दक्षिण कोरियाः मदिरालयबाट फर्किँदा ट्याक्सीचालकसँग झगडा गरेपछि दुई अमेरिकी गुप्तचर घर फिर्ता

दक्षिण कोरियामा "झगडा गरेपछि" त्यहाँ खटिएका अमेरिकी गुप्तचर सेवाका दुई कर्मचारीलाई विमानमा हालेर स्वदेश फिर्ता गरिएको छ।

उनीहरू अमेरिकी राष्ट्रपति जो बाइडनको दक्षिण कोरिया भ्रमणअघि सोल पठाइएको अगुवा टोलीका सदस्य थिए। अमेरिकी सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणअनुसार उनीहरू बिहीवार राति सोलको मदिरालयमा गएका थिए।

तीमध्ये एक जनाले एक स्थानीय ट्याक्सीचालकसँग हात हालाहाल गरेका थिए।

उक्त घटनामा कसैलाई पनि पक्राउ गरिएको थिएन। तर प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरेको थियो।

के भन्छ अमेरिकी गुप्तचर निकाय?

अमेरिकी गुप्तचर सेवा यूएस सिक्रिट सर्भिसका एक प्रवक्ताले एउटा विज्ञप्ति प्रकाशित गर्दै आफ्नो निकायलाई दुई कर्मचारी संलग्न उक्त घटनाबारे जानकारी रहेको र उनीहरूले सम्भवतः नीति उल्लङ्घन गरेको हुनसक्ने बताएका छन्।

एन्थनी गूल्एल्मीका अनुसार ती दुवै जनालाई "प्रशासनिक बिदा"मा पठाइएको छ र उनीहरूको अनुपस्थितिले बाइडनको भ्रमणमा कुनै प्रभाव पर्ने छैन।

चीन र उत्तर कोरियाले दिने धम्कीका कारण उत्पन्न चिन्ताका माझ बाडइन चारदिने एशिया भ्रमणमा निस्किएका छन्। उक्त भ्रमणको पहिलो चरणमा उनी दक्षिण कोरिया पुगेका हुन्।

सोल प्रहरीले के गर्‍यो?

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई स्रोतहरूले अमेरिका फिर्ता पठाइएका दुई गुप्तचरमध्ये एक जना स्पेशल एजेन्ट र अर्का सुरक्षा विशेषज्ञ भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति दक्षिण कोरियाको राजधानी आइपुग्नु एक घण्टा पनि बाँकी नहुँदा शुक्रवार अपराह्ण उनीहरूलाई घर फिर्ता पठाइएको थियो।

सीबीएसका अनुसार प्रशासनले घटनाका बारेमा नभई त्यतिबेला उनीहरू मातेका थिए कि थिएनन् भनेर छानबिन गर्ने छ।

ट्याक्सीचालकसँग कसरी झगडा सुरु भयो भन्ने स्पष्ट छैन।

उनीहरू राति घुमेर आफू बसेको होटलमा फर्किन लाग्दा झगडा परेको थियो।

स्थानीय प्रहरी, होटलका सुरक्षाकर्मी र अन्य दुई व्यक्ति पनि घटनामा संलग्न भएको बताइएको छ।

सोल प्रहरीले ती दुई अमेरिकी गुप्तचरमध्ये एक जनाबारे छानबिन गरेको र अरू व्यक्तिहरूसँग बयान लिएको थियो।

तर प्रहरीले त्यसपछि कसैलाई पनि पक्राउ नगर्ने र मुद्दा पनि नचलाउने निर्णय गरेको थियो।