युक्रेन स्वतन्त्रता दिवसः युद्ध जारी छ तर रुसलाई बाहिर निकाल्न त्यति सजिलो छैन

तस्बिर स्रोत, Reuters
- Author, जेम्स वाटरहाउस
- Role, बीबीसी युक्रेन संवाददाता
रुसी प्रभावलाई चुनौती दिनुको मूल्य भिक्टर युसेन्कोलाई जति कसलाई थाहा होला र?
सन् २००४ मा मस्को समर्थित उम्मेदवारविरुद्ध प्रचार गरिरहेका युक्रेनका पूर्वराष्ट्रपति यूश्चेन्कोलाई विषालु रसायन दिइएको थियो। त्यसपछि उनले धाँधलीपूर्ण चुनावविरुद्ध सञ्चालित आन्दोलनको नेतृत्व गरे।
अर्को वर्ष उनले राष्ट्रपतिको रुपमा पदभार ग्रहण गरे।
किएभको बाह्य भेगस्थित घरबाट बोल्दै यूश्चेन्कोले "राष्ट्रवादी भावनाको शक्ति" युक्रेनको स्वतन्त्रताको महत्त्वपूर्ण पक्ष भएको बताएका छन्।
"आज म विश्वस्त भएर भन्न सक्छु - चार करोड २० लाख युक्रेनीहरूको एउटै आवाज छ। अनि यसले हामीलाई रुससहित जुनकुनै शत्रुको सामना गर्न पनि आँट दिन्छ।"
यी पूर्वराष्ट्रपतिको अनुहारमा विष आक्रमण गरिँदाको दाग अझै देख्न सकिन्छ।
युक्रेनको स्वतन्त्रता दिवसको दिन भ्लादिमिर पुटिनले त्यहाँ पूर्व, उत्तर र दक्षिणबाट आक्रमण सुरु गरेको ठिक छ महिना पुगेको छ। यस अवधिमा युक्रेनी सेनाका करिब ९,००० सदस्यको ज्यान गएको छ भने झन्डै ५,५०० गैरसैनिक नागरिकले मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले पुष्टि गरेको छ।
यस युद्धको सम्भावनाबारे निकै कम मानिसले आकलन गरेका थिए। यूश्चेन्को भने यसलाई "रुसी अराजकतासँग लड्ने पश्चिमा राष्ट्रहरूको ऐतिहासिक अक्षमता" ठान्छन्। यो अक्षमता नै सन् २००८ मा जोर्जामा भएको द्वन्द्व र त्यसको छ वर्षपछि क्राइमियाको विलयको कारक भएको उनको बुझाइ छ।
यद्यपि रुसको आक्रमणपछि विश्वमा युक्रेनको स्थिति परिवर्तन भएको उनको विचार छ।

तस्बिर स्रोत, Getty Images
"आज ५० भन्दा बढी देशले यस लडाइँमा हामीसँग ऐक्यबद्धता व्यक्त गरेका छन्। उनीहरूले सैन्य, आर्थिक र मानवीयलगायत सबै प्रकारको सहयोग प्रदान गरिरहेका छन्।"
यी भूतपूर्व राजनेता अहिले अधिकांश समय सिकर्मीको काम गरेर बिताउँछन्। उनको घरमा यत्रतत्र मूर्तिहरू छन्। यस युद्धमा युक्रेनले विजय हासिल गर्ने कुरामा आफूलाई पूर्ण विश्वास भएको उनी बताउँछन्।
रुसले युक्रेनलाई आफ्नो नियन्त्रणमा लिन जति प्रयास गर्छ युक्रेनी जनताको राष्ट्रिय पहिचानको भावना त्यति नै प्रबल हुने उनी ठान्छन्।
पोसाक सिलाउने कारखानामा देशको झण्डा
किएभ हुँदै बग्ने नीपर नदीको किनारमा एउटा सानो कारखाना छ। त्यहाँ पहिले नाटालियाले होटलको पोसाक बनाउने व्यवसाय गर्थिन्। तर अहिले उनी युक्रेनी झण्डाहरू बनाउँछिन्।
रुसले आक्रमण सुरु गरेसँगै सैन्य जाँचचौकीहरूबाट झण्डाको माग हुन थाल्यो। अहिले उनले सेनासँगै अन्य व्यवसायीहरूका लागि मासिक २,५०० भन्दा बढी झण्डा उत्पादन गरिरहेकी छन्।
"झण्डामा प्रयोग भएका यी रङ्ग हाम्रा लागि धेरै प्रिय छन्," सिलाइ उपकरण चलिरहेको बेला उनले भनिन्।
"प्रत्येक युक्रेनीले यी रङ्गहरू महसुस गर्छन् र हामी आकाशमा, गहुँमा यी रङ्ग देख्छौँ। यसले हामीलाई आनन्द, खुसी र सकारात्मक भावना प्रदान गर्छ।"
युद्ध सुरु भएको छ महिनामा युक्रेनले अप्ठ्यारो स्थिति पनि सामना गर्नुपरेको छ।

