नोबेल पुरस्कारः 'लिङ्ग वा जातमा आधारित कोटा हुने छैन'

योरान हानसन

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, योरान हानसन

विज्ञानतर्फ नोबेल पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका प्रमुखले लिङ्गमा आधारित कोटा नराखिने बताएका छन्।

रोयल स्विडिश अकादमी अफ साइन्सेसका प्रमुख योरान हानसनले "कुनै लिङ्ग अथवा जातिका भएर नभई निकै महत्त्वपूर्ण खोज गरेका कारण कसैले पुरस्कार जितून् भनेर आफूहरूले चाहेको" बताए।

सन् १९०१ मा प्रारम्भ भएयता ५९ जना महिलाले मात्रै नोबेल पुरस्कार पाएका छन्।

यो वर्ष नोबेल पुरस्कार पाउने एक मात्र महिला फिलिपिन्सकी मारिया रेसा हुन्।

'मर्ममा आधारित निर्णय'

पत्रकार रेसालाई रुसी पत्रकार दिमित्री मुरातोभसँगै यस वर्षको नोबेल शान्ति पुरस्कार दिने घोषणा गरिएको छ।

पत्रकारद्वयलाई आआफ्नो देशमा "अभिव्यक्ति स्वतन्त्रताको रक्षाका निम्ति गरेका कामका लागि" पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

"नोबेल पुरस्कार विजेतामध्ये महिलाहरू एकदमै कम हुनु दुःखद हो र यसले समाजमा रहेको अनुचित अवस्थालाई दर्शाउँछ, खासगरी पछिल्ला वर्षमा। हामीले थुप्रै काम गर्न बाँकी छ," हानसनले समाचार संस्था एएफपीसँग भने।

"हामीले लिङ्ग वा जातिमा आधारित कोटा नराख्ने निर्णय गरेका छौँ," उनले थपे।

मारिया रेसा

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, मारिया रेसा

उक्त निर्णय अल्फ्रेड नोबेलको "अन्तिम इच्छाको मर्ममा आधारित" रहेको पनि प्रमुख हानसनले बताए।

स्विडिश उद्योगपति तथा रसायनशास्त्री अल्फ्रेड नोबेलले मृत्यु हुनु एक वर्षअगाडि सन् १८९५ मा सो पुरस्कारको स्थापना गर्ने कुरा आफ्नो इच्छापत्रमा लेखेका थिए।

"अन्त्यमा हामीले उनीहरूलाई पुरस्कृत गर्नेछौँ जो सबैभन्दा बढी योग्य ठहरिनेछन्, जसले सबैभन्दा महत्त्वपूर्ण योगदान पुर्‍याएका हुन्छन्," रोयल स्विडिश अकादमी अफ साइन्सेसका प्रमुख हानसनले भनेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'उठ्नुहोस्, तपाईँले नोबेल पुरस्कार जित्नुभो'