१७ वर्षीय किशोर बने एक्लै विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छा पाइलट

तस्बिर स्रोत, Reuters/Stoyan Nenov
सत्र वर्षीय एक किशोर सानो हवाईजहाजमा एक्लै विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छा पाइलट बनेका छन्।
पाँच महिना र ५२ देशको यात्रा अन्त्य गर्दै माक रुथरफोर्डले बुल्गेरियाको सोफियामा अवतरण गरेका हुन्।
ब्रिटिश आमाबुबाबाट जन्मेका तर बेल्जियममा हुर्केका रुथरफोर्डले यात्राको क्रममा सुडानमा बालुवाको आँधीबेहरी बेहोर्नुका साथै एक रात प्रशान्त महासागरस्थित मानवविहीन टापुमा रात बिताएका थिए।
उनकी जेठी दिदी जारा हवाईजहाजमा विश्व परिक्रमा गर्ने सबैभन्दा कम उमेरकी महिला हुन्।
जाराले गत ज्यानुअरीमा आफ्नो यात्रा पूरा गरेकी थिइन् र उनले भाइलाई यात्राको बाटोको बारेमा जानकारी दिएको बताइन्।
रुथरफोर्डले यात्रा सुरु र अन्त्य गरेको सोफियामा उनी उपस्थित थिइन्।
यसअघि सबैभन्दा कम उमेरमा हवाईजहाजमा विश्व परिक्रमा गर्ने ब्रिटिश ट्राभिस लुड्लो थिए जो गत वर्ष यात्रा पूरा गर्दा १८ वर्ष १५० दिनमा थिए।
आफ्नो यात्रा पूरा गरेपछि रुथरफोर्डले अरूलाई जति उमेर भए पनि आफ्नो सपना पूरा गर्न सुझाएका छन्।
"मिहेनत गर्नुहोस् र आफ्नो लक्ष्य प्राप्तिका लागि अगाडि बढ्नुहोस्," उनले भने।

तस्बिर स्रोत, Reuters/Stoyan Nenov
यात्राको क्रममा उनी युरोप, एशिया, अफ्रिका, र अमेरिका महादेश पुगे भने दुई महासागर पार गरे।
उनले मार्च २३ मा यात्रा सुरु गरेका थिए। यात्राको क्रममा उनले दुबईको उच्च गर्मी र भारतको आकस्मिक विमानस्थल बन्दको सामना गर्नुपर्यो।
उनले वर्षा र बादलको बीचबाट जोखिमपूर्ण लामो यात्रा गरेपछि प्रशान्त महासागरको मानवरहित टापुको रनवे छेउको छाप्रोमा रात बिताएको बताए।
उनले सीएनएनसँगको अन्तर्वार्तामा केन्याको राष्ट्रिय निकुञ्ज र न्यूयोर्कमाथि यात्रा गर्दा सुन्दर दृश्यहरू देखिएको बताए।
उनको सबैभन्दा लामो उडान ११ घण्टाको थियो।
भविष्यको योजनाबारे सोध्दा उनले हवाई उडान जारी राख्ने बताए।
"अहिले त मैले विद्यालय शिक्षा पूरा गर्नु छ र यात्राको क्रमको छुटेका कुराहरू पढ्नु छ।"

तस्बिर स्रोत, Reuters/Stoyan Nenov
रुथरफोर्डले यात्राको क्रममा दुई विश्व कीर्तिमान तोडेका छन्। पहिलो उनले एक्लै विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छा पाइलट बनेका छन् र दोस्रो हलुका विमानमा पृथ्वी घुम्ने सबैभन्दा कान्छा व्यक्ति बनेका छन्।
उनले शार्क नामक अल्ट्रालाइट विमानमा यात्रा गरेका थिए जसको उच्चतम गति ३०० किलोमिटर प्रतिघण्टाको थियो।
उनकी दिदी जाराले यात्राको क्रममा भाइसँग निरन्तर सम्पर्कमा रहेर उनलाई हावामा हुँदा सक्दो सहयोग गरेको बताइन्।
"बाबुआमाले उनलाई दिनदिनै फोन गर्थे र म पनि कुराकारीमा बस्थेँ।"
"मैले यसलाई हवाई मार्गको बारेमा, उडानको बारेमा सल्लाह दिएर उपयोगी बन्ने प्रयास गरेँ।"
रुथरफोर्डले आफूले तीन वर्षको उमेरदेखि विमान चालक बन्न चाहेको बताएका थिए। उनले सन् २०२० को सेप्टेम्बरमा उनले १५ वर्षको उमेरमा विमान चालक अनुमति पत्र प्राप्त गरेका थिए।
उनका पिता साम व्यावसायिक पानीजहाज चालक हुन् भने आमा ब्रिटिश निजी विमानचालिका हुन्।
रुथरफोर्डसँग ब्रिटेन र बेल्जियमको नागरिकता छ तर उनले धेरै समय बेल्जियममा नै बिताएका छन्।
उनको वेबसाइटका अनुसार उनकी जिजुआमा उड्न सिक्ने पहिलो दक्षिण अफ्रिकी महिलामध्ये एक थिइन्।



















