युक्रेन युद्ध: 'रुसद्वारा युक्रेनको २० प्रतिशत भूभागमा नियन्त्रण'

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको २० प्रतिशत भूभाग रुसी फौजहरूको नियन्त्रणमा पुगेको बताएका छन्।

जेलेन्स्कीका अनुसार त्यो बेल्जियम, लक्जम्बर्ग र द नेदरल्याण्ड्सको कुल क्षेत्रफलभन्दा धेरै हो।

लक्जम्बर्गको संसद्लाई सम्बोधन गर्दै जेलेन्स्कीले लगभग १ लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र यतिखेर मस्कोको हातमा पुगेको बताएका हुन्।

त्यसमा सन् २०१४ मै रुसको बलमा लडेका फौजहरूले कब्जा गरेका क्राइमिया र पूर्वी युक्रेनका केही भागको समेत गणना गरिएको छ।

जुन युक्रेनी भूभागको ७ प्रतिशतजति हुन आउँछ।

डोनबास कब्जा गर्ने लक्ष्य

पूर्वी युक्रेनमा रुसी सेनाले सबै दिशाबाट युक्रेनी प्रतिरक्षा तोड्ने प्रयास गरिरहेको लुहान्स्कका नेता सेर्हेई हाइडाईले बताएका छन्।

यतिखेर सेभेरोडोनेट्स्क शहरमा लडाइँ तीव्र भएको छ जसको धेरैजसो भाग यतिखेर रुसी फौजको नियन्त्रणमा पुगेको छ।

सेभेरोडोनेट्स्क कब्जा गर्नु गर्नेको लुहान्स्कको लगभग सबैजसो भागमा नियन्त्रण कायम गर्न सक्नु हो।

जुन अझ ठूलो डोनबास क्षेत्र कब्जा गर्ने मस्कोको प्रयासको एउटा पाटो हो।

यदि रुसी फौजले डोनबास कब्जा गर्न सके भने राष्ट्रपति पुटिनले युद्ध जितेको दाबी गर्न सक्ने ठानिएको छ।

रुसी सेनाबारे जेलेन्स्कीको दाबी

सम्बोधनकै क्रममा जेलेन्स्कीले ३० हजारभन्दा धेरै रुसी सैनिकहरूले यस युद्धमा ज्यान गुमाएको दाबी गरेका छन्।

दाबी गरिएको उक्त सङ्ख्या सन् १९७९-८० मा अफगानिस्तानमा एक दशक चलेको युद्ध र सन् १९९४-२००० को दशकमा भएका दुई चेचेन युद्धको क्षति भन्दा धेरै हो।

रुसले भने अहिलेसम्म युक्रेनमा १ हजार ३ सयभन्दा धेरैको ज्यान गएको विवरण दिएको छ।

यसैबीच संयुक्त राष्ट्रसङ्घका अनुसार झण्डै डेढ करोड युक्रेनीहरू घर छाड्न बाध्य भएकामा ६८ लाखले देश नै छाडेर गएका छन्।