तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन युद्ध: रुसी राष्ट्रपति पुटिनलाई जेलेन्स्कीसँग 'सीधा गम्भीर वार्ता' गर्न आग्रह, के भन्छ मस्को
फ्रान्स र जर्मनीका नेताहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनी राष्ट्रपतिसँग "सीधा गम्भीर वार्ता" गर्न आग्रह गरेको जर्मन चान्सलरको कार्यालयले जनाएको छ।
एमानुएल माक्रोँ र ओलाफ सोल्जले पुटिनसँग फोनमार्फत् ८० मिनेट कुराकानी गरेका थिए।
ती दुवै नेताले "तत्काल युद्धविराम र रुसी सेना फिर्ता गने विषयमा जोड दिएको" चान्सलरको कार्यालयले जनाएको छ।
यसअघि युक्रेनका राष्ट्रपतिले आफू वार्ताका लागि त्यति इच्छुक नभएको तर द्वन्द्व अन्त्य गर्न आवश्यक भएको टिप्पणी गरेका थिए।
रुसले के भन्यो?
क्रेम्लिनका अनुसार रुसी नेताले मस्को किएभसँग संवाद पुन: सुरु गर्न खुला रहेको बताएका थिए।
त्यसमा पुटिन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच सीधा वार्ताको सम्भावनाबारे केही उल्लेख गरिएको छैन।
फेब्रुअरी २४ मा रुसले अतिक्रमण गरेयता रुसी र युक्रेनी प्रतिनिधिमण्डलहरूले प्रत्यक्ष भेटेर तथा आआफ्नै ठाउँमा रहेर विभिन्न चरणमा वार्ता गरेका छन्।
तर ती प्रयासहरूले अवस्थामा सुधार ल्याउन सकेनन्।
अन्य आग्रह
फ्रान्स र जर्मनीले पुटिनलाई युक्रेनी सहर मारिऊपोलस्थित आजोभ्स्टाल स्टील उद्योगबाट युद्धबन्दी बनाइएका २,५०० युक्रेनी लडाकुहरूलाई छाड्न समेत आग्रह गरेका छन्।
रुसले निरन्तर गरेको बम आक्रमणमा परी उक्त विशाल कारखाना अहिले ध्वस्त भएको छ।
यसै महिनाको सुरुमा मस्कोका अधिकारीहरूले त्यहाँ प्रतिरोध गरिरहेका अन्तिम युक्रेनी लडाकुहरूले आत्मसमर्पण गरेको बताएका थिए।
यद्यपि राष्ट्रपति जेलेन्स्कीले उनीहरूलाई ठाउँ छाडेर अन्यत्र जान अनुमति दिइएको बताएका थिए।
रुसले यसअघि ९०० लडाकुलाई रुस अधीनस्थ डोनेस्ट्कमा बन्दीहरू राखिएको एउटा बस्तीमा सारिएको जनाएको थियो।
'खाद्य सङ्कट'
फोनवार्ताकै क्रममा फ्रान्सेली र जर्मन नेताहरूले पुटिनलाई ओडेसा बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाएर खाद्य आपूर्ति जारी राख्न दिन आग्रह गरेका थिए।
क्रेम्लिनको भनाइमा पुटिनले विश्वमा देखिएको खाद्य सङ्कटलाई सम्बोधन गर्न विकल्पहरूमा विचार गर्ने बताएका छन्।
तर उनले पश्चिमा विश्वले प्रतिबन्धहरू हटाउनुपर्ने माग राखेका छन्।
रुसले फ्रान्स र जर्मनीलाई युक्रेनलाई अस्त्र आपूर्ति बढाउने विषयमा चेतावनी दिंदै त्यसले अस्थिरतालाई थप बढाउने बताएको छ।
यो पनि हेर्नुहोस्