नेपाल प्रहरी: एकसाथ 'डीआईजी' पदमा बढुवाका लागि सिफारिस महिला प्रहरीका कथा

    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

सुदूरको ठाउँ बझाङको एउटा विकट गाउँबाट दुर्गा सिंहको परिवार कञ्चनपुर झर्‍यो। उनको बुवाको एउटै उद्देश्य थियो- छोरीलाई धेरै पढाउनु र डाक्टर बनाउनु।

उनका निम्ति सहरी परिवेश नौलो थियो। ठूलो ठाउँको नयाँ विद्यालयमा आफूले जानेको कखराले बुवाले भने झैँ "धेरै पढ्ने" आड दिन्छ या दिँदैन भन्ने अन्योलमा उनी थिइन्।

तर गाउँको तुलनामा त्यहाँको विद्यालयमा धेरै छोरी मान्छे देखेपछि उनको मानसिक तनाव घट्यो।

विद्यालयका प्रधानाध्यापक देवप्रकाश भट्टले छात्राहरूलाई अब्बल बनाउन गरेको प्रयासले त झन् दुर्गामा आत्मविश्वास र नेतृत्व गर्ने हुटहुटी जगाइदियो।

एक दिन विद्यालयको विद्यार्थी प्रतिनिधि छान्ने क्रममा भट्टले इच्छुकहरूलाई हात उठाउन लगाए। लामबद्ध भिडमा प्रतिस्पर्धी भावसहित हात माथि उठाउने सबै पुरुष मात्र भएको उनी सुनाउँछिन्।

"हेडसरले भारतीय प्रधानमन्त्री रहेकी इन्दिरा गान्धीको उदाहरण दिँदै स्कुलभरिका 'कुनै पनि केटीमा त्यो आँट नभएको हो त?' भन्ने प्रश्न गर्नुभयो। त्यति सुनेपछि मैले केही सोचिनँ। जुरुक्क हात उठाएँ र वरपर हेरेँ," उनी त्यो क्षण सम्झन्छिन्।

विद्यार्थीकै मतले तय गर्‍यो- सिंह विद्यार्थी प्रतिनिधि। अर्का छात्र- उनका सहायक।

"सबैको प्रतिनिधि चुनिएपछि जिम्मेवारी बढ्यो। बिस्तारै ममा नेतृत्व गर्ने गुण विकास भयो," उनले भनिन्।

बलिवूड र नयाँ सपना

कञ्चनपुर झरेदेखि दुर्गाको निम्ति पढाइबाहेक अर्को आकर्षण बनेको थियो- सिनेमा। हरेक शनिवार श्यामस्वेत टीभीको अघिल्तिर घण्टौँसम्म हिन्दी सिनेमा प्रसारण हुने समय पर्खिएर बसेको अझै उनी सम्झन्छिन् ।

आफू बस्ने ठाउँनजिकै रहेका दुईवटा सिनेमाघरमा नयाँ सिनेमा लागेको थाहा पाउने बित्तिकै हेर्न जाने गरेको उनले सुनाइन्।

सिनेमाप्रतिको त्यही लगावले उनको बाटो मोडिदियो।

अमिताभ बच्चन र रजनीकान्त एकसाथ पर्दामा देखिनुको चर्चा निम्त्याएको थियो बलिवूड सिनेमा 'अन्धा कानुन'ले। तर सिंहलाई भने फरक कुराले आकर्षित गरेको थियो।

चर्चित अभिनेत्री हेमा मालिनीलाई प्रहरीको पोसाकमा देख्दाको पहिलो दृश्य आफ्नो दिमागमा बसेको उनी सुनाउँछिन्।

"उनको आत्मविश्वास मैले हिँडाइमा देखेँ। बोलीमा सुनेँ। कथामा उनी न्यायका लागि लड्छिन्। त्यसपछि मभित्र पनि कताकता प्रहरी बन्ने रहर जाग्यो," उनले भनिन्।

