नेपाल निर्वाचन: सुरुवाती सङ्केत कांग्रेसको पक्षमा ४० प्रतिशत पद, एमालेलाई कति घाटा?

तस्बिर स्रोत, RSS
मतदान भएको चौथो दिन मङ्गलवार अपरान्हसम्म निर्वाचन आयोगले पुष्टि गरेको मतगणनाको प्रारम्भिक विजय/पराजय तथा अग्रताको सङ्ख्याको आधारमा नेपाली कांग्रेसलाई सबभन्दा धेरै फाइदा पुगिरहेको देखिएको छ।
नेकपा एमालेलाई निकै घाटा भएको देखिन्छ भने नेकपा माओवादी केन्द्रलाई थोरैमात्रै फाइदा पुगेको देखिन्छ।
देशभर ७५३ स्थानीय तहहरूमा मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यहरू गरि ३५ हजारभन्दा धेरै पद छन्।
के भन्छ सङ्ख्याले?
यसभन्दा अगाडि २०७४ सालमा भएको स्थानीय तह चुनावमा नेकपा एमालेले सर्वाधिक १४,१०० पदमा जितेको थियो जुन ४०% हुन आउँछ।
नेपाली कांग्रेस ११,४५६ पदसहित ३२.६% मा विजयी भएको थियो भने नेकपा माओवादी ५,४४० पदसहित १५.५% मा विजयी भएको थियो।
अब २०७९ को स्थानीय चुनावको अहिलेसम्म पुष्टि भएका परिणाम वा अग्रता नियालौँ।
निर्वाचन आयोगले मङ्गलवार अपरान्हसम्म दिएको विवरणबमोजिम ३५ हजारमध्ये २२ हजारभन्दा केही बढी पदको मतगणना या त सम्पन्न भइसक्यो या भइरहेको छ।
तीमध्ये हालसम्म नेपाली कांग्रेसले विजय प्राप्त गरेको तथा अग्रस्थानमा रहेको पद समेत जोड्दा ८,९३८ वा करिब ४०% हुन आउँछ।

तस्बिर स्रोत, RSS
नेकपा एमालेको हकमा उक्त आँकडा ७,४२५ पद वा करिब ३३% छ भने नेकपा माओवादी केन्द्रको हकमा उक्त आँकडा ३,६२५ पद वा १६.२% छ।
एमालेबाट टुक्रिएको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म जितेको र अगाडि रहेको आँकडा ६०३ पद वा २.७% रहेको छ।
अर्थात् सुरुवाती सङ्केतले अघिल्लो चुनावको तुलनामा यसपाली कांग्रेसको पक्षमा पासा पल्टिएको देखाउँछ।
के भन्छन् नेताहरू?
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रारम्भिक नतिजा आफ्नो दलको पक्षमा आउनु स्वाभाविक भएको प्रतिक्रिया दिएका छन्।
"चुनाव अगाडि कांग्रेसले गरेको घरघर जाउँ अभियानदेखि लिएर कोभिड व्यवस्थापनमा सरकारको भूमिका अनि तालमेलले यो परिणाम दिएको छ," उनले भने। तर प्राथमिक कारण पार्टीको बलबुता नै भएको पनि उनले बताए।
तर कांग्रेससँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका नेताहरू प्रारम्भिक मतपरिणामबाट त्यति सन्तुष्ट सुनिएका छैनन्।
माओवादीका नेता हरिबोल गजुरेल त यतिको नतिजा गठबन्धन नगरेको भएपनि आउने ठान्छन्।
७५३ स्थानीय तहका ३५,००० भन्दा धेरै पद
१४,१०० नेकपा एमाले (४०%)
११,४५६ नेपाली कांग्रेस (३२.६%)
५,४४० नेकपा माओवादी (१५.५%)
"गठबन्धन भनेर भनियो तर मैदानमा त्यो देखिएन। सहमति पालना भएको पाइएन। त्यसकारण हामीले सोचेको जस्तो भएन," उनले बीबीसीसँग भने। कतिपय पालिकाहरूमा बरु गठबन्धन नगरेको भए आफूहरूले जित्ने अवस्था रहेको उनले बताए।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मङ्गलवार एक सार्वजनिक कार्यक्रममा बोल्दै निर्वाचन र गठबन्धनको समीक्षा गरिने बताए।
"अहिलेसम्मको परिणाम हाम्रो पार्टीले प्राप्त गर्नु पर्ने जति छैन (होला)," उनले भने।
सोही पार्टीका नेता मुकुन्द न्यौपानेले बीबीसीसँग कुरा गर्दै निर्वाचन परिणाम एउटा पाठ भएको बताए।
"कम्युनिस्टहरू सच्चिनु पर्छ भनेर जनताले पाठ सिकाइरहेका छन्," न्यौपानेले भने।
नेकपा एमालेको बुझाइ चाहिँ कस्तो?
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सत्ताधारी पाँच दलीय गठबन्धनका कारण चुनावी मैदानमा एक्लिएको देखिएको थियो।

तस्बिर स्रोत, RSS
त्यसैले अहिलेको परिणामलाई उक्त दलले धेरै स्वाभाविक नठानेको एमालेका नेता अमृतकुमार बोहोराले बताए।
"यसलाई धेरै स्वाभाविक मानेका छैनौँ। हाम्रो जनमत र आधार बिग्रिएको थिएन। तर एउटा गठबन्धन बनेको कारण अनि अर्को सत्ता र प्रशासनको चरम दुरुपयोगका कारण यस्तो भएको हो," उनले भने।
"जति मत एमालेको पक्षमा आएको छ त्यो एउटा उपलब्धि मानेका छौँ र यसबाट राम्रो पाठ सिकेका छौँ।"
आफूबाट टुक्रिएर गएको दलले २-३% पदमा जित्ने छाँटकाँट देखिनुलाई उनले गठबन्धनका कारण भएको तर्क दिए।
अन्तिम नतिजा आइसक्न अझै कैयन् दिन लाग्न सक्छ। त्यसपछि मात्रै गठबन्धनको सार्थकताबारे सत्ताधारी दलहरूले अन्तिम निचोड निकाल्ने ठानिएको छ।








