तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड: के उत्तर कोरियामा हालैमात्र कोरोना भाइरस देखिएको हो?
कोभिड-१९ सँग वर्षौँ सङ्घर्ष गरेपछि विश्वका धेरै राष्ट्रले अहिले कोरोनाभाइरससम्बन्धी प्रतिबन्धहरू हटाएर झन्डै सामान्य अवस्थामा फर्किएका छन्। तर उत्तर कोरियाले भने पहिलो पटक यो महामारीको अनुभव भोग्न लागेको बताएको छ।
वर्षौँसम्म कुनै सङ्क्रमण नभएको बताएको यो अधिनायकवादी शासन रहेको राष्ट्रले मे १६ मा राज्यनियन्त्रित सञ्चारमाध्यमले ज्वरोका कारण ठूलो सङ्ख्यामा मानिसहरू बिरामी परेको बताएको छ।
त्यहाँको कमजोर परीक्षण प्रणाली र विवरणहरू सार्वजनिक नगर्ने नीतिका कारण त्यहाँ सङ्क्रमणको सङ्ख्या सार्वजनिक गरिएभन्दा निकै बढी हुनसक्ने आकलन गरिएको छ।
उत्तर कोरियामा के भइरहेको छ भने निश्चित गर्न सहज छैन तर अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमणका बारेमा जानकारीमा आएका कुराहरू यस्ता छन्:
कोभिडले उत्तर कोरियामा कति जनाको निधन भएको छ?
विश्वभर सन् २०२० मा महामारी फैलिएयता एक करोड ५० लाख मानिसहरूको निधन भएको छ।
तर उत्तर कोरियाले पहिलो मृत्यु मे १३ मा घोषणा गरेको थियो।
अन्यत्र महामारी फैलिएको साढे दुई वर्षसम्म प्योङ्याङले सीमा पूरै बन्द गर्ने निर्णयका कारण त्यहाँ कुनै सङ्क्रमण नभएको दाबी गरिरह्यो।
राज्यनियन्त्रित सञ्चारमाध्यमले अहिले त्यहाँ 'ज्वरो'का कारण ५० जनाको मृत्यु भएको जनाएको छ तर तीमध्ये कति जना कोभिड परीक्षणमा पोजिटिभ देखिएका थिए भन्ने स्पष्ट छैन।
सङ्क्रमित कति जना छन्?
मे १६ मा राज्यनियन्त्रित सञ्चारमाध्यमले १० लाखभन्दा बढी मानिस बिरामी भएको बताएको छ। तर त्यसको तीन दिन मात्रै अगाडि त्यो सङ्ख्या १८७,००० भनिएको थियो।
पहिलो सङ्क्रमण मे १२ मा मात्रै सार्वजनिक गरिएको थियो।
अधिकारीहरूले त्यो बेला राजधानीमा ओमिक्रोन भेरिअन्ट फैलिएको बताउँदै प्योङ्याङले प्रतिबन्धात्मक व्यवस्थाहरू गरेको बताएका थिए। पछि भने केसीएनएले सङ्क्रमण राजधानी बाहिर पनि फैलिएको बतायो।
विज्ञहरूले भने कोरोनाभाइरस त्योभन्दा अगाडिदेखि नै फैलिरहेको हुनसक्ने आकलन गरेका छन्।
उत्तर कोरियाको सीमा चीन र दक्षिण कोरियासँग जोडिएको छ र दुवै देशमा हालै पुनः सङ्क्रमण बढेको देखिएको छ। चीनले ठूला सहरहरूमा कडा प्रतिबन्ध पनि लगाएको छ।
बीबीसीका दक्षिण कोरिया संवाददाता जीन मेकेन्जीले सार्वजनिक विवरणहरू उत्तर कोरियाको बदलिएको नीतिको नतिजा हुनसक्ने बताएका छन्।
"उत्तर कोरियाले दैनिक सङ्क्रमण र मृत्यु सार्वजनिक गर्न थाल्नु उसलाई सहयोग आवश्यक परेको सङ्केतको रूपमा हेर्न सकिन्छ।"
नेता किम जङ-अन हालै पहिलो पटक मास्क लगाएर देखा पर्नु अर्को सङ्केत हुनसक्छ।
खोपको अवस्था के छ?