रोचक त के भने सिनेमामा हेमा मालिनीको नाम दुर्गा सिंह नै थियो।

परिस्थितिले पनि थोरै उनको, धेरै बुवाको- डाक्टर पढ्ने/पढाउने योजनामा रोक लगाइदियो। विद्यालयमा हुने परीक्षाहरूमा सधैँ प्रथम हुने उनी प्रवेशिका परीक्षामा दोस्रो श्रेणीमा उत्तीर्ण भइन्।

प्राप्ताङ्ककै कारण विज्ञान विषय पढ्न नपाएपछि व्यवस्थापन पढ्न उनी भारत गइन्। केरला विश्वविद्यालयबाट स्नातक तहसम्मको पढाइ पूरा गरिन्।

"त्यहाँ औपचारिक शिक्षासँगै मैले समाज बुझ्ने अवसर पाएँ। सुदूरपश्चिममा महिलाहरूको फरक अवस्था देख्दै हुर्किएकी मलाई त्यहाँको मातृसत्तात्मक परिवेशले चकित तुल्याउँथ्यो," उनले बताइन्।

"म आफ्नो ठाउँमा महिलाले शिर ठाडो पारेर हिँडेको कल्पना गर्थेँ। त्यो वातावरण बनाउन मेरो भूमिका के हुन सक्छ? आफैसँग प्रश्न गर्थेँ।"

उनलाई लाग्यो उनले जबाफ भेटिन्- नेपाल प्रहरीमा भर्ती खुलेको सूचनामा। ब्याङ्कको जागिरे हुने अवसर पन्छाएर प्रहरीमा आवेदन दिइन्। मानिसहरूले भनेका थिए- प्रहरीमा गाह्रो हुन्छ।

"गाह्रो त बिहान बेलुकी अगेनामा र दिनभरि खेतमा जोतिने हाम्री आमाहरूलाई पनि हुन्थ्यो," उनी केही दृढ सुनिइन्।

एकसाथ उदाएका चार 'हिरो'

वि.सं. २०५१ सालको चैत महिनामा उनी प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा नियुक्त भइन्। तालिम सकिएपछि पहिलो पटक बर्दीमा ठाँटिएर निस्किँदा आफूलाई पर्दामा देखिएको हेमा मालिनीको याद आएको प्रसङ्ग उनले केही रमाइलो शैलीमा सुनाइन्।

उनले भनिन्,"हरेक मानिस हिरो बन्न चाहन्छ। त्यतिबेला मलाई हिरो भएको अनुभूति भयो।"

करिब २७ वर्षअघिको नेपाली समाजमा महिला प्रहरीको सङ्ख्या उल्लेख्य थिएन। त्यो बेला उनीसँगै अन्य तीन महिला- किरण बज्राचार्य, मीरा चौधरी र किरण राणा प्रहरी निरीक्षकको रूपमा सङ्गठन प्रवेश गरेका थिए।

र, उनीहरू सबै एकै पटक प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन्।

उच्च ओहोदामा यसरी एकैसाथ चारजना महिला पुग्नुलाई कतिपयले नेपाल प्रहरीमा नयाँ इतिहास बनेको रूपमा व्याख्या गरेका छन्।

खेलाडीबाट डीआईजीसम्म

मीरा चौधरी, किरण राणा र किरण बज्राचार्य खेलकुद पृष्ठभूमिका हुन्। तीनैजना राणा राष्ट्रिय फुटबल खेलाडी थिए। बज्राचार्य चाहिँ ब्याडमिन्टनकी खेलाडी पनि हुन्। उनीहरू खेलकुदकै कारण आफूहरूमा शारीरिक क्षमता र 'हक्की' स्वभाव विकास भएको विश्वास गर्छन्।

यद्यपि सबैको पृष्ठभूमि भने फरक फरक छ।

राणा काठमाण्डूको केन्द्र ठमेलमा जन्मेर हुर्किइन्। उनको परिवार र आफन्त प्रहरी, सेना वा निजामती कर्मचारीकै रूपमा कार्यरत थिए। यस पेसाको प्रतिष्ठाले उनलाई आकर्षित गर्थ्यो।

