तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीन-ताइवान तनाव: पलोसी फर्किएसँगै चीनले गर्यो सैन्य अभ्यासको घोषणा
- Author, म्याट मर्फी
- Role, बीबीसी न्यूज
छोटो तर विवादास्पद भ्रमणपश्चात अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवानबाट फर्किएकी छन्।
२५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पलोसीले राजधानी ताइपेईमा नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।
बृहत् एसियाली भ्रमणको अंश ठानिएको यस भ्रमणलाई लिएर बेइजिङ भने क्रुद्ध छ। किनकि उसले यस टापु राष्ट्रमा भ्रमणविरुद्ध दिएको चेतावनीको पलोसीले बेवास्ता गरिन्।
ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ र बिस्तारै यो आफूमा गाभिने विश्वास गर्छ।
बुधवार जारी विज्ञप्तिमा चीनका विदेशमन्त्री वाङ यीले भनेका छन्, "आगोसँग खेल्नेहरूको अन्त्य सुखद हुने छैन र चीनको अपमान गर्नेहरूले सजाय भोग्ने छन्।"
"संयुक्त राज्य अमेरिकाले तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लङ्घन गरिरहेको छ," थप भनिएको छ।
अमेरिकाले आफ्नो ताइवान नीतिबारे कूटनीतिक कदम चालेको छ।
एकातिर यस देशले "एक चीन" नीतिको समर्थन गर्छ जसले चिनियाँ सरकारलाई मान्यता दिन्छ र यसले ताइवानसँग नभई बेइजिङसँगको सम्बन्धलाई औपचारिक बनाउँछ।
यद्यपि, अमेरिकाले ताइवानसँग "बलियो अनौपचारिक" सम्बन्ध कायम गर्छ जसअन्तर्गत ताइवानलाई प्रतिरक्षाका खातिर हतियार बेच्न सक्छ।
अमेरिकी संसद्को सभामुख रहेकी पलोसी अमेरिकी राष्ट्रपति जो बाइडन र उप-राष्ट्रपति कमला ह्यारिसपछि तेस्रो बरीयताकी व्यक्ति हुन्।
उनको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ।
बिहीवारदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुनेछन्। त्यसमा "लामो दूरीको प्रत्यक्ष गोलाबारी" समेत हुनेछ।
एक अमेरिकी अधिकारीले बुधवार रोएटर्स समाचार संस्थालाई बेइजिङले यस भ्रमणलाई तनाव बढाउनका निम्ति प्रयोग गर्न सक्ने बताएका छन्।
चीनको रक्षा मन्त्रालयका एक प्रवक्ताले अभ्यासका क्रममा ताइवानको जलक्षेत्रमा प्रवेश गर्न सकिने बताएका छन्।
त्यहाँकी राष्ट्रपति साइ यिङ वूनले ताइवानले "जानाजान बढाइएका सैन्य खतराहरूको सामना गरिरहेको" बताएकी छन्।
र, ताइवान "पछि नहट्ने र आफ्नो आत्मरक्षा क्षमताहरू बलियो बनाउन जे पनि गर्ने" जनाएकी छन्।
ताइवानका बन्दरगाह अधिकारीहरूले जहाजहरूलाई अभ्यासबाट बच्न वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेका छन् र यातायात मन्त्रीले ताइपेईले छिमेकी राष्ट्रहरू जापान र फिलिपिन्ससँग वैकल्पिक उड्डयन मार्गहरू खोज्न वार्ता गरिरहेको बताएका छन्।
बढ्दो तनावबीच चीनले ताइवान र मुख्य चिनियाँ भूभागको अनौपचारिक विभाजन रेखामाथि युद्धविमानहरू उडाएको थियो।
भेटवार्ताको क्रममा त्यहाँकी राष्ट्रपति वूनले पलोसीले ताइवानलाई "स्वतन्त्रता चाहने मानिसहरूको प्रेरणा"को रूपमा तारिफ गरिन्।
उनले अमेरिकाको "ताइवानमा लोकतन्त्र जोगाउने निर्णय दृढ" रहेको विषयमा जोड दिइन्।
"चालीस वर्ष पहिले अमेरिकाले सधैँ ताइवानको साथ दिने प्रतिबद्धता जनाएको थियो...आज हाम्रो प्रतिनिधिमण्डल हामी त्यो प्रतिबद्धता त्याग्ने छैनौँ भन्ने कुरा स्पष्ट पार्न आएका हौँ," पलोसीले थपिन्।
८२ वर्षीया पलोसीले यसअघि ताइवानको संसद्का उपसभामुख साइ ची चाङसँग भेट गरेकी थिइन्।
यो वरिष्ठ कूटनीतिक भ्रमणलाई ताइवानले सकारात्मक रूपमा लिएको छ तर अमेरिकामा यसबारे रायहरू विभाजित छन्। ह्वाइट हाउसले उनको यात्राको विरोध गरेको छ।
केही विश्लेषकहरूले यस भ्रमणले युक्रेनविरुद्ध आक्रमणका लागि रुसलाई हतियार आपूर्ति गर्न चीनलाई प्रेरित गर्न सक्ने अनुमान गरेका छन्।