तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अस्ट्रेलियाः २०,००० वटा फुटबल मैदानजत्रो ठाउँमा फैलिएको छ संसारको सबैभन्दा ठूलो वनस्पति
- Author, टिफनी टर्न्बुल
- Role, बीबीसी न्यूज, सिड्नी
अस्ट्रेलियाको समुद्री तटनजिकै समुद्रमा फेला परेको एउटा घाँस अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो वनस्पति भएको पुष्टि भएको छ। उक्त समुद्री घाँस अमेरिकाको म्यान्हटन सहरको क्षेत्रफलको तीनगुना ठूलो ठाउँमा फैलिएको छ।
आनुवंशिक परीक्षणबाट वैज्ञानिकहरूले पश्चिमी अस्ट्रेलियाको समुद्रमा अवस्थित एउटा विशाल घाँसे मैदान वास्तवमा एउटै वनस्पतिबाट बनेको निर्क्योल गरेका हुन्।
एउटै बीजबाट उम्रिएर उक्त वनस्पति ४,५०० वर्षको अवधिमा फैलिएको वैज्ञानिकहरूको विश्वास छ।
उक्त घाँसले झन्डै २०० वर्ग किलोमिटर क्षेत्रफल ढाकेको यूनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले बताएका छन्।
वैज्ञानिकहरूको उक्त समूहले संयोगवश वनस्पतिको इतिहासबारे यस्तो तथ्य पत्ता लगाएका हुन्।
पर्थबाट झन्डै ८०० किलोमिटर उत्तरमा अवस्थित शार्क बेमा यो वनस्पति छ।
कसरी पत्ता लाग्यो
वैज्ञानिकहरूले "रिबन वीड" भनिने उक्त प्रजातिको घाँसको आनुवंशिक विविधता बुझ्ने योजना बनाएका थिए। त्यसका लागि उनीहरूले शार्क बेबाट हाँगाका नमुनाहरू सङ्कलन गरे।
यो घाँस अस्ट्रेलियाको समुद्री तटमा यत्रतत्र पाइन्छ।
प्रत्येक नमुनाको "फिङ्गरप्रिन्ट" बनाउन उनीहरूले १८,००० वटा आनुवंशिक चिह्न (जनेटिक मार्कर) को परीक्षण गरे।
उक्त घाँसे मैदानमा कतिवटा वनस्पति छन् भने पत्ता लगाउनु उनीहरूको उद्देश्य थियो।
"उत्तरले हामीलाई तीनछक्क पार्यो - त्यहाँ केवल एउटा थियो!" उक्त शोधकी प्रमुख लेखिका जेन एज्लोले भनिन्।
"एउटै वनस्पति शार्क बेमा १८० किलोमिटर परसम्म फैलिएको छ। त्यसैबाट यो पृथ्वीमा थाहा भएको सबैभन्दा ठूलो वनस्पति हो।"
के हुन् यसका विशेषता
दह्रिलोपनका लागि पनि यो वनस्पति परिचित छ।
यो उम्रिएको स्थानको अवस्थामा चरम हुन्छ र त्यो स्थिर रहँदैन।
"यो एकदमै ज्याद्रो हुन्छ। तापमान र नुनको विभिन्न मात्रा तथा एकदमै धेरै उज्यालो हुँदा अधिकांश वनस्पतिहरू एकदमै ठूलो तनावपूर्ण अवस्थामा हुन्छन्," अनुसन्धानकर्ता डा. एलिजाबेथ सिन्क्लेअरले भनिन्।
यो प्रजातिको घाँस प्रायः एक वर्षमा ३५ सेन्टिमिटर बढ्छ।
त्यसकै आधारमा वैज्ञानिकहरूले ४,५०० वर्ष बढ्दा यो वनस्पति अहिलेको आकारमा आइपुगेको अनुमान गरेका हुन्।
यसबारे वैज्ञानिक जर्नल 'प्रसीडिङ्स अफ द रोयल सोसाइटी बी' मा एउटा शोधपत्र प्रकाशित भएको छ।
यो पनि हेर्नुहोस्