नोबेल पुरस्कार: फ्रान्सकी साहित्यकार एनी एर्नोलाई

Annie Ernaux

तस्बिर स्रोत, Getty Images

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रेन्च साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ।

नोबेल पुरस्कार दिने द स्विडिश एकेडेमीले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेकी छन्।

त्यसैका लागि उनले नोबेल साहित्य पुरस्कार पाएकी जनाएको छ।

उनले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्छिन्। एर्नो लेखक बन्नुअघि एक शिक्षिका थिइन्।

उनका अ म्यान्स प्लेस र अ वुमन्स स्टोरी लगायतका पुस्तकहरू समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन्।

नोबेल पुरस्कार दिने कमिटिका अध्यक्ष प्रोफेशर कार्ल हेनरिक हेल्डिनले एर्नोले नोर्म्यान्डी फ्रान्समा बाल्यकाल बिताएकी र उनको परिवेश त्यस बेला 'गरिब तर महत्त्वाकाङ्क्षी' रहेको बताए।

यो पुरस्कार स्विडिश एकेडेमीले प्रदान गर्ने गर्छ र एक करोड स्विडिश क्रोनर अर्थात् आठ लाख डलर जतिको छ।

गत वर्षको नोबेल शान्ति पुरस्कार तान्जनियाका उपन्यासकार अब्दुल रजाक गुर्नाले पाएका थिए।

सन् १९०१ देखि प्रदान गर्न थालिएको नोबेल पुरस्कार साहित्य, विज्ञान र अर्थशास्त्रमा प्रदान गर्ने गरिन्छ।

विगतमा अर्नेस्ट हेमिङ्गवे, ग्याब्रअल गार्सिया मार्कोस र टोनी मोरिसन जस्ता उपन्याकार तथा लुइ ग्लक, पाब्लो नेरुडा, जोसेफ ब्रोड्स्की र रवीन्द्रनाथ टेगोर तथा ह्यारोल्ड पिन्टर र युगीन ओनील लगायतका नाटककारले प्राप्त गरेका छन्।

रसायनशास्त्रका लागि दिइने यस वर्षको नोबेल पुरस्कार बुधवार क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई क्लिक केमिस्ट्री पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि प्रदान गर्ने घोषणा गरिएको थियो।

यो वर्षको भौतिक शास्त्रतर्फ दिइने नोबेल पुरस्कार क्वान्टम मेकानिक्सबारे अनुसन्धान गर्ने तीनजना वैज्ञानिकलाई दिने मङ्गलवार घोषणा गरिएको थियो।

सोमवार चिकित्साशास्त्रसम्बन्धी नोबेल पुरस्कार मानव विकासक्रमसम्बन्धी काम गरेका वैज्ञानिक स्भान्ट पेयर्बुलाई प्रदान गर्ने घोषणा गरिएको थियो।

अब कुन विधामा बाँकी?

पर्सि शुक्रवार शान्ति तर्फका विजेताका नाम घोषणा गरिनेछ।

आउँदो सोमवार अर्थशास्त्र तर्फका विजेताका नाम घोषणा गरिनेछ।

स्विडिश उद्योगपति तथा रसायनशास्त्री अल्फ्रेड नोबेलले मृत्यु हुनु एक वर्षअगाडि सन् १८९५ मा सो पुरस्कारको स्थापना गर्ने कुरा आफ्नो इच्छापत्रमा लेखेका थिए।