लखनउबाट समाजशास्त्रमा स्नातकोत्तर सकेकी उनले नेपाल प्रहरीमा प्रवेश गर्ने निर्णय गरिन्।

"मेरो पढाइ पेसाका लागि बलियो आधार बन्यो। समाज अध्ययन र त्यहाँका समस्याहरूप्रतिको बुझाइले मलाई जहाँ खटाइयो त्यहाँका आममानिससँग अन्तर्क्रिया गर्न, त्यहाँको सामाजिक मनोविज्ञान अड्कल काट्न केही सहज भयो," राणाले भनिन्।

'छोरा र छोरीबीच कुनै विभेद नगर्ने उदार परिवारमा हुर्किएकी' आफ्ना लागि कार्य क्षेत्रमा देखेको विभेद र त्यसले निम्त्याउने परिणामहरू भयावह लागेको उनी सुनाउँछिन्।

"मैले हुर्कँदै गर्दा छोरी भएकै कारण यो गर् त्यो नगर् भनेको कहिल्यै सुनिनँ। तर सामाजिक यथार्थ भिन्न थियो। त्यो अवस्था फेरिनु आवश्यक थियो र प्रहरीको रूपमा मैले योगदान पुर्‍याउन सक्थेँ।"

त्यही दृढताले आफूलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा रहँदा हिंसा न्यूनीकरणका लागि रणनीति बनाउने काममा सक्रिय राखेको उनी बताउँछिन्।

उनीसँगै अन्य तीन जनासँग पनि उक्त निर्देशनालय, ट्राफिक प्रहरी कार्यालय, अपराध महाशाखादेखि जिल्ला प्रहरी प्रमुख र प्रहरी शिक्षालयसम्म काम गर्नुको अनुभव छ।

"हाम्रो जिम्मेवारी शान्ति, सुरक्षा र अपराध नियन्त्रणका लागि खट्ने हो जसले प्रत्यक्ष आममानिससँग जोड्यो। ती मानिसलाई सुरक्षा प्रत्याभूत गराउँदा उनीहरूबाटै धेरै सिक्ने मौका मिल्यो," राणाले भनिन्।

पहिले खेलाडीको रूपमा देशको प्रतिनिधित्व गरेर खेलेकी उनी हाल आफू देशका समग्र महिलाहरूलाई 'गौरवान्वित' महसुस गराउन तल्लीन रहेको बताउँछिन्।

त्यो परिवेश

किरण बज्राचार्य पनि फुटबल खेल्न भारत, हङकङ, फिलिपिन्सलगायत देश पुगिन्। तर आफू प्रहरी सङ्गठनमा प्रवेश गरेदेखि सुरु भएको दूर दराजसम्मको यात्रा झनै रोचक रहेको उनको भनाइ छ।

तानसेन बजारमा हुर्कँदै गर्दा त्यहाँ रहेको जिल्ला प्रहरी कार्यालयमा खटिएका प्रहरीहरू देख्थिन्। त्यहाँ रहेका दुई महिला प्रहरीको पहिरन सधैँ सारी हुन्थ्यो। पुरुष प्रहरीको चाहिँ सर्ट, पाइन्ट र "आकर्षक देखिने" टोपी।

"पेसा एउटै, जिम्मेवारी उही तर लैङ्गिकताकै आधारमा पोसाक फरक। जबदेखि ममा प्रहरी बन्ने रहर जाग्यो तबदेखि सधैँ लाग्थ्यो- म पनि शर्ट पाइन्ट लगाउने प्रहरी बन्छु," बज्राचार्यले त्यो समय सम्झिइन्।

आमाबुवाले आफूलाई समाजले निर्धारण गरेको "छोरीले निर्वाह गर्नुपर्ने भूमिकामा सीमित नराखेकाले" आफ्नो पेसाको अप्ठ्यारो छिचोल्न सहज भएको उनी बताउँछिन्।

महिला कमजोर हुन्छन् भन्ने बुझाइ विपरीत तालिमदेखि अन्य प्रशिक्षणमा आफू सम्पूर्ण प्रशिक्षार्थीहरूमध्ये उत्कृष्ट पाँचमा पर्ने गरेको उनको दाबी छ।

