महारानी एलिजाबेथ द्वितीया: महारानीलाई अन्तिम श्रद्धाञ्जली दिन ३० घण्टाको पर्खाइ

क्रिस्टियन जोनसन
तस्बिरको क्याप्शन, बीबीसीका संवाददाता पनि यसरी पालमा बसेर महारानीलाई अन्तिम श्रद्धान्जली दिन गएका थिए

चार दिन महारानीको शवलाई राजकीय सम्मानका साथ राखिएको समयमा लाखौँ मानिसले उनीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्ने ठानिएको छ। बीबीसीका पत्रकार क्रिस्टियन जनसन झरी परेको लन्डनमा नयाँ साथी बनाउँदै पालमा रात कटाउने मध्येका एक थिए।

मङ्गलवार राति १० बजे अकस्मात् ठूलो पानी पर्‍यो। केही घण्टा अघि मात्रै एक अर्कासँग चिनजान गरेका मानिसहरू एकअर्कासँग टाँसिएर बस्न थाले। उनीहरूको छाताले बर्खाबाट हल्का राहत दियो।

म भाग्यमानीमध्ये एक थिए। लन्डनको साउथ ब्याङ्कको चिसो पैदलमार्गमा ठड्याइएको मेरो टेन्टले मलाई झरीबाट केही सुरक्षित गरायो। तर केही मिनेटमात्रै बाहिर हुँदा पनि मेरो पाइन्ट निथ्रुक्कै भिज्यो।

तर त्यस्तो बेहोर्ने म मात्रै थिइन।

बीबीसी ग्राफिक्स

सोमवार लामबद्ध भएका मानिसहरूमा पत्रकार पनि उल्लेख्य थिए। त्यसबेला भेनीसा नाथाकुमारन लाइनको अग्र भागमा गर्व गर्दै उभिएकी थिइन्।

उनले एउटा झोला मात्रै बोकेकी थिइन र उनले वेस्टमिन्स्टर हलमा प्रवेश गर्नका लागि ४८ घण्टा भन्दा बढी समय कुर्नुपर्ने अवस्था थियो।

जब म मङ्गलवार दिउँसोको खाना खाने समयमा उक्त लाइनमा लागेँ मेरो नम्बर १७ थियो। ८५ वर्षका माइकल डारभिल र ५५ वर्षकी उनकी छोरी मेन्डी डेसमन्ड मेरा नयाँ छिमेकी थिए। उनीहरू क्याम्पिङ जाँदा प्रयोग गरिने कुर्सी लिएर आएका थिए।

त्यहाँ उनीहरूलाई व्यस्त राख्ने कुनै पुस्तक, कुनै तासको खेल वा कुनै ट्याब्लेट थिएन। वार्तालाप नै एक मात्र उपाय थियो। नजानिँदो पाराले सबैले त्यसलाई नै पछ्याइरहेका थिए।

कसैले पनि आफ्नो फोनको स्क्रिनलाई एकनासले हेरिरहेका थिएनन् र कुनै एक व्यक्तिले पनि हेडफोन लगाएका थिएनन्। त्यहाँ धेरै विषयमा छलफल भइरहेको थियो।

मङ्गलवार अपराह्न पानी सिमसिम परेको थियो। तर त्यसले ठूलो रूप लिएर जलमग्न अवस्था निम्त्याउँदासम्म हामी ५० जना लामबद्ध थियौँ।

त्यही बेला गेरी किन नाम गरेका व्यक्ति पिज्जाको टुक्रा बाँड्दै हिँडिरहेका थिए। मोरिससकी ज्याकलिन नेमोरिनले बट्टाबाट नजिकै रहेकी महिलालाई केही स्ट्रबेरी दिइन्।

लाइनको अघिल्तिर एउटा स्थानीय परोपकारी संस्थाले चिया र कफी बाँडिरहेको थियो।

याकुब यसुफ नजिकैको लामबेथ ब्रिज नजिकै बस्छन्। उनले लामबद्ध बस्दा आवश्यक हुने सामग्रीहरू घरबाटै लिएर आएका छन्।

उनले भने, "मेलै केही महिलाहरू कुनै पूर्व तयारी बिना आएको देखेँ त्यही भएर उनीहरू बस्न सकून् भनेर मैले पाँचवटा कुर्सी लिएर आएँ। उनीहरू पुरै रात भिज्नेछन् भन्ने मैले सोचेँ त्यही भएर मैले झोला र ब्ल्याङ्केटहरू लिएर आएँ।"

लाइनको केही अघिल्तिर ईश्वर राजालाई रक्षा गर्नुहोस् भन्ने स्वतःस्फूर्त गीत गाउन थालियो र महारानीको सम्झनाका लागि मैनबत्ती बालियो। अरूले डेलिभेरोबाट खानेकुरा मगाए।

ट्रुस नेयमन
तस्बिरको क्याप्शन, ट्रस नेयमन सन् १९५४ अर्थात् महारानीको राज्यारोहण भएको एक वर्षपछि इंग्ल्याण्ड पुगेकी थिइन्

भारी वर्षाका माझ एन्ड्रयू इजरेल्स स्वेन्सनदर् ८५ वर्षकी ट्रस नेम्यानसँग कुराकानी गर्न थाले। पहिलो पटक सो दिनको सुरुमा भेटेका उनीहरू आफूहरू बसेको बेन्चबाट उठेका थिएनन्।

