श्रीलङ्का: राष्ट्रपति गोटाबय राजपक्ष सैन्य विमानमा देश छोडेर भागे

    • Author, म्याट मर्फी
    • Role, बीबीसी न्यूज

श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण आक्रोशित मानिसहरूले विरोध प्रदर्शन गरिरहेका बेला श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष देश छोडेर अन्यत्र गएका छन्। देश छोड्दा उनले सेनाको विमान प्रयोग गरेका छन्।

त्रिहत्तर वर्षीय राजपक्ष स्थानीय समयानुसार बिहानको ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले थाहा पाएको छ।

श्रीलङ्काको वायुसेनाले राष्ट्रपति गोटाबय राजपक्ष, उनकी पत्नी र दुई सुरक्षाकर्मीलाई माल्दिम्स जान सैन्य विमान उपलब्ध गराइएको पुष्टि गरेको छ। त्यसका लागि सरकारले अनुरोध गरेको सेनाको भनाइ छ।

एक सैन्य स्रोतले राजपक्ष माल्दिम्समा नबस्ने बरु कुनै अर्को देश जाने बीबीसीलाई बताएको छ। तर उनको मूल गन्तव्य कहाँ हो त्यो स्पष्ट भएको छैन।

राष्ट्रपतिको सरकारी निवासमा गत शनिवार हजारौँ मानिसहरू बलपूर्वक प्रवेश गरेपछि गुप्त स्थानमा लुकेर बसेका थिए।

राजपक्ष परिवारको वर्चस्व अन्त्य

उनले देश छोडेसँगै श्रीलङ्कामा दशकौँसम्म शासन गर्ने राजपक्ष परिवारको राजनीतिक वर्चस्व अन्त्य भएको छ।

शनिवार हजारौँ प्रदर्शनकारीहरूले राष्ट्रपतिको सरकारी निवासमा आक्रमण गरेदेखि उनी लुकिरहेका थिए।

यसअघि राष्ट्रपतिले जुलाई १३ (आज) राजीनामा दिने वचन दिएका थिए।

उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजपक्षले पनि देश छाडेको स्रोतले बीबीसीलाई बताएको छ। उनी अमेरिका प्रस्थान गर्न लागेको ठानिएको छ।

राष्ट्रपतिको प्रस्थानको खबर सार्वजनिक भएपछि राजधानी कोलम्बोको प्रमुख प्रदर्शनस्थलमा सर्वसाधारण मानिसले उत्सव मनाएका छन्।

मङ्गलवार साँझ त्यहाँ राष्ट्रपतिको राजीनामाको पर्खाइमा हजारौँ मानिस भेला भएका थिए।

श्रीलङ्कामा उत्पन्न अभूतपूर्व आर्थिक सङ्कटका लागि राजपक्षको प्रशासनलाई दोष दिइएको छ।

महिनौँदेखि दैनिक विद्युत् कटौती तथा इन्धन, खाना र औषधि जस्ता आधारभूत सामग्रीको अभावविरुद्ध मानिसहरू सङ्घर्ष गरिरहेका छन्।

पदमा रहँदा अभियोगबाट उन्मुक्ति पाएका यी नेता पदमुक्त भएपछि नयाँ प्रशासनको गिरफ्तारीबाट बच्न विदेश भागेको ठानिएको छ।

अब के होला

देशलाई आर्थिक सङ्कटबाट बाहिर निकाल्न क्रियाशील सरकार चाहिन्छ। यद्यपि राष्ट्रपतिले देश छोडेपछि शक्ति असन्तुलित हुने सम्भावना देखिएको छ।

अन्य दलका नेताहरूले नयाँ सरकार बनाउनेबारे छलफल गरेको भए पनि सहमतिको नजिक पुग्ने कुनै सङ्केत देखिएको छैन। उनीहरूको निर्णय सर्वसाधारण जनताले स्वीकार गर्छन् या गर्दैनन् भन्ने समेत स्पष्ट छैन।

संविधानअनुसार राष्ट्रपतिले राजीनामा दिएको खण्डमा प्रधानमन्त्री रनिल विक्रमसिङ्घले उनको स्थानमा काम गर्नुपर्छ। प्रधानमन्त्रीलाई संसद्मा राष्ट्रपतिको सहायक मानिन्छ।

यद्यपि विक्रमसिङ्घ पनि निकै अलोकप्रिय छन्। गत शनिवार प्रदर्शनकारीहरूले उनको निजी निवासमा आगो लगाएका थिए। त्यतिबेला उनी र उनको परिवार घरभित्र थिएनन्। उनले नयाँ सरकार गठन गर्ने बाटो बनाउन राजीनामा दिने बताएका छन्। तर उनले मिति भने तय गरेका छैनन्।

संविधानविद्हरूका अनुसार यसले संसद्को सभामुखलाई कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्ने सम्भावनाको बाटो खुला गर्छ। यद्यपि महिन्द यापा अबेवर्दन राजपक्षका सहयोगी हुन्। जनताले उनलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरा पनि स्पष्ट छैन।

कार्यवाहक राष्ट्रपति बन्ने व्यक्तिलाई सांसदका सदस्यहरूमध्येबाट नयाँ राष्ट्रपति चयन गर्न ३० दिनको समय दिइएको हुन्छ। त्यस निर्वाचनबाट विजयी व्यक्तिले सन् २०२४ को अन्त्यसम्म राजपक्षको कार्यकाल सम्हाल्न पाउनेछन्।

श्रीलङ्काका प्रमुख विपक्षी नेता सजित प्रेमदासले गोटाबय राजपक्षले राजीनामा दिएपछि आफू राष्ट्रपतिको उम्मेदवार बन्न चाहेको सोमवार बीबीसीसँग बताएका थिए।

तर उनलाई पनि सार्वजनिक समर्थन कम छ। समग्रमा राजनीतिकर्मीहरूले उनीलाई विश्वास गरेको देखिँदैन।

श्रीलङ्कालाई परिवर्तनको मोडमा उभ्याउने विरोधप्रदर्शनले पनि देशको नेतृत्व गर्ने उपयुक्त दाबेदार प्रस्तुत गर्न सकेको छैन।

श्रीलङ्काबारे

  • टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २.२ करोड छ। तीनवटा जातीय समुदाय - सिन्हाली, तमिल र मुस्लिम - ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन्।
  • राष्ट्रपतिको शक्ति: श्रीलङ्काका राष्ट्रपति राज्य, सरकार र सेनाको शीर्ष व्यक्ति हुन्। तर उनले संसद्‌मा सत्तारूढ दलको नेतृत्व गर्ने प्रधानमन्त्रीसँग धेरै कार्यकारी जिम्मेवारी बाँडफाँट गर्नुपर्छ।
  • शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरिरहेका छन्। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक भए। त्यतिबेला रक्षामन्त्री रहेका उनका भाइ गोटाबय राजपक्ष अहिले राष्ट्रपति छन्।
  • आर्थिक सङ्कटले आक्रोशः अहिले श्रीलङ्काली जनताहरू आक्रोशित छन्। त्यहाँ सहज आपूर्ति हुन नसकेसँगै महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन्।