तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तानः सरकारले मानिसहरूलाई किन कम चिया पिउन आग्रह गर्यो
- Author, लीओ स्यान्ड्स
- Role, बीबीसी न्यूज
मुलुकको अर्थतन्त्रलाई जोगाइराख्न भन्दै पाकिस्तानमा मानिसहरूलाई चिया पिउने मात्रा घटाउन आग्रह गरिएको छ।
प्रतिदिन पिउने चियाको मात्रा घटाइँदा आयातमा खर्च हुने उच्च रकममा कमी आउने वरिष्ठ मन्त्री एहसान इकबालले भने।
पाकिस्तानमा विदेशी मुद्रा सञ्चिति घटेर दुई महिनाभन्दा कम समयका लागि वस्तु आयात गर्न सकिने अवस्थामा पुगेको छ।
पाकिस्तानलाई तत्काल आर्थिक सहायताको आवश्यकता देखिएको छ।
ऋणको पैसाले आयात
पाकिस्तान विश्वकै सबैभन्दा ठूलो चिया आयातकर्ता हो। गत वर्ष मात्र उसले ६० करोड डलरभन्दा बढीको चिया आयात गरेको थियो।
"म एकदेखि दुई कप चिया कम पिउन देशवासीलाई आग्रह गर्छु। किनकि हामीले ऋणको पैसाले चिया आयात गरिरहेका छौँ," पाकिस्तानी सञ्चारमाध्यमका अनुसार मन्त्री इकबालले भने।
विद्युत् बचतका लागि पसलेहरूले पनि राति साढे ८ बजे चिया पसलहरू बन्द गर्ने उनले बताए।
विदेशी मुद्रा सञ्चिति तीव्र गतिमा घटिरहँदा आयातमा कटौती गर्न र विदेशी मुद्रा बचत गर्न पाकिस्तान सरकारमाथि दबाव बढेको छ।
कम चिया पिउन मन्त्रीले गरेको आग्रह सामाजिक सञ्जालहरूमा भाइरल बनेको छ।
चिया पिउने मात्रा घटाएर देशको गम्भीर आर्थिक समस्यालाई सम्बोधन गर्न सकिनेमा धेरैले आशङ्का व्यक्त गरेका छन्।
सरकारका लागि परीक्षा
फेब्रुअरीमा १६ अर्ब डलर रहेको पाकिस्तानको विदेशी मुद्रा सञ्चिति घटेर जुन महिनाको पहिला सातासम्म १० अर्ब डलर पुगेको छ।
यति रकमले दुई महिनालाई पुग्ने सबै खाले वस्तुको आयात मुश्किलले मात्र गर्न सकिन्छ।
विदेशी मुद्रा सञ्चिति जोगाइराख्ने प्रयासमा गत महिना कराचीमा अधिकारीहरूले विलासिताका दर्जनौँ सामानको आयातमा प्रतिबन्ध लगाएका थिए।
यो आर्थिक सङ्कट शहबाज शरिफ नेतृत्वको सरकारका लागि एउटा ठूलो परीक्षा हो।
गत एप्रिलमा विश्वासको मत पाउन नसकेको इमरान खान नेतृत्वको सरकारलाई शरिफले विस्थापित गरेका थिए।
शपथ ग्रहण गरेलगत्तै प्रधानमन्त्री शरिफले खान नेतृत्वको सरकारले अर्थतन्त्रलाई अस्तव्यस्त बनाएको आरोप लगाउँदै त्यसलाई सही अवस्थामा फर्काउन ठूलो चुनौती रहेको बताएका थिए।