ली चाङ्शूः वरिष्ठ चिनियाँ नेता राजनीतिक भेटघाटमा व्यस्त, बुधवार राष्ट्रपतिलाई भेट्ने

नेपाल भ्रमणमा रहेका वरिष्ठ चिनियाँ नेता ली चाङ्शू उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार चाङ्शूले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मङ्गलवार अपराह्ण प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटघाट गरेका छन्। 

भेटपछि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "भेटघाटका बेला दुई प्रतिनिधिमण्डलले आपसी स्वार्थका व्यापक विषयहरूमा छलफल गरे जसमा द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, नेपाली विद्यार्थीहरू चीन फर्कने विषय, यात्रुवाहक उडानहरू पुनः सुरु गर्ने कुरा र सीमाविन्दूहरू पुनः खुला गर्ने कुराहरू समेटिएका थिए। "

सोमवार काठमाण्डू आइपुगेका चीनका तेस्रो वरीयतामा रहेका नेता ली चाङ्शूले सोमवारबाटै उच्चस्तरीय भेटवार्ताहरू गर्न सुरु गरेका थिए।

चीनको न्याशनल पीपल्स कङ्ग्रेसको स्थायी समितिका अध्यक्ष ली सभामुख अग्निप्रसाद सापकोटाको निम्तोमा नेपाल आएका हुन्।

सोमवार नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै उनले मङ्गलवार बिहानैदेखि उच्चस्तरीय भेटवार्ता जारी राखेका छन्।

उनको भ्रमण तथा उच्चस्तरीय भेटघाटका कारण काठमण्डू उपत्यकामा सवारी आवागमनमा "अस्तव्यस्त भएको" भन्दै सामाजिक सञ्जालमा कतिपयले गुनासो पनि गरिरहेका छन्।

उपत्यकाभित्र कुन क्षेत्रमा सवारी आवागमनमा कस्तो असर पर्छ भनेर ट्राफिक प्रहरीले सूचना जारी गर्दै जानकारी पनि दिएको छ।

समझदारीपत्र

परराष्ट्र मन्त्रालयले सोमवार जारी गरेको वक्तव्य अनुसार सभामुख अग्निप्रसाद सापकोटा र नेता ली चाङ्शूले अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

सापकोटा र चाङ्शूले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेको एउटा बैठकपछि उक्त हस्ताक्षर भएको हो।

उक्त भेटवार्तामा दुवै नेताहरूले दुईपक्षीय हितबारे कुराकानी गरेको संसद् सचिवालयले जनाएको छ।

संसद्‌ सचिवालयका अनुसार "भेटका क्रममा दुवै पक्ष अन्तरसंसदीय आदानप्रदान र सहयोगलाई थप मजबुत बनाउन सहमत" भएका छन्।

दुवै नेताहरूले आपसमा संसदीय सद्भावना र समझदारीलाई थप प्रवर्द्धन गर्न एकअर्काको संसद्‍मा संसदीय मैत्री समूहको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिएका थिए।

चाङ्शूले नेपाली संसद्लाई संस्थागतस्तरमा आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयको भनाइ छ।

त्यस्तै दुवै नेताहरूले बेल्ट एन्ड रोड परियोजना अन्तर्गत पूर्वाधार निर्माण कार्यान्वयनको महत्त्वबारे पनि विचार आदानप्रदान गरेको पनि बनाइएको छ।

भेटघाट जारी

चारदिने नेपाल भ्रमणमा आएका चिनियाँ नेता चाङ्शूले मङ्गलवार बिहान राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटघाट गरेका छन्।

उक्त भेटघाटमा "आपसी हितका विविध विषयमा छलफल भएको" बताइएको छ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दुई नेताबीच भेटघाट भएको थियो।

त्यस्तै संसद् भवनमै सत्ताधारी गठबन्धनको एक दल नेकपा माओवादी केन्द्रका तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेतासँग पनि चङ्शूले भेटघाट गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको प्रतिनिधिमण्डलसँग चङ्शूको नेतृत्वको चिनियाँ टोलीले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

दुवै दलका नेताहरूले जनाए अनुसार भेटघाटमा दुई देशबीचको पारस्परिक हितबारे छलफल भएको छ।

चङ्शूले मङ्गलवार नै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने जनाइएको छ।

त्यस्तै उनले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ।

"भोली (बुधवार) अपराह्ण चार बजेका लागि उहाँसँग राष्ट्रपतिज्यूको शिष्टाचार भेट हुने कार्यक्रम छ," राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले भने।

चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन पनि गर्नेछ।

चङ्शूको नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य कर्मचारीसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल हाल नेपालमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी बिहीवार स्वदेश फर्कने छन्।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिन्पिङले नेपालको भ्रमण गरेयता काठमाण्डू आउने उनी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन्।

सवारी आवागमनमा सास्ती

चिनियाँ नेताको भ्रमण र भेटघाटका क्रममा काठमाण्डू उपत्यकाभित्र सवारी आवागमनमा सर्वसाधारणले सास्ती बेहोर्नु परेको गुनासो गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै कैयौँले अति विशिष्ट पाहुनाको स्वागतमा सर्वसाधारणलाई दु:ख दिनु उचित नभएको जनाएका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि मङ्गलवार उपत्यकाभित्र सवारी आवागमनमा अवरोध हुनसक्ने जनाएको छ।

उसले जारी गरेको सूचनामा त्यसको कारण "चिनियाँ नेताको भ्रमण" भएकोबारे खुलाइएको छैन।

ट्राफिक प्रहरीले चाहिँ "विशेष कारणवश" त्यस्तो अवस्था उत्पन्न भएको जनाएको छ।

उसले विभिन्न समयमा विभिन्न क्षेत्रमा सवारी आवागमनमा अवरोध हुनसक्ने भन्दै त्यसबेला वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।