चिनियाँ नेताको सुन्दरीजल रोजाइ: के कांग्रेससँग 'सम्बन्ध सुधार' खोजेको हो

सन् १९६० को मार्च १८ अर्थात् २०१६ चैत ५ गते तत्कालीन प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ नेता माओत्सेतुङ्बीच वार्तालाप भयो। 'माओ जेदुङ् अन डिप्लोमेसी' पुस्तकका अनुसार माओले त्यस बेला संसारमा अमेरिकासँगमात्र आफ्नो देशको 'गम्भीर विवाद' रहेको बताएका थिए। 'भारतसँग पनि एक वर्षदेखि विवाद भए पनि आफूहरू मित्र रहेको' उनको भनाइ थियो।

त्यसको ६० वर्षपछि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले नेपाली नेताहरूसँगको भेटमा अमेरिकालाई त्यही कोटीमा राखेको बताइएको छ। नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा लिउ चियान छाओ नेतृत्वको प्रतिनिधिमण्डलले त्यस्तो आशय व्यक्त गरेका हुन्।

छलफलमा सहभागी पूर्व राजदूत दिनेश भट्टराईले भने, "अमेरिकाले चीनको प्रगति देख्न चाहँदैन सम्म भने।" "अनेक बहानामा चीन विरोधी गतिविधि हुने" चिन्ता दर्साउने क्रममा चिनियाँ नेताले त्यसो भनेका हुन्।

कांग्रेसका प्रवक्ता तथा पूर्व परराष्ट्र मन्त्री प्रकाशशरण महतका अनुसार दुवै पक्षबीच खुला रूपमा छलफल भएको छ।

"उनीहरूले अमेरिकी सहायता सम्झौता एमसीसी र एसपीपी लगायतका विषयमा प्रस्ट कुरा गरे, हामीले पनि खुला रूपमा आफ्ना कुराहरू राख्यौँ," महतले सुनाए।

खुला मनले कुराकानी

डेढ वर्षअघि मात्रै हो काठमाण्डूस्थित चिनियाँ राजदूतावासले कांग्रेसलाई स्तब्ध बनाउने खालको एउटा पत्र नै पठाएको थियो।

त्यसमा लगाइएका आरोपलाई २०७७ साल कात्तिक २८ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले 'लामो समयदेखि नेपाली कांग्रेस तथा चिनियाँ सरकार र जनताबीच रहेको मैत्रीपूर्ण सम्बन्धको महत्ता र गरिमा विपरीत' भन्दै विज्ञप्तिमार्फत् चिनियाँ पक्षको ध्यानाकृष्ट गराएको थियो।

कांग्रेस नेता जीवनबहादुर शाहीले चीनले नेपाली भूमि अतिक्रमण गरेको विवरण सार्वजनिक गरेपछि नेकपाको सरकारका बेला विपक्षी कांग्रेससँग चीनको त्यस्तो वादप्रतिवाद चलेको थियो।

त्यही बेला चिनियाँ सरकारको आधिकारिक मतको प्रतिनिधित्व गर्ने भनिएको ग्लोबल टाईम्सले एउटा लेखमा त कांग्रेसलाई भारत परस्त पार्टीको रूपमा चित्रित गरेको थियो।

जबकी चिनियाँ राजदूत तत्कालीन नेकपा फुट्न नदिन सक्रिय रहेको विवरण आए। वामपन्थी नेताहरूसँग चिनियाँ नेताहरूको भिडिओ संवाद र छलफलहरू बारम्बार भए।

'विचारधारात्मक सम्बन्ध हैन'

त्यसतर्फ सङ्केत गर्दै कांग्रेसले पनि स्पष्ट धारणा राखेको बताइएको छ। प्रवक्ता महतका अनुसार नेपाली कांग्रेस र नेपालले कस्तो राजनीतिक र शासन प्रणाली छ भन्ने आधारमा देशहरूसँग व्यवहार र सम्बन्ध नबनाउने कांग्रेस नेताहरूले धारणा राखेका थिए।

उनले भने, "हाम्रो कम्युनिस्ट पार्टी होइन। तर हाम्रो दलीय विचारको आधारमा हामीले सम्बन्ध राख्दैनौँ किन कि यो त देश र देशबीचको सम्बन्ध हो।"

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला चीनले नचाहेको भनिएको अमेरिकी सहायता परियोजना एमसीसीका अनुमोदन भएको छ। लगत्तै अमेरिकी उपविदेशमन्त्रीले काठमाण्डूस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेको विवरण आयो।

डेढ वर्ष अघिसम्म चीनले 'मिलिदिउन् भन्ने चाहेको' ठानिने तत्कालीन नेकपाबाट बाहिरिएर बनेका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अघि सरेर देउवालाई प्रधानमन्त्री बनाएका हुन्।

पछिल्ला वर्षमा चीन 'भर पर्न खोजेको' ठानिएको नेकपा विभाजित भएको मौका पारेर कांग्रेसले पनि वैचारिक र सैद्धान्तिक विषयलाई सम्बन्धको आधार बनाउन नहुने सन्देश दिए।

उनीहरूले पनि उक्त कुरा स्वीकार गरेको उल्लेख गर्दै पूर्व राजदूत भट्टराई भन्छन्, "उनीहरूले नै तपाईँहरूको आफ्नो राजनीतिक र सामाजिक प्रणाली छ, मूल्य मान्यता छन्। र, हाम्रो आफ्ना छन्। तैपनि हाम्रो सम्बन्ध एकदम राम्रो छ। त्यसैले हाम्रो यो वैचारिक सम्बन्ध होइन भने।"

एमसीसी लिएर बीआरआईलाई बेवास्ता?

