जनार्दन शर्मा बजेट विवाद: अर्थमन्त्रीको फिर्तीबारे सञ्चारमाध्यममा बबन्डर, तारोमा प्रचण्ड र देउवा पनि

बजेट निर्माणको अघिल्लो रात अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश र करका दरमा गरिएको हेरफेर भन्ने बारे छानबिन गर्न गठित संसदीय समितिले आफ्नो प्रतिवेदन दिए लगत्तै सत्तारूढ दलका मुख्य नेताहरूले उक्त प्रकरणमा मुछिएका जनार्दन शर्मालाई अर्थमन्त्रीमा पुन:नियुक्त गरेपछि त्यसको व्यापक टीकाटिप्पणी भइरहेका छन्।

आइतवार अपरान्ह शपथ ग्रहणपश्चात् शर्माले मन्त्रीको जिम्मा सम्हालेका छन्।

तर अधिकांश सञ्चारमाध्यमहरूले उनको पुन:नियुक्तिलाई राजनीतिमा गिर्दै गइरहेको नैतिकताको कसीमा राखेर दाँजेका छन्।

आलोचनाको बाढी

सोमवार प्रकाशित अधिकांश पत्रपत्रिकाले शर्माको फिर्तीबारे समाचारका साथसाथै सम्पादकीय समेत छापेका छन्।

बजेट १४ गते मध्यरातमा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिहरूको प्रवेशबारे सुरुमा समाचार छापेको अन्नपूर्ण पोस्ट दैनिकले सोमवार 'अपूरो छानबिनका भरमा फर्काइए शर्मा' भन्ने शीर्षकमा मुखपृष्ठमा समाचार छापेको छ।

उसले नपाइएको सीसीटीभीमा नदेखिएको दृश्यलाई मुख्य आधार बनाउँदै संसदीय समितिको बहुमतले शर्मालाई चोख्याइएको उल्लेख गर्दै छानबिन अपूरो रहेको जनाएको छ।

छानबिन समितिले मूल विषयवस्तु बेवास्ता गरेको भन्दै उक्त समाचारले आरोपित अनधिकृत व्यक्तिसँग बयान नलिइनु अनि सीसीटीभीको टुक्रा टुक्रामा आएको फुटेजमै भर परेको उल्लेख गरेको छ।

कान्तिपुर दैनिकले यो मामिलामा 'अधुरा काम फत्ते गर्न फर्काइए शर्मा' शीर्षकमा ब्यानर समाचार प्रकाशन गर्दै सुनियोजित सफाइ दिइएको र त्यसले सङ्कटोन्मुख अर्थतन्त्र थप जोखिममा परेको उल्लेख गरेको छ।

शर्माको पुनरागमनसँगै अर्थमन्त्रालयमार्फत् थप अनियमितताका शृङ्खला देखापर्ने भन्दै उसले केही उदाहरणसमेत प्रस्तुत गरेको छ।

उसले पनि आरोपित अनधिकृत व्यक्तिसँग बयान नलिइनुले समितिकै नियत प्रस्ट भएको जनाएको छ।

नयाँ पत्रिका दैनिकले 'अर्थ मन्त्रालयमा शर्माको कमब्याक' शीर्षकमा समाचार छापेको छ।

आरोप पुष्टि नभएपछि शर्मा दोस्रोपटक अर्थमन्त्री भएको भन्दै उसले प्रधानमन्त्री शेरबहादुर देउवाले यो एक वर्षमा ११औँपटक मन्त्रिपरिषद् हेरफेर गरेको उल्लेख गरेको छ।

नागरिक दैनिकले 'नैतिकता हराएको राजनीति' शीर्षकमा समाचार लेख्दै शर्मालाई सघन आरोप लागे पनि छानबिन समिति बनाएर चोख्याउँदै पुन: अर्थमन्त्री बनाइएको जनाएको छ।

तारोमा प्रचण्ड र देउवा पनि

शर्माको पुन:नियुक्तिको समाचारसँगै कतिपय सञ्चार माध्यमहरूले प्रधानमन्त्री शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि आफ्ना आलोचनाका निसाना बनाएका छन्।

