तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दक्षिण कोरियाः उत्तर कोरियाली जासुसलाई गोप्य सैन्य सूचना बेचेको आरोपमा दुई जना पक्राउ
- Author, जुबैदाह अब्दुल जलिल र फ्रान्सिस माओ
- Role, बीबीसी न्यूज
एक सन्दिग्ध उत्तर कोरियाली गुप्तचरलाई देशको गुप्त सैन्य सूचना उपलब्ध गराएको आशङ्कामा दुई जनालाई दक्षिण कोरियाको प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमध्ये एक सैन्य अधिकारी छन् भने अर्का व्यक्ति क्रिप्टोकरेन्सी सटहीका प्रमुख कार्यकारी हुन्।
उनीहरूलाई दक्षिण कोरियाली संयुक्त सैन्य कमान्डको 'लग इन' विवरण चुहाएको आरोप लागेको छ। उक्त विवरण दिएबापत उनीहरूले ठूलो रकम लिएको आरोप छ।
सन् १९५० देखि १९५३ सम्म चलेको युद्धपछि उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध तनावपूर्ण छ।
"एक उत्तर कोरियाली गुप्तचरको निर्देशनबमोजिम एक सेवारत अधिकारी र अर्का गैरसैनिक व्यक्तिले मिलोमतो गरी गुप्त सैन्य जानकारीको जासुसी गरेको यो नै पत्ता लागेको पहिलो घटना हो," प्रहरीले भनेको छ।
घडी र यूएसबी उपकरणको सहायता
क्यामराजडित घडी र एउटा यूएसबी उपकरणको सहायतामा ती विदेशी जासुसलाई गत ज्यानुअरी र मार्चबीच सैन्य सूचना उपलब्ध गराइएको दाबी गरिएको छ।
दुवै आरोपितहरू एप्रिलको सुरुमै पक्राउ परेका थिए। उत्तर कोरियाली जासुस भनिएका व्यक्ति को हुन् र कहाँ छन् भन्नेबारे केही खुलाइएको छैन।
दक्षिण कोरियाली अभियोजनकर्ताहरूले भर्चूअल मुद्रासम्बन्धी कार्यालयका प्रमुखको नाम ली भएको र सैन्य अधिकारीको नाम क्याप्टेन बी भएको मङ्गलवार सार्वजनिक गरेका छन्। उनीहरूबारे थप विवरण सार्वजनिक गरिएको छैन।
दुवै जनालाई राष्ट्रिय सुरक्षा कानुनको उल्लङ्घन गरेको आरोप लगाइएको छ।
अधिकारीहरूले ती क्रिप्टोकरेन्सी व्यवसायीलाई गत वर्षको जुलाईमा सम्पर्क गरिएको र "एक जना काममा खटाइएका सक्रिय अधिकारी भर्ना गरेर गोप्य सैन्य कुराको अनुसन्धान गर्न" भनिएको आरोप लगाएका छन्।
त्यसको अर्को महिना ती व्यवसायी क्याप्टेन बी भनिएका सैन्य अधिकारीको सम्पर्कमा पुगेको दाबी गरिएको छ। उनले उत्तर कोरियाली जासुसको निर्देशनमा ती व्यवसायीले सैन्य अधिकारीलाई गोप्य सैन्य सूचनाको बदला बिटकोइन दिने वाचा गरेको आरोप छ।
प्रहरीले ती सैन्य अधिकारीले व्यवसायीको प्रस्ताव स्वीकार गर्दै उक्त कारबाहीमा सहभागी भएको र सूचनाहरूमा पहुँच दिएको आरोप लगाएको छ।
ज्यानुअरी महिनामा ली भनिएका व्यवसायीले हेर्दा घडीजस्तो देखिने क्यामरा किनेको र कुरियरमार्फत् क्याप्टेन बी भनिएका सैन्य अधिकारीलाई पठाएको बताइएको छ। ती अधिकारीले आफू कार्यरत सैन्य शिविरमा उक्त घडी ल्याउन सफल भएको योन्हाप न्यूज एजेन्सीले जनाएको छ।
लीले त्यसपछि 'पोइजन ट्याप' भनिने ह्याकिङ उपकरण खरिद गरेको र त्यसमार्फत् उत्तर कोरियाली जासुसलाई दक्षिण कोरियाली सैन्य अधिकारीको ल्यापटपमा पहुँच दिएको बताइएको छ।
हजारौँ डलरबराबरको भर्चूअल मुद्रा
प्रहरीले उक्त उपकरणको सहायतामा दक्षिण कोरियाली संयुक्त फौजको अनलाइन प्रणालीको पासवर्डसहितका विवरण र नियन्त्रण प्रणालीमा ती जासुसले पहुँच स्थापित गरेको बताएको छ।
अरू कस्ता प्रकारका सूचनाहरूमा पहुँच दिइयो भन्ने अझै स्पष्ट हुन सकेको छैन।
ती सैन्य अधिकारीलाई ४.८ करोड वन (अर्थात् ३७,००० अमेरिकी डलर ) बराबरको बिटकोइन दिइएको र व्यवसायी लीलाई ७० करोड वन बराबरको भर्चुअल मुद्रा दिइएको अभियोजनकर्ताहरूले बताएका छन्।
प्रहरीले उनीहरूको गतिविधिबारे आफूहरूलाई फेब्रुअरीमै सूचना आएको बताएको छ। अधिकारीहरूले ली नामका व्यवसायीलाई एप्रिल २ मा र ती सैन्य अधिकारीलाई एप्रिल १५ मा पक्राउ परेका थिए।
प्रहरी अधिकारीहरूले आरोपितहरूको बयान र टेलिग्राममा भएका संवादले यो काममा मुख्य योजनाकार जासुसको पहिचान उत्तर कोरियाली भएको अनुमान गरेका छन्।
उनीहरूले ली र सैन्य अधिकारी पक्राउ परेपछि सूचनाको चुहावट रोकिएको बताएका छन्।
प्रहरीका अनुसार ती क्रिप्टोकरेन्सी व्यवसायीले अर्को एक सैन्य अधिकारीलाई पनि सम्पर्क गरेका थिए। तर ती अधिकारीले अग्रिम भुक्तानी अस्वीकार गरेको बताइएको छ।
अधिकारीहरूले ली र सैन्य अधिकारीहरूबीच सम्पर्क स्थापित गर्न भूमिका खेलेका अर्को एक व्यक्तिबारे अनुसन्धान भइरहेको बताएका छन्।
यो पनि हेर्नुहोस्