पछिल्ला घटनाक्रमसँगै बेल्ट एन्ड रोड इनिसियटीभ बीआरआईलाई अघि बढाउन नेपाल अनिच्छुक रहेको कुराले चीनलाई थप सशङ्कित तुल्याएको कतिपयको बुझाइ पाइन्छ।

कांग्रेस नेताहरूका अनुसार चिनियाँ पक्षबाट त्यसअन्तर्गत आफ्ना प्राथमिकता निर्धारण गर्न आग्रह गरिएको जबाफमा अहिले ऋण लिन सक्ने अवस्थामा रहेको र अनुदान सहायता परियोजना दिन आग्रह गरिएको छ।

पूर्व राजदूत दिनेश भट्टराईले नेपालबाट चीन विरोधी गतिविधि नहोस् भन्नेमा उनीहरू आश्वस्त हुन चाहेको बताए।

प्रवक्ता महत आफ्नो तर्फबाट त्यसमा प्रस्ट पारिएको ठान्छन्। उनले भने, "अमेरिका लगायत सबै मित्रराष्ट्रको सहयोग लिने र एमसीसी पनि त्यसकै निरन्तरता हो। हामीले नेपाली भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन दिन्नौँ भनेका छौँ।"

एमसीसीभन्दा अघि हस्ताक्षर भएको बीआरआई अन्तर्गत कुनै पनि परियोजना अघि नबढेको र त्यसमा कांग्रेस नेतृत्वको सरकारले नियतवश ढिलाइ गरेको आशङ्का चिनियाँमा रहेको कतिपयको विश्लेषण पाइन्छ।

बीपी सम्झिँदै सुन्दरी जलमा

लिउ चियान छाओले हालसालै मात्र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका हुन्।

उनले कांग्रेसको 'तीर्थस्थल' सुन्दरीजलस्थित बीपी सङ्ग्रहालय पुगेर झन्डै एक घण्टा बिताए। बीपी कोइरालालाई दुई पटक राखिएको उक्त जेल सङ्ग्रहालय बनाइएको छ।

सङ्ग्रहालय समितिका संस्थापक अध्यक्ष परशुराम पोख्रेलका अनुसार फर्किने बेला चिनियाँ नेताले 'यहाँ नआएको भए ठूलो कुरा छुटाउने रहेछु' भनेका थिए।

उनले भने, "बीपी कोइरालाको नेतृत्वको क्रान्तिकालमा चीनसँग मिल्दो जनमुक्ति सेना रहेको, हातहतियार र तोपकासाथै जहाजबारे जानकारी पाएपछि उहाँहरू बिपीबारे नयाँ कुरा थाहा पाएको प्रतिक्रिया दिनुभयो।"

उनका अनुसार चिनियाँ उच्च अधिकारीको यो नै पहिलो सुन्दरी जल भ्रमण थियो।

चीनका लागी पूर्व राजदूत राजेश्वर आचार्य त्यसको निकै गहिरो र महत्त्वपूर्ण सन्देश रहेको ठान्छन्। चीनले कांग्रेसलाई प्रस्ताव गरेको अर्थ्याउँदै उनले भने, "हामी तिमीहरूसँग निकै नजिक र राम्रो विश्वासका साथ सँगै काम गर्न चाहन्छौँ, के तयार छौ भन्ने किसिमको सन्देश हो।"

सम्बन्धका सेतु बीपी

नेपाल-चीनबीचको सम्बन्धमा चीनले बीपीलाई निकै महत्त्वका साथ हेर्ने गरेको बताइन्छ।

पूर्व राजदूत आचार्यका अनुसार गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छँदा नेपाल भ्रमणमा आएका चीनका तत्कालीन प्रधानमन्त्रीले 'बीपी कोइराला र चाउ एनलाईले हुर्काएको दुई देशको सम्बन्ध हो' भनेर सम्झना गरेका थिए।

चिनियाँ नेताहरू आफ्नो देशलाई राष्ट्रसङ्घको सदस्यता दिने कुरामा बीपीको दृष्टिकोणबाट प्रभावित देखिन्छन्। उनीहरूले त्यस्तै मैत्री सन्धि र सीमा सम्झौतालाई सार्थकता दिने उनको भूमिकाको प्रशंसा गर्ने गरेको जानकारहरू बताउँछन्।

तीनै बीपी चीन भ्रमणमा गएका बेलाका फोटोहरू चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका नवनियुक्त प्रमुख लिउले सुन्दरी जलमा निकै रुचिपूर्वक हेरेका थिए।

सन् २०२२ मा चिनियाँ कम्युनिस्ट पार्टीको संरचनामा व्यापक हेरफेर हुने ठानिएका बेला उनले निकै केलाएर गरेको नेपाल भ्रमण आगामी वर्षको निम्ति दुई देशको सम्बन्ध विकासमा महत्त्वपूर्ण हुने जानकारहरूको ठम्याइ छ।

पूर्व राजदूत भट्टराई भन्छन्, "चिनियाँहरू निकै खुला रूपमा आउन थालेछन्। पहिले जस्तो कूटनीति छैन। चीन धेरै परिवर्तन भएर आएको छ।"

नेपालले चीनलाई कति र कसरी बुझ्न सक्छ त्यो महत्त्वपूर्ण रहेको उनको भनाइ छ।