"हामीलाई कमजोर आँक्नेहरू वरपर नै हुन्थे। हेय भावले हेर्नेहरू पनि थिए, तर म र मीरा (चौधरी) प्राय सँगै हुन्थ्यौँ र डटेर सामना गर्थ्यौँ," उनले सुनाइन्। महिला भएकै कारण आफूलाई पुष्टि गर्न सधैँ पुरुष सहकर्मीले भन्दा बढी मेहनत गरेको उनी बताउँछिन्।

त्यसमाथि पुरुष सहकर्मी र उनीहरूको शौचालय र लुगा फेर्ने ठाउँ एउटै हुन्थ्यो। यी झिना सुनिने ठूला समस्या थिए।

"त्यो बेला निरुत्साहित नहुनु पनि चुनौती थियो।"

द्वन्द्व र चुनौती

उनले सङ्केत गरेको चुनौती र त्यसविरुद्ध यी चार महिलाले गरेको सङ्घर्ष देशमा शुरू भएको सशस्त्र द्वद्वका बेला झन् बढी मुखरित भयो। त्यस्तो बेला परिवारबाट टाढा रहेर बलियो उभिनु उनीहरूको रोजाइ थियो।

त्रास र अन्योल दबाएर आम मानिसलाई आश्वस्त पार्नु उनीहरूको जिम्मेवारी थियो।

हरेक पटक कुनै प्रहरी चौकीमा आक्रमण भएको खबर छाउँदा परिवारको डर चुलिन्थ्यो। परिवारका सदस्य भन्थे- जागिर छोडे हुन्न?

"उहाँहरूमा आफ्नी छोरी पो परी कि? भन्ने चिन्ता हुन्थ्यो होला। कति पटक आफूलाई पनि सबैकुरा छोडेर फर्किऊँ जस्तो लाग्थ्यो। तर फेरि आफ्नो उद्देश्य सम्झन्थेँ," बज्राचार्यले भनिन्। राजनीतिक द्वन्द्वसँगै मानसिक द्वन्द्वबारे चर्चा गर्छिन् उनी।

उनी भन्छिन्,"जब आफूभन्दा कम योग्यता भएका र पछि आएका पुरुष सहकर्मीले अवसर वा महत्त्वपूर्ण जिम्मेवारी पाउँथे तब लाग्थ्यो- महिलाको क्षमतामा विश्वास गर्दैनन्।"

तर अन्तर्राष्ट्रिय मिसनहरूमा जानु, कार्य कुशलता प्रस्तुत गर्नु र अन्तर्राष्ट्रिय तहमा पुरस्कृत हुनुले उनीहरूलाई प्रमाणित गरेको छ।

दुर्गा सिंह भन्छिन्- "मिसनमा जाँदा मलाई लाग्यो- हामी पहिचान र पैसाको निम्ति यति जोखिम मोल्छौँ। आफ्नै देशमा त जहाँ पुगे पनि आत्तिनु पर्दैन।"

नेपाल प्रहरीमा महिलाको अवस्था

नेपाल प्रहरीको औपचारिक स्थापनाको इतिहास धेरै लामो छैन। वि.सं. २०१२ मा प्रहरी ऐन जारी भएको मितिलाई आधार मानेर प्रहरी दिवस मनाइन्छ। त्यसअघि वि.सं. २००८ सालमै नेपाल प्रहरीमा जागिर खाएको बताउने काठमाण्डूकी चैतमाया डङ्‌गोल नेपालको प्रथम महिला प्रहरीको रूपमा चिनिन्छिन्।

सतासी वर्षीया उनी सुरक्षा निकायमा ३२ वर्ष बिताएको बताउँछिन्। केही महिला नेत्रीहरूको सुझाव र साथीहरूको लहैलहैमा प्रहरीको तालिम लिएको उनले बीबीसीलाई बताएकी थिइन्।

