तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन युद्ध: कसरी टिकटकमा मिथ्या भिडिओलाई लाखौँले हेरिरहेका छन्
- Author, शायन सर्दारिजादेह
- Role, बीबीसी मोनिटरिङ
लाखौँ मानिससम्म पुग्ने युक्रेन युद्धसम्बन्धी भ्रामक भिडिओहरू प्रचारका लागि टिकटक अग्रणी माध्यमको रूपमा देखा परेको छ।
एक अर्बभन्दा बढी प्रयोगकर्ता रहेको टिकटकमा आधाभन्दा बढी ३० वर्ष मुनिका मानिस छन्।
यही माध्यममार्फत थुप्रै युवाहरूले युक्रेनको घटनाक्रमबारे जानकारी पाइरहेका छन्।
टिकटक स्वयं भने भ्रामक जानकारीहरूको प्रवाह रोक्न सङ्घर्ष गरिरहेको छ।
टिकटकमा शङ्कास्पद सामग्री फेला पार्न धेरै मिहेनत गर्नै पर्दैन।
मिथ्या सूचनाबारे निगरानी गर्ने न्यूजगार्डले गरेको अनुसन्धानमा नयाँ प्रयोगकर्ताले यस माध्यममा खाता खोलेको ४० मिनेटभित्रै युक्रेन युद्धका बारेमा गलत सामग्री देख्छन्।
फेसबुक, इन्स्टाग्राम र ट्विटरजस्ता सामाजिक सञ्जालहरूले भने युद्धको बारेमा गलत वा भ्रामक भिडिओहरूलाई रोक्नै आएको छ। टिकटकले त्यसो गरेको छैन।
सञ्चालक कम्पनीले भने एपमा मिथ्या सूचनाविरुद्ध लड्न आफ्नो प्रयास तीव्र बनाएको दाबी गर्छ।
यहाँ बीबीसीले टिकटकमा पहिचान गरेको आम श्रेणीका भ्रामक सामग्रीहरूबारे चर्चा गरिएको छ।
नक्कली प्रत्यक्ष प्रसारणहरू
युद्धको सुरुवाती दिनदेखि नै टिकटकमा हुने नक्कली प्रत्यक्ष प्रसारणमा सर्वाधिक दर्शक आकर्षित भएका छन्।
यसको तरिका सरल छ: केही प्रयोगकर्ताले द्वन्द्व वा सैन्य अभ्यासबारे नाटकीय भिडिओ फेला पार्छन्।
त्यसमा उनीहरूले ठूला विस्फोट वा तीव्र गोलाबारी भएजस्तो आवाज संयोजन गर्छन् र त्यस भिडिओ प्रसारण गर्छन्।
जब भिडिओ हेर्न ठूलो जमात जम्मा हुन्छ तब प्रसारकले आफ्नो च्यानलका निम्ति सहयोग भन्दै रकम माग्न सुरु गर्छन्।
गत मार्चको मध्यसम्ममा करिब तीन करोड भ्युज पाएको एउटा यस्तै खाता चर्चामा रह्यो।
उक्त खाताका तीनवटा बाहेक अन्य प्रत्यक्ष प्रसारण भनिएका सबै भिडिओहरू सन् २०१७ यता खिचिएका युक्रेनी सैन्य प्रशिक्षणको युट्युब भिडियोबाट लिइएका थिए।
गोली प्रहार भएको जस्तो सुनिने एउटा नक्कली अडिओ ट्र्याक त यति चर्चित भयो कि त्यो १३,००० भिडिओमा प्रयोग भएका छन्।
प्रयोगकर्ताहरूले प्रत्यक्ष प्रसारण भइरहँदा उक्त खाता चलाउनलेलाई विभिन्न उपहार पठाएर प्रतिक्रिया जनाउन पाउँछन्। पछि त्यसलाई रकममा परिणत गर्न सकिन्छ।
