तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डेनमार्क: शपिङ मलमा बन्दुक आक्रमण हुँदा तीनजनाको मृत्यु, अन्य घाइते
डेनमार्कको सबैभन्दा ठूलो शपिङ मलहरूमध्ये एकमा एकजना बन्दुकधारीले तीन जनाको हत्या गरेका छन्। अन्य घाइते भएको र उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दक्षिण कोपनहेगनस्थित फिल्ड्स मलमा आममानिसमा आतङ्क फैलाउने आक्रमण गरेको आरोपमा २२ वर्षीय व्यक्तिलाई पक्राउ गरी अभियोग लगाइएको छ।
प्रहरी प्रमुख सोरेन थोमसेनले आक्रमणको कारण स्पष्ट नभएको र उनले उक्त कार्यलाई "आतङ्कवाद सम्बन्धी कार्य" होइन भन्न नसकिने बताए।
प्रधानमन्त्री मेट फ्रेड्रिकसेनले डेनमार्कले क्रूर आक्रमण भोगेको बताए। मृतकका आफन्तलाई समवेदना सन्देशसहित उनले सम्पूर्ण डेनिशहरूलाई यस कठिन घडीमा एकअर्कालाई साथ र सहयोग प्रदान गर्न प्रोत्साहित गर्न चाहेको बताइन्।
"निर्दोष मानिसहरू, चाहे ती बालबालिका हुन्, किशोर किशोरी वा वयस्कहरू। केही मारिए। अझ धेरै घाइते भए।"
"हाम्रो सुन्दर र सामान्यतया सुरक्षित राजधानी केही बेरमै परिवर्तन भयो," उनले भनिन्।
डेनमार्कको राजपरिवारले "पीडितहरू, उनीहरूका आफन्तजन र उक्त घटनाबाट प्रभावित सबैप्रति" आफ्नो "गहिरो सहानुभूति" व्यक्त गरेको छ।
"हामीलाई त्रासदीबारे पूर्ण रूपमा थाहा छैन तर मानिसहरूले ज्यान गुमाएको स्पष्ट छ र अझ बढी घाइते भएका छन्," रानी मार्गरेट, युवराज फ्रेड्रिक र युवराज मेरीको संयुक्त वक्तव्यमा लेखिएको छ।
आक्रमणका शङ्कास्पदलाई पक्राउ गर्दा उनको हातमा राइफल र गोलाबारी रहेको प्रहरीले जनाएको छ।
सन्दिग्धसँग सोमवार न्यायाधीशले सोधपुछको गर्ने बताइएको छ।
प्रहरीका अनुसार उनीसँग अन्य आक्रमणकारीहरू संलग्न रहेको कुनै सङ्केत भेटिएको छैन र पसल सञ्चालकहरूलाई उनीहरूसँग हुन सक्ने कुनै पनि भिडिओ फुटेज सुरक्षित गर्न आग्रह गरिएको छ।
फिल्ड्स मलमा १४० भन्दा बढी पसल र रेस्टुराँहरू छन्। थुप्रै तलाको यस मल कोपनहेगनको बाहिरी भागमा छ र यो सहरको केन्द्रसँग जोडिने सबवे लाइन नजिकै रहेको छ।
गोली चल्दा किनमेल गर्न आएका मानिसहरूले भोगेको आतङ्कबारे प्रत्यक्षदर्शीहरू बोलेका छन्।
तीमध्ये एक इसाबेल नाम गरेकाले डेनिस मिडियालाई भनिन्: "अचानक हामीले विस्फोटक आवाजहरू सुन्यौँ। दश पटक जति गोली प्रहार भएको आवाज सुनेझैँ लाग्छ। त्यसपछि दौडिएर मलको शौचालयमा पुग्यौँ। त्यो सानो शौचालयमा हामी वरपर ११ जना थियौँ।"
"त्यहाँ निकै गर्मी थियो। हामीले पर्खियौँ र हामी साँच्चै डराएका छौँ। यो एक भयानक अनुभव रह्यो।"
घटनास्थलबाट एक माइलभन्दा कम दूरीमा तय भएको ब्रिटिश गायक ह्यारी स्टाइल्सको प्रस्तुति हाल रद्द गरिएको छ।
स्न्यापच्याटमा लेख्दै स्टाइल्सले भने: "मेरो समूह र म कोपनहेगनस्थित मलमा भएको आक्रमणबाट प्रभावित सबैको लागि प्रार्थना गर्दछौँ। म स्तब्ध छु।"
गोलाबारी भए लगत्तै डेनमार्कको शाही परिवारले युवराज फ्रेड्रिकले आयोजना गर्ने भनिएको एक भोज पनि रद्द गरेको घोषणा गर्यो।
छिमेकी राष्ट्रका नेताहरूले गोलाबारीबारे चिन्ता र पीडितका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
डेनमार्कमा पछिल्लो पटक सन् २०१५ मा एउटा ठूलो आतङ्ककारी घटना भएको थियो। कोपेनहेगनको एउटा सांस्कृतिक केन्द्र तथा सभा घरमा भएको त्यस आक्रमणमा दुई जनाको मृत्यु भएको थियो र छ जना प्रहरी अधिकारीहरू घाइते भएका थिए।
त्यति बेला बन्दुकधारी मानिस प्रहरीसँगको गोली हानाहानमा परी मारिएका थिए।