तालिम गरे पनि जागिर खाने इच्छा नभएको जिकिर गर्दा तत्कालीन प्रहरी प्रमुख नरशमशेर जबराले धम्क्याएको उनले बीबीसी नेपालीसँग भनेकी छन्।

"'यहाँ आइसकेपछि जागिर खाँदैनौँ भनेर पाउँछौ?' 'कि जेल जान्छौ कि तालिम गरेको पैसा सबै तिर्नुपर्छ' भने।"

सिंह, राणा, चौधरी र बज्राचार्यले आवेदन दिने समयसम्म पुग्दा महिलाहरू पदपूर्ति पनि खुला प्रतिस्पर्धामार्फत हुन्थ्यो। पछि सुरक्षा निकायलाई पनि समावेशी बनाउने माग बढे पछि कानुनहरू संशोधन गरेर समावेशिता सुनिश्चित गरियो।

हाल नेपाल प्रहरीमा कार्यरत ७५,०७२ प्रहरीहरूमध्ये ११ प्रतिशत मात्र महिला छन्। त्यसको प्रभाव विभिन्न घटनाक्रममा झल्कन्छ।

विभिन्न प्रदर्शन, आन्दोलन वा मुठभेट हुँदा पुरुष प्रहरीले महिला प्रदर्शनकारीको कठालो समातेको दृश्य देख्दा सामाजिक सञ्जालमा प्रश्न उठ्छ- महिला प्रहरी छैनन्?

उच्च ओहोदामा महिला पुग्नुको अर्थ

सङ्गठनको उच्च ओहोदामा महिला मुहारहरू बढ्नुले आम युवतीलाई प्रहरी पेसातर्फ आकर्षित गर्न सक्ने डीआईजी सिफारिस भएका यी महिला अधिकारीहरूको ठहर छ।

"यस पेसामा अवसर छ, पहिचान छ, महिलाहरूलाई पनि सम्मानजनक ठाउँ छ भन्ने सन्देश प्रवाह भएको छ," किरण राणाले भनिन्।

मीरा चौधरीका लागि भने माथिल्लो तहमा महिला पुग्नु भनेको त्यसभन्दा तल रहेका महिलाहरूलाई माथि आउने ढोका खुला हुनु हो।

मकवानपुर जिल्ला प्रहरीको नेतृत्व गर्दा आफूले एक महिला प्रहरीलाई मुद्दा शाखाको जिम्मेवारी सुम्पनुको उदाहरण दिइन्।

उनले भनिन्,"त्यसअघि नयाँ मान्छेलाई मुद्दा शाखाको जिम्मेवारी दिइँदैन थियो। तर मैले क्षमता र योग्यता हेरेर एक महिला सहकर्मीलाई त्यो अवसर दिन डीआईजीसँग अनुरोध गरेँ।"

त्यसो गर्नुले एक क्षमतावान् महिलालाई झन् सशक्त हुन प्रोत्साहित गरेको उनको बुझाइ छ। आफूसँगै सेवा प्रवेश गरेका पुरुषहरूले धेरै अवसर पाउने, चाँडो अघि बढ्नेजस्ता अवस्थाको साक्षी रहेकाले त्यसको अन्त्य गर्नुमा पनि महिलाको उपस्थितिले अर्थ राख्ने धारणा राखिन्।

"यो सशक्तीकरणसँग जोडिएको विषय हो। माथि रहेका सबैले समग्र महिला प्रहरीलाई हेर्ने दृष्टिकोणमै तात्त्विक भिन्नता देखिन्छ जस्तो लाग्छ," चौधरीले भनिन्।

बज्राचार्य भने आफूहरूमाथि जिम्मेवारीदेखि चुनौतीहरूसम्म बढेको ठान्छिन्।

"डाक्टर बन्ने सपना थियो प्रहरी भएँ। डाक्टर बनेको भए शरीरको चोट लागेकालाई राहत दिलाउँथे होला। बर्दीमा रहेर भावनात्मक र मानसिक रूपमा गलेकाहरूलाई राहत दिलाउँदै छु," सिंह गौरवान्वित सुनिइन्।