तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ईस्पोर्ट्स ‘भविष्यमा कमनवेल्थ खेलकुद बन्छ’
आँसु भरिएको आँखा लिएर मोहम्मद मो नोह भुइँमा सुते र स्टेजलाई चुम्बन गरे। उनी हाइकाल उपनामले चिनिन्छन्।
ईस्पोर्ट्समा मलेशियाका लागि स्वर्ण पदक जित्नु उनको खेलजीवनकै सबैभन्दा ठूलो क्षण थियो।
"यो मेरो देशको लागि, यो मेरो सपना हो। पाँच वर्षदेखि म यो कुरिरहेको थिएँ," बर्मिङ्गमस्थित खेलस्थलबाहिर आफ्नो पदक समातिरहेका उनले भने।
त्यो पदक आधिकारिक कमनवेल्थ खेलकुद प्रतियोगिताको नभएको कुरा उनलाई मतलब थिएन। न त त्यहाँ परीक्षण प्रतियोगिताका लागि भेला भएका अन्य खेलाडीलाई नै यो कुराको मतलब थियो।
बर्मिङ्गममा जुलाई २८ देखि अगस्ट ८ सम्म कमनवेल्थ गेम्स भइरहँदा पौडी र दौडजस्ता अन्य खेलकुदका बीचमा ईस्पोर्ट्स कस्तो हुन्छ भनेर परीक्षणका लागि कमनवेल्थ ईस्पोर्ट्स च्याम्पियनशिप आयोजना गरिएको थियो।
त्यसमा २० देशमा १०० खेलाडीले तीन खेलमा पदकका लागि प्रतिस्पर्धा गरे। प्रतिस्पर्धामा राखिएका रकेट लीग, डोटा२ र ईफुटबल भिडिओ खेलका विश्वभरि लाखौँ खेलाडी छन्।
फाइनल खेलहरू अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सुसज्जित स्टेजमा भएको थियो र अन्य धेरै पुरस्कार राशि र दर्शक हुने ठूला ईस्पोर्ट्स प्रतियोगिताजस्तै थियो।
तर ईस्पोर्ट्स नहेरेका अन्य खेलकुदमा दर्शकहरूका लागि यो नवीन अनुभव हुने थियो।
अन्य मैदानमा दुई क्रिस्टियानो रोनाल्डो एकैपटक मैदानमा हुनु असम्भव हुन्छ। तर हाइकालले स्वर्ण जितेको ईफुटबलको फाइनलमा ठ्याक्कै त्यही भयो।
मलेशियाले रोटा२ खेलको पुरुष र महिला स्पर्धामा पनि स्वर्ण जित्यो।
"म धेरै नै खुसी छु। यो धेरै ठूलो हुने दिशामा बढिरहेको छ र सम्मान पनि पाइरहेको छ," कांस्य पदक विजेता सिङ्गापुर टोलीकी अमान्डा बिङ्स लिङले भनिन्।
"यसले ठूलो ख्याति कमाइरहेको छ र मानिसहरू ईस्पोर्ट्सलाई पनि साँच्चैको खेलकुदजस्तो मान्न थालेका छन्।"
एउटा अध्ययनले संसारका ४३ करोड मानिसले प्रत्येक वर्ष ईस्पोर्ट्स हेर्छन्। न्यूजूले गरेको अध्ययनमा प्रत्येक वर्ष यसका दर्शक १० प्रतिशतले बढ्ने देखाइएको छ।
कमनवेल्थ च्याम्पियनशिपको बेला ईस्पोर्ट्सको अनलाइन र उपस्थित दर्शकको सङ्ख्या विशाल थिएन तर यो नयाँ प्रयोग थियो।
कमनवेल्थ गेम्सका अध्यक्ष जे नतिजा आयो त्यसबाट खुसी छन् र ईस्पोर्ट्सलाई आधिकारिक खेल बनाएर समावेश गर्दा युवा वर्गलाई आकर्षित गर्ने बताउँछन्।
"अधिकांश मानिसहरू ३० वर्षभन्दा कम उमेरका थिए र त्यो उमेर समूहका धेरै मानिसहरू मैदानमा खेलिने खेल खेल्दैनन्। तर उनीहरू उपकरणमा खेलिरहेका छन्," डेम लुइस मार्टिन भन्छन्।
"भविष्यमा यो कमनवेल्थ गेम्समा पक्का पनि समावेश हुन्छ भन्ने कुरामा म विश्वस्त छु। यो मेरो व्यक्तिगत विचार हो।"
मार्टिनले अर्को वर्ष नै पनि समावेश गर्न सकिने बताए।
कमनवेल्थ युथ गेम्स अर्को वर्ष ट्रिनिडाड एन्ड टोबागोमा हुँदै छ र आयोजकहरूले ईस्पोर्ट्स राख्न प्रस्ताव गरेका छन्।
तर यो विवादास्पद विचार हो।
कमनवेल्थ गेम्सका बेला मैदानबाहिर ठूला स्क्रीनहरूमा खेल हेरिरहेका दर्शकहरू ईस्पोर्ट्सका बारेमा विभाजित थिए।
बीबीसीले विभिन्न उमेर समूहमा १२ जनालाई ईस्पोर्ट्सलाई समेट्नेबारे प्रश्न सोधेको थियो। सबै बालबालिकाहरू यसप्रति उत्साहित थिए।
"धेरैले ईस्पोर्ट्स खेल्छन्। बाहिर खेल्ने खेल जतिले खेल्छन्, त्यतिले नै खेल्छन्," एक किशोरले भने।
तर किशोरकी आमालाई भने चित्त बुझेन। "मलाई थाहा छैन। यो सीप होला, होइन त? तर मेरो लागि यो खेलकुद होइन, उस्तै होइन।"
केही ईस्पोर्ट्स प्रतिस्पर्धीहरूलाई नै पनि कमनवेल्थ गेम्समा जानु र खेलाडी सम्बोधन गरिनु अनौठो थियो।
अलिया नामले चिनिने एलेक्जान्द्रा वेन्डी हार्भेले भनिन्: "म आफूलाई खेलाडी ठान्छु तर व्यावसायिक खेलाडी जस्तो भने होइन। म सायद ई-खेलाडी पो हो कि?"
अलियाले ईफुटबलमा इङ्ग्ल्यान्डका लागि कांस्य पदक जितिन् तर यो उनले अन्य बेला खेल्ने गरेको सबैभन्दा चर्चित फिफा फुटबल थिएन।
यो समस्या धेरै खेलाडीले भोग्नुपर्यो। उनीहरूले नयाँ खेलमा अभ्यस्त हुन महिनौँसम्म प्रशिक्षण गर्नुपर्यो।
ईस्पोर्ट्स राख्नु चुनौतीपूर्ण
कमनवेल्थ गेम्समा राखिने भए पनि आयोजकलाई पर्ने समस्या यो हो: कुन खेल रोज्ने र कसरी यस्ता खेल निर्माताहरूको अधिकारको जटिल जालोलाई सुल्झाउने।
अर्को कुरा महिला र पुरुष विधा छुट्ट्याउने कि नछुट्ट्याउने भन्ने हो किनभने ईस्पोर्ट्समा फरक लिङ्ग हुनुले फाइदा वा बेफाइदा हुँदैन। बर्मिङ्गममा भने परीक्षण भएकोले दुवै विधा राखिएको थियो।
तर कमनवेल्थ गेम्सका आयोजकहरूले ईस्पोर्ट्सलाई पदक तालिकाको खेलमा राख्छन् कि राख्दैनन् भन्ने कुर्नु चाहिँ रमाइलो हुने देखिएको छ।