तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरानको रेभलूशनरी गार्ड्सका कर्णेलको विरलै प्रकृतिको हत्या
निकै शक्तिशाली मानिने इरानको रेभलूशनरी गार्ड्सका एक कर्णेलको राजधानी तेहरानमा विरलै हुने प्रकृतिको हत्या गरिएको छ।
मोटरसाइकलमा सवार दुई व्यक्तिले आफ्नो निवासअगाडि कारमा रहेका सय्यद खोदाइमाथि पाँच पटक गोली प्रहार गरेको बताइएको छ।
हत्याको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।
इरानले भने अमेरिका र उसका साझेदार राष्ट्रहरूले हत्या गरेको आरोप लगाएको छ।
सुरक्षा त्रुटि
आइतवार भएको उक्त घटनामा संलग्न भएकाहरूको खोजी भइरहेको छ।
बीबीसीका मध्यपूर्वी क्षेत्रीय सम्पादकका अनुसार यो सन् २०२० मा इरानमा एकजना वरिष्ठ परमाणु ऊर्जा वैज्ञानिकको हत्यापछि भएको सबैभन्दा ठूलो सुरक्षा त्रुटि हो।
घटनास्थलका तस्बिरमा रगताम्य व्यक्ति सिटबेल्टसहित कारमा रहेको देखिन्छ।
कर्णेल खोदाइ रेभलूशनरी गार्ड्स अन्तर्गत गोप्य रूपमा काम गर्ने सैन्य निकाय कूड्स फोर्सका वरिष्ठ सदस्य थिए।
हत्याका शृङ्खला
अमेरिकाले उक्त सैन्य बलले आतङ्कवादी समूहलाई समर्थन गरेको र मध्यपूर्वमा भएका आक्रमणमा उसको हात रहेको आरोप लगाउँदै आएको छ।
पछिल्ला वर्षहरूमा मारिने कूड्स फोर्सका खोदाइ दोस्रो वरिष्ठ अधिकारी हुन्।
सन् २०२० मा इरानका सबैभन्दा शक्तिशाली कमान्डर कासिम सुलेमानी अमेरिकी हवाई हमलामा मारिएका थिए।
सन् २०२० मै परमाणु ऊर्जासम्बन्धी वरिष्ठ वैज्ञानिकको समेत तेहरानमा गोली हानेर हत्या गरिएको थियो।
इरानका लागि निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनी सधैँ सुरक्षाकर्मीहरूसँगै हुन्थे।इरानका सञ्चारमाध्यमहरूले स्रोतलाई उद्धृत गर्दै खोदाइ विश्वभरि इरानले गरेका कैयौँ आक्रमणका लागि जिम्मेवार रहेको जनाएका छन्।