"थुप्रै भयावह प्रत्यक्ष प्रसारणहरू सम्भवतः टिकटकको उपहार प्रणालीमार्फत पैसा कमाउने उद्देश्यका साथ बनाएको जस्तो देखिन्छ," स्वतन्त्र अनुसन्धानकर्ता एबी रिचर्ड्स भन्छिन्।
उनले मिथ्या सूचनाबाट सतर्क रहन जानकारीमूलक भिडिओहरू बनाउँछिन्।
नक्कली प्रत्यक्ष प्रसारणहरू युक्रेन वा युक्रेन युद्ध नामक ह्यासट्यागसहित साझा गरिएका हुन्छन्।
"त्यस्ता सामग्री विषयवस्तुमा उपलब्ध अन्य सबै जानकारीसँग मिल्दो बनाउनका निम्ति त्यसो गरिन्छ," रिचर्ड्सले भनिन्।
भिडियो गेमको प्रयोग
सैन्य भिडियो गेमहरू वा कम्प्युटर-जेनेरेटेड इमेजरी सीजीआईको नाटकीय दृश्यहरूलाई समेत नियमित रूपमा वास्तविक युद्ध भिडिओहरूको विकल्पको रूपमा प्रयोग गरिएको छ।
आर्म थ्री र कल अफ ड्युटीजस्ता भिडिओ गेमका दृश्यहरूको प्रवाह टिकटकमा व्यापक बनेको छ।
लडाकु विमानहरू खसालिएको देखाउने दृश्यसहित हुँदै नभएका हवाई आक्रमणको भिडिओहरू चर्चित भएका छन्।
केही प्रयोगकर्ताले ती दृश्यलाई यथार्थपरक देखाउन लडाइँसम्बन्धी चलचित्र, टेलिश्रृङ्खला वा वास्तविक जीवनमा खेलिने खेलको भिडिओबाट समेत दृश्य प्रयोग गरेका छन्।
दुई करोड ४० लाख पटक हेरिएको एउटा भिडिओमा एक जना मानिसले ट्याङ्कमाथि विस्फोटक पदार्थ प्रहार गरेको देखिन्छ।
त्यस दृश्य एयरसफ्ट म्याच नामक लडाइँसम्बन्धी खेलको भिडिओबाट निकालिएको थियो।
२३ लाख प्रयोगकर्ताहरूले हेरेको अर्को मिथ्या प्रत्यक्ष प्रसारणमा क्षेप्यास्त्रले प्रहार गरेको देखिने सीजीआई दृश्य समेटिएको छ र गत वर्षदेखि नै इन्टरनेटमा छाइरहेको छ।
रिचर्ड्सका अनुसार केही प्रयोगकर्ताले ती भिडिओमा प्रतिक्रिया जनाउँदै झुटा र भ्रामक भएको जनाएका छन्।
तर खाता सञ्चालकहरूले त्यस्ता प्रतिक्रिया नै हटाउने वा लुकाउने काम गर्छन्।
पुराना भिडिओहरू
सामान्यतया पुरानो द्वन्द्वका भिडिओहरू प्रयोग गरिन्छ।
बीबीसीले लिबिया, सिरिया र चेच्न्या युद्धका भिडिओहरूलाई हालको द्वन्द्वजस्तै देखिने गरी प्रयोग गरिएको पाएको छ।
आवासीय घरहरूको बाहिर रुसी र युक्रेनी सेनाहरू बीचको लडाइँ देखाउने मिथ्या भिडिओले ७७ लाख भ्यूज प्राप्त गरेको छ।
तर उक्त दृश्य सन् २०१४ मा चेच्न्याको राजधानी ग्रोज्नीमा सशस्त्र जिहादी समूहले गरेको घातक हमलाको क्रममा खिचिएको थियो।
भिडिओको वास्तविक स्रोत लुकाउनका निम्ति मिथ्या समाचार र प्रत्यक्ष क्याप्सनहरूको प्रयोग गरिन्छ।
