नेपाल निर्वाचन: राजाधानीमा सत्ता गठबन्धनको चुनावी सभा, चुनावपछि पनि गठबन्धनले निरन्तरता पाउने दावी

सत्ताधारी गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूले स्थानीय तहको चुनावपछि पनि गठबन्धनले निरन्तरता पाउने दाबी गरेका छन्।

आफ्ना उम्मेदवारको पक्षमा समर्थन जुटाउन पूर्वी र मध्य तराईका जिल्लाहरूमा सम्बोधन गरिसकेका शीर्ष नेताहरूले शुक्रवार राजधानीमा चुनावी सभामा आफ्ना धारणा राखेका थिए।

गठबन्धनका नेताहरूले राजधानीको चुनावी सभामा सम्बोधन गरिरहँदा विपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले रौतहटको चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनकै नेताहरुको आलोचना गरेका छन्।

ओलीले गठबन्धनले निरन्तरता पाउने सत्ताधारी दलका नेताहरूको दाबीमा अविश्वास समेत व्यक्त गरे।

राजधानी काठमाण्डूको भृकुटीमण्डपमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरूले गठबन्धनको निरन्तरतामा जोड दिएका थिए।

वामपन्थी र लोकतान्त्रिक शक्तिहरूबिचको सहकार्यबाट मात्र नेपालमा ठूला परिवर्तनहरू सम्भव भएको भन्दै उनीहरूले गठबन्धनको प्रतिरक्षा गरेका छन्।

कसले के भने?

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले विकसित देशमा पनि गठबन्धनको अभ्यास रहेको भन्दै नेपालको राजनीतिक प्रणालीमा गठबन्धन अपरिहार्य रहेको बताए।

"दुई जना महिलाले राम्रो ठाउँमा टिकट पाएका छन्। उनीहरूले हारे राष्ट्रिय, अन्तर्राष्ट्रिय जगत्‌ले के भन्ला?" गठबन्धनले देशका दुई महानगरको प्रमुख पदमा उठाएका महिला उम्मेदवारहरूका बारेमा बोल्दै देउवाले भने।

"हुन त सतीले सरापेको देश भन्छन् तर मलाई विश्वास छ दुवै महिलाले जित्नुहुनेछ।"

राजनीतिक विरासतका आधारमा गठबन्धनका उम्मेदवारमाथि भएको आलोचनाको खण्डन गर्दै उनले कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती भएका आधारमा कांग्रेस उम्मेदवारमाथि आलोचना गर्न नहुने धारणा अघि सारे।

"प्रकाशमानको श्रीमती हुनु उहाँको हातमा थिएन, बाबुआमाले विवाह गर्दिहाले। यो उहाँको दोष हो?" देउवाले भने।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र कम्युनिस्ट पार्टीबिचको एकताकै बलमा नेपालमा ठूला परिवर्तनहरू सफल भएको बताए।

अघिल्लो आम निर्वाचनमा वामपन्थी शक्तिहरू मिल्दा भोट साटफेरमा सजिलो ने ठानेर आफूले वाम गठबन्धन गरेको प्रष्टीकरण प्रचण्डले काठमाण्डूको सभामा पनि दोहोर्‍याए।

"वाम गठबन्धन गरेर विकास तिर लाने, समृद्धिको नयाँ युगतिर लाने जुन सपना थियो तीन वर्ष नपुग्दै चकनाचुर भयो। तपाईँहरूले त तीन वर्षपछि मात्रै देख्नुभयो हामीले त एकता भएको दुई हप्ताबाटै धोका, बेइमानी र विश्वासघात बाहेक केही देखेनौँ।"

काठमाण्डूलाई नयाँ सहर बनाउने गठबन्धनको प्रतिबद्धता रहेको भन्दै प्रचण्डले काठमाण्डूलाई हराभरा र सुशासनबाट सज्जित बनाउन सके संसारकै सभ्य र सुसंस्कृत राजधानीको रूपमा उभ्याउन सकिने बताए।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विगतमा पनि प्रतिगमन विरुद्ध कम्युनिस्ट र कांग्रेस शक्तिहरूले गठबन्धन गरेको बताए।

"संविधान बनायौँ, गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ र समाजवादको दिशामा अघि बढ्ने सङ्कल्प पनि गर्‍यौँ," उनले भने।

वि सं २०१७ सालमा महेन्द्रले बहुदलमा प्रतिबन्ध लगाएपछि कांग्रेसका बिपी कोइराला र कम्युनिस्ट पार्टीका नेता पुष्पलाल दुवै जना बनारसमा पुगेर सहकार्य गरेको नेपालको भनाई थियो।

फिलिपिन्सको नगर विकासको प्रारूप र भारतको मुम्बईको फोहोर व्यवस्थापनबारे चर्चा गर्दै नेपालले काठमाण्डूलाई पनि सुन्दर सहरको रूपमा विकास गर्न सकिने बताए।

जनतालाई धम्क्याएर भोट मागियो: ओली

सत्ताधारी गठबन्धनका नेताहरूले राजधानी काठमाण्डूको चुनावी सभामा सम्बोधन गरिरहँदा विपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले रौतहटमा दुई वटा छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गरेका थिए।

उनले गठबन्धनका नेताहरूले जनतालाई "धम्क्याएर भोट मागेको" आरोप लगाए।

"दुर्घटना हुन्छ अरे नेपालमा," माओवादी अध्यक्ष प्रचण्डले विहीबार चितवनमा गरेका भाषणप्रति ओलीको टिप्पणी थियो।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृह जिल्ला रौतहटमा ओलीले आफ्नो सम्बोधनको लामो समय नेपालको आलोचनामा खर्चिएका थिए।

उनले बिहीवार धनगढीमा बोल्दै चुनावपश्चात् गठबन विनाश हुने बताएका थिए।