विवादमुक्त हुन नसकेको छानबिन समितिको प्रतिवेदनपश्चात् फेरि उनै व्यक्तिलाई पदमा दोहोर्‍याउन शीर्ष नेताको उत्सुकताप्रति उनीहरूले प्रश्न उठाएका छन्।

कान्तिपुर दैनिकले 'देउवा-दाहालको निर्लज्ज शासन' शीर्षकमा लेखेको सम्पादकीयमा ती दुई नेताले 'यो देश विधि-पद्धति, नैतिक राजनीतिका मूल्य मान्यता र लोकमतका आधारमा नभइ पूरापूर आफूहरूको हुकुम प्रमाङ्गीमा चल्छ भन्ने सन्देश दिएका छन्' भनेर लेखेको छ।

'यो हाम्रो लोकतन्त्रमा शीर्ष नेतृत्वको साख तीव्र गतिमा क्षयीकरण हुँदै गएको अर्को दृष्टान्त हो। यसले आउँदो चुनावमा उच्च नेतृत्व पङ्क्तिलाई हराउनुपर्छ भन्ने आवाज किन बढिरहेको छ भन्ने छनक पनि दिन्छ,' उसले लेखेको छ।

नागरिक दैनिकले लेखेको सम्पादकीयको शीर्षक 'विकृतिका संवाहक' राखेको छ।

त्यसमा उसले संसदीय छानबिन नामक नाटक मञ्चन गरुञ्जेल शर्मालाई राजीनामा गराएर पुन: त्यही पदमा फर्काउन प्रपञ्च गरिएको भन्ने खुलेको जनाएको छ।

उसले थप लेखेको छ, - 'विवादकाबीच बाहिरिएका व्यक्ति पुन: मन्त्रालयमा फर्केपछि आगामी दिनमा हुने गतिविधिप्रति प्रधानमन्त्री देउवाको ध्यान जाने कल्पना पनि गर्न सकिँदैन। यसले देउवा लगायत गठबन्धनका शीर्ष नेतालाई राजनीतिक विकृतिको वाहकका रूपमा पुन: स्थापित गर्ने निश्चित छ।'

प्रहरीले सीसीटीभी फुटेज बिगारेर दिएको एमालेको आरोप

बजेट प्रकरण सार्वजनिक भएदेखि नै अर्थमन्त्रीको विरोधमा उत्रिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेकै मागमा संसदीय छानबिन समिति बनेको थियो।

१७ दिनको छानबिनको म्याद सकिएपछि उसले फरक मत त लेख्यो तर समितिको प्रतिवेदनले अर्थमन्त्रीलाई चोख्याएको भन्ने सन्देश प्रवाह भयो।

नभन्दै सत्तारूढ नेताहरूले शर्मालाई फेरि अर्थमन्त्री बनाइदिए।

"छानबिनका बेला सीसीटीभी फुटेज उपलब्ध हुनेछ भन्ने एमालेको झीनो आशा थियो। तर नेपाल प्रहरीको उच्च नेतृत्वले पूर्ण असहयोग गरेर फोरेन्सिक प्रयोगशालाबाट गलत रिपोर्ट दिने काम भयो," छानबिन प्रकरणबारे सोमवार बिहान एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बीबीसीलाई भने।

"सुरुमा कसैले हेरेरै नभ्याइने गरी दुई महिनाको सीसीटीभी फुटेज दिइयो। पछि त्यो दिनको माग्दा खेरी प्रहरीको फोरेन्सिक ल्याबले दृश्यनै नचिनिने गरि बिगारेर दियो," उनले आरोप लगाए।

फोन कललगायतका अनुसन्धानका अन्य सबै ढोका बन्द गरिएको भन्दै उनले शर्माको पुन:नियुक्तिमा बालुवाटार (प्रधानमन्त्री निवास) र खुमल्टार (प्रचण्डको निवास)को मिलेमतो भएको आरोप लगाए।

"सेटिङमै सबै कुरा भएकाले अब त्यसअन्तर्गतका यावत् अनियमितताको निरन्तरता हुने जोखिम छ। जसले राष्ट्रिय अर्थतन्त्र ध्वस्त हुनसक्छ।"