मिनेसोटाबाट शनिवार राति आएका उनी बेन्चमा बस्ने ठाउँ पाउँदा प्रसन्न देखिए।

'म राजसंस्थाको समर्थक हुँ'

मुल थलो नेदरल्याण्डस भएकी ट्रस सन् १९५४ अर्थात् महारानीको राज्यारोहण भएको एक वर्षपछि इंग्ल्याण्ड पुगेकी थिइन्।

श्रद्धाञ्जली दिनेको लाइन

"म यो खेलमा अलि पुरानी नै हुँ किनभने मेरा श्रीमान् र म (विस्टन) चर्चिलको (सन् १९६५मा) निधन हुँदा पनि लामबद्ध भएका थियौँ। हामीले यहाँ पुरै रात उभिएर बिताएका छौँ।"

"जब राजकुमारी डायनाको (सन् १९९७मा ) निधन भयो। म र मेरा छोरा केन्सिङटन प्यालेसमा लामबद्ध भएर शोक पुस्तिकामा हस्ताक्षर गर्‍यौँ। र त्यसपछि जब महारानीकी आमाको (सन् २००२ मा) निधन भयो, म एक्लै लामबद्ध भएँ। म भित्रैबाट राजसंस्थाको समर्थक हुँ।"

बिहानको २ बजे निथुक्रकै भिजेको अवस्थामा आफ्नो टेन्टमा प्रवेश गरे।

म दुई घण्टापछि ब्युँझँदा माइकल र उनकी छोरी म्यान्डी सुत्न नपाएपनि मुस्कुराइरहेका थिए।

"हामी दुई बजेअघिसम्म भिज्यौँ र त्यसयता अझै हामी ओभाइसकेका छैनौँ," माइकलले भने। "कुर्सीको पछाडिको भाग भिज्यो त्यही भएर हामी त्यहाँ बसिरहेका छैनौँ।"

मोनिका फराज
तस्बिरको क्याप्शन, मोनिका फराज लाइनमा छैठौँ स्थानमा थिइन्

सूर्योदय हुनथालेसँगै पानी पर्न रोकियो। मौसमको सुधारले मानिसहरूको शरीर मात्र न्यानो भएन उनीहरूले थप ऊर्जा पनि पाएको अनुभव गरे। मानिसहरू कफी पिउँदै उक्त बिहानीमा केही घण्टा पछाडिको ऐतिहासिक समारोहको प्रतीक्षामा थिए।

फिलिपिन्सकी मोनिका फराज लाइनमा छैठौँ स्थानमा थिइन्। बस्नलाई उनीसँग कुर्सी थिएन। तर ६१ वर्षकी ती महिला बिहान ७ बजेबाट नै यता उति हिँडेर कुराकानी गर्दै थिइन्।

"मलाई निद्रा पुगेको छैन तर पनि म उत्साहित छु। यो सुन्दर अनुभव हो। यो मेरो इङ्ग्ल्याण्ड बसाईको ३६ वर्षे अवधिको महत्त्वपूर्ण क्षण हो।"

दिउसोको खाना खाने बेला भन्दा केही अघि मलाई मेरो टेन्टलाई हटाउन भनियो। हामी पछाडि भीड बढिसकेको थियो। अघिल्लो रात मानिसहरू एक अर्काको पछाडि उभिएका थिए। अहिले नयाँ आएका मानिसहरू ठाउँ पाउन सङ्घर्ष गरिरहेका थिए।

कसैले लाइनलाई धकेल्न खोज्दा मानिसहरू केही क्षणका लागि रिसाए। तर अन्ततः अपराह्न ३ बजे २० जनाको समूहमा मानिसहरूलाई अघि बढ्न दिइयो।

गम्भीर माहौल

मेरा अघिल्ला रातका छिमेकीसँगै ट्रस, एन्ड्रयू, माइकल, म्यान्डी र पलसँगै म बिस्तारै लामबेथ ब्रिजहुँदै वेस्टमिन्स्टरतर्फ अघि बढे।

हामी भिक्टोरिया टावरबाट अघि बढ्दा माहौल गम्भीर थियो। पानी पर्न रोकिएको भएपनि घाम लागिरहेको थियो।

छातामुनिको रातको हाम्रो ठ्ट्टा र मित्रता त्यसबेला थिएन।

जब संसद्को ढोका ५ बजे खुल्यो सबैजना पूर्ण रूपमा निःशब्द भए। म लामबद्ध भएदेखि पहिलो पटक त्यहाँ कुनै पनि आवाज निस्किरहेको थिएन।

वेस्टमिन्स्टर हलमा महारानीको शव पेटिका थिएन। म पछाडिकी महिलाको आँसु खसिरहेको थियो। म अघि एन्ड्रयु र ट्रस अङ्कमाल गर्दै हिँडिरहेका थिए।

मैले माथि सिलिङमा हेरेँ र शव पेटिकामा पुगेपछि श्रद्धाञ्जली दिएँ। र एकै क्षणमा त्यो सकियो। ३० घण्टाको पर्खाइपछि वेस्टमिन्स्टर हलको क्षण ९० सेकेन्डसम्म पनि चलेन।

म साँझको सूर्यको प्रकाशसँगै बाहिर निस्कँदा लाइनमा रहेका मेरा एक जना छिमेकी कुरिरहेका थिए। "म उनको अन्तिम यात्राका लागि थिएँ, "पलले भने, "जुन क्षणमा मैले ती महान महिलाको लागि आफ्नो शिर निहुराएँ, उनका लागि म यस्तो फेरि पनि गर्न सक्छु।"