको छ।

नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उनीहरूलाई संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

आउँदो डिसेम्बर १० तारिखमा उनीहरूले उक्त पुरस्कार प्राप्त गर्नेछन्।

हाल अधिकारवादी बीलियाट्स्की मुद्दा सुनुवाइ गरिनुअघिको थुनामा छन्।

कसको योगदान के?

साठी वर्षीय बीलियाट्स्की बेलारुसको भीआस्ना ह्युमन राइट्स सेन्टरका संस्थापक हुन्।

उक्त संस्था बेलारुसका अधिनायकवादी नेता एलेक्सान्डर लुकाशेन्कोले सडक प्रदर्शनमा गरेको दमनपछि सन् १९९६ मा संस्थापन गरिएको थियो।

"बीलियाट्स्कीले बेलारुसमा लोकतन्त्र र शान्तिपूर्ण विकासको प्रवर्द्धनमा आफ्नो जीवन समर्पण गरेका छन्," नोबेल शान्ति पुरस्कार समितिले भनेको छ।

सेन्टर फर सिभिल लिबर्टीज (सीजीएस) युक्रेनका अग्रणी मानव अधिकार संस्थामध्ये एक हो।

पूर्वसोभियत सङ्घका नौ सदस्य मुलुकले किएभमा रहनेगरी सीमापार मानव अधिकारका विषयलाई सम्बोधन गर्न सन् २००७ मा सीजीएस स्थापना गरेका थिए।

स्थापना भएयता सीजीएसले अधिनस्थ क्राइमियामा राजनीतिक दमनको पर्यवेक्षण, डोन्बासमा मानवताविरोधी अपराध र युद्ध अपराधको दस्तावेजीकरण गरेको छ।

पुरस्कारको घोषणा गर्दै नोबेल शान्ति पुरस्कार कमिटीकी अध्यक्ष बेरिट रेइस एनर्सनले भनिन्, "विजेताहरू मानव अधिकार, लोकतन्त्र र शान्तिपूर्ण सहअस्तित्वका हिमायती हुन्।"

नोबेल पुरस्कार पाउनेमध्ये रुसकै सबैभन्दा पुरानो मेमोरियल नामको मानव अधिकार समूह पनि छ जुन यसै वर्षको प्रारम्भतिर बन्द भएको थियो।

करिब ३० वर्षसम्म मेमोरियलले सोभियत कालका मारिएका जेलमा राखिएका अथवा दमनमा परेका लाखौँ निर्दोष मानिसका विवरण बाहिर ल्याउने काम गरेको थियो।

सन् २०२१ को डिसेम्बरमा रुसको सर्वोच्च अदालतले मेमोरियल र त्यसका शाखाहरूलाई बन्द गर्न आदेश दिएको थियो।

सन् २०१२ मा ल्याइएको विदेशी एजेन्टसम्बन्धी कानुनको उल्लङ्घन गरेको उसमाथि आरोप लगाइएको थियो।