कुनै खाताबाट सन् २०१४ मा रुस र युक्रेनबीचको द्वन्द्वको भिडिओहरू साझा गरिएको छ जसलाई अहिलेकै युद्धको दृश्य मान्न सकिन्छ।
एक भिडिओमा मध्य-किएभमा युक्रेनी ट्याङ्कहरूको रुसी आक्रमणविरुद्ध राजधानीको रक्षा गर्न जाँदै गरेको जस्तो देखिन्छ।
उक्त भिडिओ नौ लाख पटक हेरिएको छ।
तर त्यसलाई केही वर्षअघि स्वतन्त्रता दिवसको अवसरमा सैन्य परेड हुँदा खिचिएको थियो।
त्यस्तै युक्रेनी झन्डा फहराउँदै आवासीय सडकमा अघि बढेको एक ट्याङ्कको भिडिओ चालीस लाख पटक हेरिएको छ।
त्यो पनि सन् २०१४ मा भएको रुस-युक्रेन द्वन्द्वको क्रममा खिचिएको हो।
टिकटकले पुराना भिडिओहरूको प्रयोगका कारण निम्तिएको समस्या कम गर्न भिडिओ पहिलो पटक सार्वजनिक गरिएको मिति स्पष्ट रूपमा राख्न सकिने रिचर्ड्सको राय छ।
सीमित पारदर्शिता
फेसबुक र इन्स्टाग्राम चलाउने कम्पनी मेटाले जस्तै टिकटकले सानो स्तरमा स्वतन्त्र रूपमा तथ्यजाँच गर्नेहरूसँग सहकार्य गर्दछ।
तर फेसबुक र इन्स्टाग्रामले आफ्नो माध्यममा युक्रेनको बारेमा गलत र भ्रामक सामग्रीहरू रोक्न प्रयास गरिरहेको भए पनि टिकटकले त्यसो गरेको छैन।
टिकटकले शिक्षाविद्, अनुसन्धानकर्ता र पत्रकारहरूलाई पारदर्शिता वा विश्लेषणात्मक उपकरण उपलब्ध गराउँदैन।
रिचर्ड्सका अनुसार आफूजस्ता विज्ञहरूले त्यस्तो सुविधा 'निरन्तर' माग गरिरहेको जानकारी दिइन्।
स्वतन्त्र तथ्यजाँचकर्ताहरूको लागि नियमित रूपमा सामग्रीको ठूलो मात्रा एकएक गर्दै अनुसन्धान गर्नु निकै समय लगानी गर्नु पर्ने प्रक्रिया बनेको छ।
रिचर्ड्सका अनुसार टिकटकमा भ्रामक सामग्री हटाउन इच्छा गर्ने प्रयोगकर्ताहरूको उपस्थिति छैन।
"टिकटकले लाखौँ भ्यूज प्राप्त गर्ने जानकारीहरूको सही हो वा गलत सुनिश्चित गर्न असफल हुँदा त्यो बोझ अन्य अनुसन्धानकर्ताहरू र दैनिक टिकटक प्रयोगकर्ताहरूमाथि पर्छ।"
टिकटकका एक प्रवक्ताले बीबीसीलाई भने: "हामी युक्रेनको विनाशकारी युद्धबारे हामी प्रतिक्रिया जारी राख्ने छौँ। हामी थप सुरक्षा र स्रोतहरू परिचालन गरेर सम्बन्धित चुनौतीहरू पहिचान गर्ने र मिथ्या सूचना हटाउने काम गर्नेछौँ।"
"टिकटकलाई सुरक्षित र प्रामाणिक स्थानको रूपमा कायम राख्ने हाम्रो प्रयासमा जोड दिन, हामीले स्थानीय भाषा विशेषज्ञहरू र स्वतन्त्र तथ्यजाँच गर्ने संस्थाहरूसँग साझेदारी गरी रुस र युक्रेनसम्बन्धी सामग्रीको तथ्यजाँच गर्न थप स्रोतहरू थपेका छौँ।"