तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचनः मधेशका जिल्लामा जे देखियो - स्थानीय तह चुनावको प्रचारप्रसारमा 'डीजे सङ्गीत'
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली, वीरगन्ज
स्थानीय तह निर्वाचनका लागि प्रचारप्रसार गर्न दिइएको समयसीमा सकिएर मध्यरातदेखि मौन अवधि सुरु भएको छ।
प्रचारप्रसार गर्ने क्रममा राजनीतिक दल तथा उम्मेदवारहरूले विभिन्न शैली तथा माध्यम प्रयोग गरेको देखिएको थियो।
कतिपय दल र तिनका उम्मेदवारले चुनावी गीतहरू बनाउन लगाएर प्रचार गर्ने गरेका थिए भने कतिपयले लाउडस्पीकरमार्फत् नारा घन्काएका थिए। तर त्यो क्रम मध्यरातदेखि बन्द भएको छ।
मधेश प्रदेशका जिल्लाहरूमा हिमाली तथा पहाडी क्षेत्रमा भन्दा अलि भिन्न तरिकाले चुनावी प्रचार गरेको पाइन्छ।
पिकअप गाडी र अटोरिक्सामा बिहानैदेखि 'डीजे सङ्गीत' घन्काउन सुरु भएर रातिसम्म त्यो क्रम जारी रहने गरेको थियो।
उम्मेदवार र दलको प्रशंसा गरिएको डीजे सङ्गीत ठूलो स्वरमा बजाउँदै गाडीमा सवार समर्थक तथा कार्यकर्ताहरू नृत्य नाचेको देखिन्थ्यो।
चुनावी गीतका लागि दल तिनका उम्मेदवारले स्थनीय गायकहरूको प्रयोग गरेका थिए।
मतदाता के भन्छन्?
मतदाताहरूका अनुसार यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावका बेला अहिलेको जस्तो डीजे सङ्गीतको प्रयोग भएको थिएन।
"हल्काफुल्का प्रयोग त भएको थियो, तर अहिलेको जस्तो अचाक्ली भएको थिएन," झौवा, पर्साका शिवकुमार साह स्मरण गर्छन्। उनी शिक्षक हुन्।
तर चुनावी प्रचारप्रसारका लागि चर्को स्वरमा बेलाकुबेला डीजे सङ्गीत बजाउनुको खासै औचित्य मतदाताले देखेका छैनन्।
"लोकतन्त्रमा आवधिक चुनावको महत्त्व के हुन्छ, जितेर के परिवर्तन ल्याउन खोजेको हो भन्नेबारे मतदातालाई बुझाउनुको साटो यी र यस्ता अनावश्यक कुरामा ऊर्जा खर्च गरेको देखिन्छ," साहले भने।
प्रभावकारी हुनेभन्दा पनि एउटा पार्टी अथवा उम्मेदवारले बजाएपछि लहैलहैमा अरू प्रतिस्पर्धीहरूले पनि बजाउने गरेको उनी बताउँछन्।
उम्मेदवार के भन्छन्?
जानकारहरूका अनुसार चुनावी प्रचारका लागि डीजेले बजाउने गीतसङ्गीत राजनीतिक दल तथा उम्मेदवारका लागि सहज विकल्प भएको देखिन्छ।
"पहिलापहिला प्रचारप्रसार गर्नेहरू माइकमा कराउँदै हिँड्नुपर्थ्यो, अहिले डीजे बजाउँदै हिँड्यो - सजिलो भएको छ," वीरगन्जस्थित संस्कृतिविद् उमाशङ्कर द्विवेदीले भने।
त्यसमा कतिपय उम्मेदवार पनि धेरै हदसम्म सहमत देखिन्छन्।
"यो डीजे सङ्गीत चाहिँ लेखपढ गर्न नजान्ने मतदाताहरूलाई पटकपटक सुनाएर सुसूचित गर्न सकिन्छ कि भन्ने हो," वडाध्यक्षका एक उम्मेदवारले बीबीसीसँग भने।
उनका अनुसार डीजे सङ्गीतको बीचबीचमा उम्मेदवारका मुद्दा प्राथमिकता लगायतका विषय समेटेको भए र खासखास समयमा बजाउन पाउने भए राम्रो हुन्थ्यो।
यद्यपि डीजे सङ्गीतले नकारात्मक प्रभाव परेको कुरा उनी पनि स्वीकार्छन्।
"घरमा पढिरहेका विद्यार्थीहरूलाई होहल्लाले असर पारिरहेको हुन्छ, चर्को स्वरले बूढापाकालाई गाह्रो पारिरहेको हुन्छ," उनले भने।
संस्कृतिविद् के भन्छन्?
पछिल्ला वर्षमा मधेशमा बिहेबारीमा पनि डीजे सङ्गीत बजाउने प्रचलन बढ्दो छ।
संस्कृतिविद् उमाशङ्कर द्विवेदीका अनुसार केही प्रभाव पर्ने देखेरै उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा डीजे सङ्गीतको प्रयोग गरेका हुनसक्छन्।
"गाउँमा कम पढेलेखेका मानिस छन्। कतिपयले 'ए फलानोलाई जिताउनुपर्छ भन्दै गीत पो बज्यो' भन्ने कुरा सुनेको छु। त्यो भएर त्यसको केही प्रभाव पर्छ कि जस्तो लाग्छ," बीबीसीसँग उनले भने।
चुनावी प्रचारप्रसारमा प्रयोग भएको डीजे सङ्गीतको नकारात्मक पाटो रहेको द्विवेदी पनि औँल्याउँछन्।
"सबैभन्दा नकारात्मक पाटो भनेको त त्यसले निम्त्याएको ध्वनि प्रदूषण नै हो। बिहानैदेखि रातिसम्म हल्ला हुने भएर राम्रोसँग सुत्न पनि पाइएको छैन," उनले थपे।
गायक के भन्छन्?
पर्सास्थित भोजपुरी भाषाका एक चर्चित गायक सुनिल पण्डित चुनावी प्रचारमा डीजेको प्रयोगप्रति सन्तुष्ट देखिँदैनन्।
आफूले मधेशमा मुख्य प्रतिस्पर्धामा रहेका लगभग सबै दलका नगरप्रमुख तथा वडाध्यक्ष पदका उम्मेदवारका लागि चुनावी गीत गाएको उनले बताए।
"डीजेका लागि त मैले कतै स्वर नै दिएको छैन। त्यसमा गीतको पनि खासै मर्म हुँदैन," बीबीसीसँग पण्डितले भने।
उम्मेदवारले "थीम" दिएपछि सोहीअनुसार आफूहरूले सन्देशमूलक गीत बनाएर रेकर्ड गर्ने गरेको उनले बताए।
"छविसँग जोडिएको पनि विषय हो। जस्तो पायो त्यस्तो गीत बनाउने र गाउने कुरा पनि भएन।"
उनका अनुसार नगरप्रमुख र वडाध्यक्षका लागि गाइने गीतका शब्दमा केही भिन्नता हुने गरेको छ।
यो पनि हेर्नुहोस्