युक्रेन युद्ध: ‘रुसको लक्षित आक्रमणका कारण खार्किभ क्षेत्रमा अन्धकार’

    • Author, एल्सा माइशमान
    • Role, बीबीसी न्यूज

रुसले युक्रेनी प्रत्याक्रमणविरुद्ध पूर्वी युक्रेनमा विद्युत् कटौती गरेर "मानिसहरूलाई उज्यालो र न्यानोबाट वञ्चित" गर्ने लक्ष्य राखेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

विद्युत् पूर्ण रूपमा काटिनुले खार्किभ र डोनेट्स्कलगायत पूर्वी क्षेत्रका करिब ९० लाख मानिस प्रभावित भएको बताइएको छ।

युक्रेनको सेनाले पूर्वमा तीव्र गतिमा गरिएको प्रत्याक्रमणका क्रममा आफ्नो फौजले ३,००० वर्गकिलोमिटरभन्दा धेरै गुमेको क्षेत्रफल पुन:प्राप्ति गरेको जनाएपछि ब्ल्याकआउट भएको हो। यद्यपि, बीबीसीले युक्रेनले दाबी गरेको तथ्याङ्कहरूको पुष्टि गर्न सकेको छैन।

खार्किभका मेयर इहोर तेरेखोभका अनुसार रुसले नागरिक पूर्वाधारमा गरेको आक्रमणका कारण सहरको धेरैजसो भागमा बिजुली र पानी छैन।

उनले यसलाई युक्रेनी सेनाको पछिल्लो सफलताविरुद्ध एक दुखद र निन्दनीय प्रयास भएको बताएका छन्।

खार्किभस्थित बीबीसीकी अन्तर्राष्ट्रिय संवाददाता ओर्ला ग्वेरिनले अबेर साँझ त्यहाँ थप दुईवटा क्षेप्यास्त्र हमलाहरू भएको जस्तो आवाज सुनिएको बताइन्।

मेयर तेरेखोभ र त्यस क्षेत्रका गभर्नरले मानिसहरूलाई शान्त रहन आह्वान गर्दै आपत्कालीन सेवाहरूले क्षतिको मर्मत गर्न र आगो नियन्त्रण गर्न काम गरिरहेको जानकारी दिए।

छिमेकी सुमी क्षेत्रका गभर्नरले त्यहाँको एक जिल्लामा मात्रै १३० भन्दा बढी बस्ती विद्युतविहीन रहेको बताए।

निप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रहरूबाट पनि क्षतिको उस्तै विवरणहरू सार्वजनिक गरिएको छ।

विद्युत् कटौतीपछि राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत् रुसले नागरिक पूर्वाधारलाई लक्षित गरेर "आतङ्कवादी कार्य" गरेको आरोप लगाएका छन्।

"चिसो, भोक, अन्धकार र तिर्खा हाम्रो लागि तिमीहरूसँगको 'मित्रता र भ्रातृत्व' जत्ति भयानक र घातक छैन," उनले टेलिग्राममा लेखेका छन्।

यो अवस्था त्यतिखेर आएको छ जतिखेर युक्रेनको प्रत्याक्रमणमा, यदि पुष्टि भएमा, किएभका फौजले गुमेका भूभाग फिर्ता लिएको परिमाण ४८ घण्टाभन्दा केही बढी समयमा तीन गुणाले विस्तार भएको हुनेछ।

बिहीबार राष्ट्रपति जेलेन्स्कीले १,००० वर्गकिलोमिटर भूमि, शनिवार साँझ २,००० वर्गकिलोमिटर र आइतबार ३,००० वर्गकिलोमिटर पुन:प्राप्ति गरेको बताएका थिए।

पत्रकारहरूलाई अग्रमोर्चामा जान रोकिएको छ तर सामाजिक सञ्जालमा देखिएका केही भिडिओहरूका अनुसार यसअघिसम्म रुसी सेनाको कब्जामा रहेका सहर तथा गाउँहरूमा युक्रेनी सेनाको उपस्थिति देखिएको छ।

युक्रेनी सेना शुक्रवार महत्त्वपूर्ण सहर बालाक्लिया प्रवेश गरेको थियो। रुसका अनुसार डोनेट्स्कको मोर्चालाई बलियो बनाउन त्यहाँबाट उसका सैनिकहरू फिर्ता भएका हुन्।

रुसी फौजका लागि सामान आपूर्ति गर्न निकै महत्त्वपूर्ण सहरहरू इज्युम र कुपियान्स्कमा युक्रेनी सेनाले शनिवार कब्जा जमाएका हुन्।

रुसी रक्षा मन्त्रालयले आफ्नो सेना "फेरि सङ्गठित हुन"का लागि दुवै सहरबाट निस्किएको जनाएको छ।

इज्युमका मेयर भलेरी मार्चेन्कोका अनुसार गत मार्चमा रुसले कब्जा गरेयता त्यहाँका बासिन्दाहरू पहिलोपटक करिब १० दिनमा सहरमा फर्कन सक्नेछन्।

बीबीसी विश्व सेवाको न्यूजआवर कार्यक्रममा उनले त्यहाँका दुई तिहाइ मानिसहरू अन्यत्र पलायन भएको बताए। तर व्यापक विनाश र ऊर्जा, पानी वा सञ्चारको अभावको बाबजुद धेरैजसो मानिस आफ्नै ठाउँमा फर्कन चाहेको उनले बताए।

इज्युम सम्भवतः रुसी सेनाको बसोबासका निम्ति सर्वाधिक ठूलो केन्द्र रहेको उनले बताए। किनकि यो डोनबास क्षेत्रको स्लोभियान्स्क र क्रामाटोर्स्कको प्रवेशद्वार हो जहाँ रुस कब्जा गर्न चाहन्छ।

केहीले चाँडै युद्धको अन्त्य हुने कल्पना गरेका छन्। यद्यपि, रुसले अझै पनि युक्रेनको पाँच भागको एक भाग ओगटेको छ।

फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले रुसी प्रत्याक्रमणको सम्भावनाबारे चेतावनी दिएका छन्।

"जवाफी आक्रमणले हाम्रो क्षेत्रलाई स्वतन्त्र बनाउँछ र त्यसपछि यसलाई नियन्त्रणमा लिनु र त्यसको रक्षा गर्न तयार रहनु पर्छ," रेज्निकोभले भने।