उत्तर कोरियाले यसअघि अन्तर्राष्ट्रिय समुदायले खोप सहयोग दिने इच्छा देखाउँदा अस्वीकार गरेको थियो। सन् २०२० को ज्यानुअरीमै सीमा बन्द गरेर उसले भाइरसलाई पूर्ण नियन्त्रण गर्न सक्ने अपेक्षा गरेको थियो।
तर मे १४ मा उत्तर कोरियाली नेता किमले सङ्क्रमणलाई "ठूलो विपत्ति" भने।
"सङ्क्रामक महामारी फैलिनु हाम्रो राष्ट्र बनेयताकै [सबैभन्दा ठूलो] विपत्ति हो," केसीएनएको सामग्रीमा किमको भनाइ यस्तो छ।
उत्तर कोरियाली मिथ्या सूचना विज्ञ एलिस्टेअर कोलम्यानले खोपको सहयोग अस्वीकार गर्नुको कारण स्पष्ट नभएको बताए।
उनी "केही स्रोतले कम प्रभावकारी खोपको तुलनामा उनीहरूले बढी प्रभावकारी एमआरएनए खोप चाहेको" बताउँछन्।
"अर्को कुरा भनेको विदेशी सहयोग उनीहरूले नचाहेको सर्तसहित आउँछ भन्ने हो।"
उत्तर कोरियाका शक्तिशाली व्यक्तिहरूले भने खोप लगाएको हल्ला भने चलेको छ।
उत्तर कोरियाको स्वास्थ्य प्रणालीले कोभिडसँग जुझ्न सक्छ?
सन् २०२० देखि उत्तर कोरियाले भाइरस पसेको अस्वीकार गर्नु नै आफ्नो नीति बनाएको कोलम्यान बताउँछन्।
"उनीहरूले सीमा बन्द गरे र सङ्क्रमण रोक्न रेल स्टेसन, विद्यालय र अस्पतालमा स्प्रे छर्कनेजस्ता स्वास्थ्य सावधानीका उपायहरूबारे गरे," उनी भन्छन्।
"अन्य कुराजस्तै यसलाई पनि उत्तर कोरियाले बाह्य शत्रुसँगको युद्धका रूपमा प्रतिबिम्बित गर्यो।"
वास्तविकतामा भने उत्तर कोरिया कोभिडसँग लड्न योभन्दा कम तयार हुनै सक्दैन।
कोभिडअगाडि नै उत्तर कोरियाको आर्थिक अवस्था कमजोर थियो। दुई वर्ष सीमा बन्द हुँदा त्यो झनै कमजोर बन्यो। विश्व खाद्य सङ्गठनले उत्तर कोरियाका दुई करोड ५० लाख जनसङ्ख्यामध्ये एक करोड १० लाख मानिस कुपोषित रहेको बताउँछ।
"स्वास्थ्य प्रणाली सधैँ कमजोर छ," उत्तर कोरिया निगरानी गर्ने गैरसरकारी संस्था लुमेनका संस्थापक जीअन बाएक भन्छन्।
"राजधानीमा बस्ने २० लाख मानिसबाहेक अन्य जनसङ्ख्या धेरै कम गुणस्तरको स्वास्थ्य सेवामा मात्रै पहुँच राख्छन्।"
उत्तर कोरियाबाट भागेर बाहिरिएका मानिसहरूले यसअघि एउटै सुई दोहर्याएर लगाउनु पर्ने तथा बिअरका बोटलहरूमा सलाइन पानी राख्नुपर्ने अवस्था भएको बताएका थिए।
खोप नपाएको जनसङ्ख्याका साथै त्यहाँ औषधि र पीपीईको पनि अभाव छ। परीक्षण सीमित छ। अहिलेसम्म त्यहाँ ६४ हजार परीक्षण मात्रै भएको छ।