नेपालमा रहेका भारतीय नागरिकलाई किन दूतावासले नाम दर्ता गर्न आह्वान गरेको हो

काठमाण्डूस्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकहरूलाई दर्ता हुन सूचना जारी गरेको छ।

मङ्गलवार सूचना जारी गर्दै दूतावासले कन्सुलर सेवा लिनका लागि दर्ता अनिवार्य गरिएको जनाएको छ।

"नेपालमा बसोबास गरिरहेका भारतीय समुदायलाई काठमाण्डूस्थित भारतीय दूतावासमा दर्ता हुन अनुरोध गरिएको छ," सूचनामा भनिएको छ।

दर्ताका लागि दूतावासको वेबसाइटमार्फत् आवेदन दिएर समय लिनुपर्ने सूचनामा उल्लेख छ। दर्ताका लागि जाँदा राहदानी वा मतदाता परिचयपत्रको सक्कल प्रति समेत लिएर जान अनिवार्य गरिएको छ।

नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूलाई नेपालमा रोजगारी, सेवा वा अध्ययन गरिरहेको भए सम्बन्धित निकायबाट त्यसको पनि प्रमाण पेस गर्न भनिएको छ।

साथै नेपालमा बसोबास गरिरहेको ठेगानाको समेत प्रमाण मागिएको छ।

त्यसमा बिजुलीको बिल वा घरधनीबाट भाडामा बसिरहेको भन्ने जानकारी पत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

साथै दर्ताका लागि साथै सेतो पर्दामा लिइएका दुईवटा पासपोर्ट साइजका फोटो अनिवार्य गरिएको छ।

पहिला के हुन्थ्यो?

यस विषयमा बीबीसीले जिज्ञासामा दूतावासका प्रवक्ता नवीन कुमारले कुनै उत्तर दिएका छैनन्।

काठमाण्डूस्थित भारतीय नागरिक सङ्घ नेपालका अध्यक्ष मनोज कुमार अग्रवालले यस्तो सूचना नियमित भएको बताए।

"यसअघि पनि दर्ता हुने गरेको हो। धेरै मानिसहरू दर्ता गर्न नगएको भएर सूचना निकालेको हुनसक्छ। यस्तो चलिनै रहन्छ," उनले भने।

उनले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूको दर्ता गर्ने सूचनालाई आफूहरूले सकारात्मक रूपमै लिएको प्रतिक्रिया दिए।

भारतको विदेश मन्त्रालयले सन् २०२० मा प्रकाशित गरेको एउटा प्रतिवेदनमा नेपालमा छ लाख भारतीय नागरिकहरू बसोबास गर्ने उल्लेख गरेको छ।

नेपालमा बसोबास गर्ने भारतीयहरू व्यापार, व्यवसाय तथा विभिन्न पेसा रोजगारीमा आबद्ध छन्। त्यसबाहेक ठूलो सङ्ख्यामा श्रमिकहरू भएको उक्त प्रतिवेदनमा उल्लेख छ।

नेपाल भारतमा रेमिट्यान्स भित्रिने प्रमुख देशहरूमध्ये पर्छ।

भारतीय नागरिकहरूको छाता सङ्गठन भारतीय नागरिक सङ्घ नेपालका अध्यक्ष अग्रवालले करिब ७०० परिवार आफूहरूको सम्पर्कमा रहेको जानकारी दिए।

करिब ८० लाख नेपाली नागरिकहरू भारतमा काम वा बसोबास गर्ने दाबी गरेको छ।