हप्तौँपछि पनि देशको दक्षिणमा रुसले ओगटेको खेअर्सन सहरमा युक्रेनले योजना बनाएअनुसार प्रत्याक्रमण गर्न अझै बाँकी छ।
रुसी सेनाद्वारा नियन्त्रित क्षेत्रमा लामो दूरीका क्षेप्यास्त्र आक्रमणहरू भएका छन्। तर झन्डैझन्डै गतिहीन अग्रमोर्चा भएको यो युद्धमा गोलाबारुदको वर्चस्व छ।
पश्चिमी अस्त्रहरूका कारण युक्रेन हालसम्म अग्रपङ्क्तिमा रहन र रुसी आपूर्ति रोक्न सक्षम भएको छ। तर रुसका सेनालाई पूर्ण रूपमा आफ्नो क्षेत्रबाट बाहिर निकाल्नका निम्ति भने किएभलाई कुनै तरङ्ग पैदा गर्न आवश्यक छ।
त्यसैले यो सैन्य यथास्थिति जारी रहन्छ र यसबीचमा दशौँ हजार परिवारहरूले अकल्पनीय प्रभाव सहनु पर्छ अनि धेरै कुरा गुमाउनु पर्छ।
जेलेन्स्कीको आलोचना
देशको युद्धनायकको रूपमा हेरिएका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमणविरुद्ध प्रतिरक्षाको तयारीका कारण आलोचना सामना गरिरहेका छन्। विशेषतः अमेरिकाको चेतावनीमा काम नगर्ने उनको निर्णयका कारण मानिसमा त्रास पैदा गर्नेछ र युक्रेनको अर्थतन्त्रलाई समेत हानि पुर्याउँछ।
युक्रेनी अवज्ञाको अर्को प्रतीक बनेको छ 'किएभ इन्डिपेनडन्ट'को समाचारकक्ष।
अङ्ग्रेजी भाषाको यो समाचार साइट देशमा आक्रमण हुनुभन्दा केही साताअघि सञ्चालनमा आएको थियो। केही दिनमै अनलाइन माध्यममा यसका पाठकको सङ्ख्या हजारबाट लाखौँ पुग्यो।
प्रधानसम्पादक ओल्गा रुडेन्कोले यो संस्था युक्रेनको आवाज र विश्वले आफ्नो देशलाई हेर्ने माध्यम भएको बताइन्।

"फेब्रुअरीमा घटनाक्रम अनिश्चित रूपमा अघि बढेको थिए। हामीलाई देशको अधिकांश भागमा आक्रमण हुन्छ भन्ने थाहा थिएन। वा हामी मारिन पनि सक्थ्यौँ," उनले भनिन्।
"अझै पनि रहनु र स्वतन्त्रता दिवस मनाउन सक्नुले गहिरो अर्थ राख्छ।"
केही समयअघि भएको सम्झौताअनुरूप युक्रेनले ब्ल्याक सीमार्फत् अन्न निर्यात गर्न अनुमति पाएको छ। युद्ध अवधिभरि यो एक मात्रै कूटनीतिक सफलता हो।
कतिपयले यसलाई अन्तिम शान्ति सन्धिको रूपमा हेरेका छन्।
हालसम्म युक्रेनले आफ्नो पाँच भागको एक भाग क्षेत्रमा नियन्त्रण गुमाइसकेको छ।
आफ्नो स्वाधीनता जोगाउन युक्रेनले अझै केही समय अरू राष्ट्रमा निर्भर हुनुपर्नेछ।








