युक्रेन युद्ध: रुससँगको सम्झौतापछि अन्न बोकेको युक्रेनी जहाज गन्तव्यतर्फ

पानीजहाज

तस्बिर स्रोत, Getty Images

    • Author, ओडेसामा जेम्स वाटरहाउस र लन्डनमा म्याट मर्फी
    • Role, बीबीसी न्यूज

रुससँग ऐतिहासिक सम्झौता भएलगत्तै अन्न बोकेको पहिलो जहाज युक्रेनी बन्दरगाहबाट प्रस्थान गरेको छ। ओडेसाबाट ब्ल्याक सी हुँदै दक्षिणतर्फ जहाज बढेको हो।

टर्की र युक्रेनी अधिकारीहरूले बताएअनुसार स्थानीय समय अनुसार सोमवार बिहान उक्त जहाज युक्रेनको दक्षिणी बन्दरगाह छोडेको थियो।

गत फेब्रुअरीयता रुसले युक्रेनी बन्दरगाहहरूमा नाकाबन्दी कायम गरेको छ। तर दुवै पक्षले सम्झौता गर्दै सामुद्रिक आयात तथा निर्यात जारी राख्ने निर्णय गरेका छन्।

सियरा लियोनमा दर्ता भएको ठूलो पानीजहाज रजोनीले संयुक्त राष्ट्रसङ्घ र टर्कीले वार्तामार्फत् तय गरेको सुरक्षित मार्गको कडा नियम पालना गरेको छ।

उक्त जहाजले २६,००० टन मकै ढुवानी गरिरहेको छ। लेबनन जाने उक्त पानीजहाजको मङ्गलवार इस्तानबुलमा संयुक्त जाँचपड्ताल हुनेछ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले विश्व खाद्य सुरक्षालाई राहत दिन अति आवश्यक अन्नको यस्तै निर्यात आउँदा दिनमा थप हुने आशा व्यक्त गरे।

खाद्य अभावका लागि जिम्मेवार रुसले आफूले नाकाबन्दी नगरेको बताउँदै आएको छ र अहिलेको कदमको स्वागत गर्दै युक्रेनले आउँदा दिनमा शर्तहरूमा कायम रहने आशा व्यक्त गरेको छ।

"हाल युक्रेनले आफ्नो अन्य साझेदारसँग मिलेर विश्व खाद्य सङ्कट रोकथाम गर्न महत्त्वपूर्ण कदम चालेको" युक्रेनी पूर्वाधारमन्त्री एलेक्जेन्डर कुब्राकोभले फेसबुकमा लेखेका छन्।

"बन्दरगाहहरू पुनः सञ्चालन गर्नुले कम्तीमा पनि एक अर्ब अमेरिकी डलर बराबरको राजश्व युक्रेनी अर्थतन्त्रमा योगदान पुर्‍याउँछ र आगामी कृषि क्षेत्रको थप विकासका लागि मार्ग प्रशस्त गरेको छ।"

रजोनीजस्ता जहाज पहिले युद्धपोत हिँड्ने ब्ल्याक सीमा देखिनुले घटनाक्रममा उल्लेख्य विकास भएको सङ्केत गर्छ।

तर सामान बोक्ने यी जहाजहरू सञ्चालन गरिने कार्य दीर्घकालसम्म सञ्चालन हुनुपर्छ। त्यसो भएमा युक्रेनको ध्वस्त भएको अर्थतन्त्र र संसारभरिका लाखौँ मानिसले लाभ उठाउन सक्छन्।

कुब्राकोभले अन्य १६ जहाजहरू ओडेसा जस्तै युक्रेनको दक्षिणी बन्दरगाहरूबाट बाहिरिन तयार रहेको बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'आफ्नै घरमा बम हानिएको देख्न म तयार थिइनँ': बीबीसी पत्रकारको किएभको यात्रा

ओडेसासँगै चोर्नोमोर्स्क र पिभडेन्नी निर्यातका लागि खुला रहने प्रमुख बन्दरगाह बन्ने अनुमान गरिएको छ।

पछिल्लो महिना तय गरिएको सम्झौता, जसलाई संयुक्त राष्ट्रसङ्घ र टर्कीले मध्यस्थता गरेको थियो त्यसको टुङ्गोमा पुग्न दुई महिना लाग्यो र १२० दिनका लागि लागू हुने री सम्झौता गरियो।

युक्रेन र रुस सहमत भएको खण्डमा सम्झौता नवीकरण गर्न सकिने जनाइएको छ।

युक्रेनी अन्नमाथि लगाइएको नाकाबन्दीका कारण विश्वव्यापी खाद्य सङ्कट निम्त्याएको छ। फलस्वरूप पास्ता, पाउरोटीजस्ता गहुँजन्य उत्पादनहरूको मूल्यवृद्धि भएको छ। साथै खाने तेल र कृषि मलहरूको पनि मूल्य बढेको छ।

रुस र युक्रेनले संयुक्त रूपमा विश्वको एक तिहाइ गहुँ उत्पादन गर्छ। संयुक्त राष्ट्रसङ्घको एउटा तथ्याङ्कअनुसार सन् २०१९ मा युक्रेनले विश्वको १६ प्रतिशत मकै र ४२ प्रतिशत सूर्यमुखी तेल उत्पादन गरेको थियो।