नेपाल मनसुन: '१७ लाख मानिस प्रभावित हुनसक्ने', कुन क्षेत्रमा बढी जोखिम छ

काठमाण्डूमा डुबान

तस्बिर स्रोत, NurPhoto via Getty Images

नेपालमा यसपालि मनसुनमा झन्डै १७ लाख मानिस प्रभावित हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बाढी, पहिरो, ठूलो र अविरल वर्षा तथा डुबानले देशका विभिन्न स्थानमा समस्या पर्न सक्ने सम्भावना देखिएको प्राधिकरणका एक अधिकारीले बताए।

यसपालिको मनसुनमा औसतदेखि अधिक वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तो प्रभाव खासगरी तराई क्षेत्रमा बढी पर्ने अनुमान गरिएको छ।

"हामीले प्रारम्भिक अनुमान गरेका हौँ। लगभग १७ लाख मानिस यो वर्षको मनसुनको प्रभावमा पर्न सक्ने हाम्रो अनुमान छ। त्यसैअनुसार हामीले सबै तहका सरकारलाई ध्यानाकर्षण गराएका छौँ," प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले भने।

मनसुनका बेला बाढी र पहिरोजस्ता विपद्बाहेक सर्पदंशका घटना समेत बढ्ने अधिकारीहरू बताउँछन्।

कहिले सुरु हुन्छ मनसुन?

बाढीले कटान गर्दा आएको पहिरो

तस्बिर स्रोत, RSS

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि जुन १३ तारिख (जेठ ३० गते) को छेकोमा मनसुन सुरु हुने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले यसपालि औसतदेखि औसतभन्दा बढी वर्षा हुने आकलन गरेका छन्।

"मनसुनको वर्षा सामान्य वा सामान्यभन्दा बढी रहे बाढीपहिरोको जोखिम रहन्छ। मनसुनअगावै पनि राम्रो वर्षा भइरहेको अवस्था छ," महाशाखामा वरिष्ठ मौसमविद्का रूपमा कार्यरत प्रतिभा मानन्धरले बताइन्।

मनसुनका बेला अधिकतम तापक्रम औसतभन्दा कम हुने देखिएको र न्यूनतम तापक्रम औसत र औसतभन्दा केही बढी हुने देखिएको उनको भनाइ छ।

"पानी चाहिँ पश्चिममा सामान्यभन्दा केही बढी हुने, मध्य भागमा सामान्य र सामान्यभन्दा केही बढी अनि पूर्वमा सामान्य रहने देखिन्छ," उनले भनिन्।

यो वर्ष मनसुन अक्टोबर महिनाको २ तारिख (असोज १६ गते) आसपासमा सकिने सम्भावना रहेको विज्ञहरूको अनुमान छ।

हावाहुरीको सम्भावना कति छ?

पहिरो

तस्बिर स्रोत, RSS

मनसुन सुरु हुनअगावै देशका विभिन्न भागमा वर्षाका साथै हावाहुरीको पनि प्रभाव देखिएको विवरणहरू सार्वजनिक भइरहेका छन्।

तर मनसुन सुरु भएपछि त्यस्तो समस्या कम हुने अधिकारीहरू बताउँछन्।

"प्री-मनसुन र मनसुनको वर्षा फरक प्रकृतिको हुन्छ। प्री मनसुनको वर्षा स्थानीय रूपमै विकसित हुन्छ। यो नेपाल र नेपालवरपरको प्रणालीबाट विकासित भएर पानी पर्ने हो। यसबाट बन्ने बादलमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीको सम्भावना धेरै हुन्छ," मानन्धरले भनिन्।

तर मनसुनको वर्षा भने समुद्रबाट बनेर आउने हुँदा तुलनात्मक रूपमा हावाहुरी, चट्याङ कम हुने उनले बताइन्।

विपद् व्यवस्थापन गर्न कस्तो तयारी?

बाढी

तस्बिर स्रोत, RSS

विभिन्न निकायसँग समन्वय गरी गरिएको प्रारम्भिक अनुमानका आधारमा पूर्वतयारी प्रतिकार्य योजना बनाउन सबै तहका सरकार अनि ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको भट्टराईले जानकारी दिएका छन्।

सङ्घीय सरकारले पनि प्रतिकार्य योजना तयार गरिरहेको र त्यो अन्तिम चरणमा पुगेको अधिकारीहरूको भनाइ छ।

त्यस्तै राहत अनि उद्धारका लागि सातै प्रदेशमा गोदामको व्यवस्था गरिएको, प्रदेश सरकारले पनि छुट्टाछुट्टै व्यवस्था गर्ने गरेको बताइएको छ।

विपद् व्यवस्थापनका लागि प्राधिकरणमा एक अर्ब रुपैयाँ बजेट छुट्ट्याएकाले यसपालि स्रोतसाधनकै कारण समस्या नहुने आफूहरूको बुझाइ रहेको भट्टराई बताँउछन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, मौसमसम्बन्धी एपबारे तपाईँले जानुपर्ने कुरा