तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सबैभन्दा गहिरो स्थानमा रहेको पानीजहाजको भग्नावशेष पत्ता लाग्यो
एक सोखिन अन्वेषणकर्ताले अहिलेसम्मकै सबैभन्दा गहिरो स्थानमा रहेको जहाजको भग्नावशेष पत्ता लगाएका छन्।
दोस्रो विश्वयुद्धको समयमा सन् १९४४ अक्टोबरमा डुबेको अमेरिकी जहाज यूएसएस स्यामुअल बी रोबर्टस् फिलिपिन्स सीको ६,८९५ मिटर गहिराइमा फेला परेको हो।
समुद्री फेदमा जान प्रयोग हुने लिमिटिङ फ्याक्टर नामक पनडुब्बीका मालिक टेक्ससका भिक्टर भेस्कोभोले "जीर्ण तर लगभग जस्ताको तस्तै स्वरूपमा रहेको" सो जहाज भेटेका हुन्।
सो जहाज जापानविरुद्ध साहसिक रूपमा लडेका कारण चर्चित छ।
हतियार र सङ्ख्यामा कम भए पनि यसले डुब्नुअघिसम्म थुप्रै शत्रु जहाजलाई रोकेको थियो।
यसका २२४ जना यात्रुमध्ये ८९ जना मारिएका थिए भने १२० जना बच्न सफल यात्रुहरू ५० घण्टासम्म उद्धारको प्रतीक्षामा ससाना डुङ्गामा अड्किएर बसेका थिए।
भेस्कोभोले हराएको जहाज पत्ता लगाउनु असाधारण सम्मान भएको र यसले साहस र जिम्मेवारी पालनको कथा फेरि भन्न पाइएको बताएका छन्।
"हामी भन्छौँ कि स्टिलले झुट बोल्दैन र यी जहाजका भग्नावशेष त्यो युद्धको अन्तिम साक्षी हो।"
"स्यामुअल बीले जापानी जहाजमाथि गोली चलायो र गोलीगठ्ठा सकिएपछि आगो लाग्छ कि भन्ने आसमा धुवाँ र उज्यालो बनाउने गोलीले प्रहार गर्यो। त्यो साहसको अनुपम उदाहरण थियो। दुवै पक्षमा रहेका मानिसहरू नमरेसम्म लडिरहेका थिए।"
लिमिटिङ फ्याक्टरले खिचेका तस्बिरहरूमा सो जहाजको स्वरूप, गोली प्रहार गर्ने साधनहरू देख्न सकिन्छ।
यसमा जापानी आक्रमणका कारण परेका प्वालहरू र एउटा भागमा ठूलो प्रहार भएको देख्न सकिन्छ।
संसारका ९८ प्रतिशत समुद्री फेदहरू ६,००० मिटरभन्दा माथि नै छन्।
सो जहाज डुबेको ब्याटल अफ समर भनिने भीषण युद्धमा जापानी सेना पछाडि हट्न बाध्य भएको थियो।
दुवै पक्षका केही जहाजहरू डुबेका थिए।
गत वर्ष भेस्कोभोले अर्को जहाज यूएसएस जोन्सन ६,४६० मिटर गहिराइमा पत्ता लगाएका थिए।
तर यी दुई जहाजभन्दा गहिराइमा पनि अन्य जहाजका भग्नावशेष हुने सम्भावना छ।
"थप दुई अमेरिकी जहाज यूएसएस गाम्बिएर बे र यूएसएस होएल अझै पत्ता लाग्न बाँकी छ," भेस्कोभोको अभियान सञ्चालन गरेको कम्पनीका केल्भिन मुरेले भने।
"ती दुई कहाँ डुबेका हुन सक्छन् भन्ने ऐतिहासिक तथ्यहरू छन्। तर यस्ता कार्यहरू यसअघि नभएका भएर कठिन छन्। परालमा सियो खोजे जस्तो त होइन तर यस्ता कुरा पत्ता लगाउन भाग्य पनि चाहिन्छ।"
भेस्कोभो संसारका सबै पाँच समुद्रको सबैभन्दा गहिरो स्थानमा पुग्ने पहिलो व्यक्ति हुन्।
उनले सातै महादेशमा अग्लो हिमालहरू पनि चढेका छन् र हालै उनी एमजनका संस्थापक जेफ बेजोसको रकेट चढेर अन्तरिक्षमा पनि पुगेका छन्।