तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इलोन मस्कः गुगल कम्पनीका सहसंस्थापककी पत्नीसँग 'सम्बन्ध रहेको' अस्वीकार
टेस्ला कम्पनीका मालिक इलोन मस्कले गुगल कम्पनीका सहसंस्थापक सर्गेइ ब्रिनकी पत्नीसँग आफ्नो सम्बन्ध रहेको भन्ने दाबीको खण्डन गरेका छन्।
मस्क र ब्रिनबीचको मित्रता मस्क र निकोल शानहनबीच रहेको कथित सम्बन्धका कारण भङ्ग भएको विवरण वाल स्ट्रीट जर्नलले प्रकाशित गरेपछि मस्कले त्यसबारे टिप्पणी गरेका हुन्।
वाल स्ट्रीट जर्नलले आफ्नो समाचार सामग्रीको लिङ्क ट्विटरमा हालेपछि त्यसमा प्रतिक्रिया दिँदै मस्कले उक्त रिपोर्टलाई "पूर्णतः वाहियात" को सङ्ज्ञा दिएका छन्।
ब्रिनसँग मित्रता कायम रहेको दाबी गर्दै उनले "हिजो राति एउटा पार्टीमा" आफूहरूसँगै भएको लेखेका छन्।
उक्त विषयमा जानकारी भएका व्यक्तिहरूलाई उद्धृत गर्दै वाल स्ट्रीट जर्नलले मस्कको शानहनसँग गत वर्षको अन्त्यतिर छोटो सम्बन्ध रहेको जनाएको छ।
उक्त रिपोर्टका अनुसार त्यसैकारण ब्रिनले यो वर्षको सुरुतिर ब्रिनसँग सम्बन्धविच्छेद गर्न आवेदन दिए भने प्रविधिजगत्का दुई ठूला हस्तिबीचको लामो मित्रता पनि भङ्ग भयो।
तर मस्कले ट्विटरमा लेखेका छन्ः "मैले तीन वर्षमा निकोललाई जम्मा दुई पटक भेटेको छु, दुवै पटक धेरै मानिसहरू वरपरि भएको ठाउँमा।"
उनका अनुसार ती भेटहरू प्रेमपूर्ण थिएनन्।
डिसेम्बरमा भएको भनिएको सम्बन्धका बेला ब्रिन र उनकी पत्नी छुट्टिसकेका भए पनि सँगसँगै बस्ने गरेको वाल स्ट्रीट जर्नलले शानहनसँग निकटवर्ती एक व्यक्तिलाई उद्धृत गर्दै जनाएको छ।
अर्को ट्वीटमा मस्कले वालस्ट्रीट जर्नलले आफ्नो र टेस्लाका बारेमा धेरै वटा अनर्गल सामग्री प्रकाशित गरेको आरोप लगाएका छन्।
इलोन मस्कको हुन्?
फोर्ब्स म्यागजीनका अनुसार मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति हुन्। उनको स्वामित्वमा रकेट कम्पनी स्पेसएक्स पनि छ।
चवालीस अर्ब डलरमा ट्विटर कम्पनी किन्ने योजना परित्याग गरेपछि अहिले उनी एउटा कानुनी झमेलामा परेका छन्।
उक्त कम्पनीले मस्कविरूद्ध यही महिना मुद्दा हालेको छ।
दक्षिण अमेरिकामा जन्मिएका यी ५० वर्षे उद्यमीसँग झन्डै २४० अर्ब डलरजतिको सम्पत्ति भएको आकलन ब्लूमबर्ग बिलीअर्स इन्डेक्सले गरेको छ।
सोही इन्डेक्सका अनुसार ब्रिनसँग झन्डै ९५ अर्ब डलरको सम्पत्ति छ।
उनी संसारका आठौँ धनी व्यक्ति हुन्।
मस्क दक्षिण अफ्रिकाबाट क्यानडा हुँदै अमेरिका पुगेका हुन्।
अमेरिकामा उनले अर्थशास्त्र र भौतिकविज्ञान पढे।
कसरी बने धनी?
सन् १९९० को दशकमा "डट कम" को व्यवसाय चम्किएको बेला उनले प्रविधिको क्षेत्रमा काम गर्ने दुईवटा कम्पनी स्थापना गरे।
तीमध्ये एउटा वेब सफ्टवेअर कम्पनी थियो भने अर्को अनलाइन ब्याङ्किङ कम्पनी थियो।
दोस्रो कम्पनी अन्ततः पेपल बन्यो र सन् २००२ मा ईबेलाई १.५ अर्ब डलरमा बेचियो।
उनले आफ्नो सम्पत्ति नयाँ रकेट कम्पनी स्पेसएक्स र विद्युतीय कार बनाउने कम्पनी टेस्लामा लगानी गरे।
स्पेसएक्सले नासाका लागि यथोचित मूल्यमा विकल्पहरू दिने उद्देश्य राखेको थियो।
यी दुई कम्पनीले उनलाई धन कमाउन सघाएको मानिन्छ।