नेपाल कोरोना भाइरस: कोभिड आईसीयू खाली भएकै दिन सरकारले किन दियो सचेत हुन चेतावनी

बिहीवार दिउँसो स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै देशमा कोरोनाभाइरस सङ्क्रमण केही कम भएको जस्तो देखिए पनि जोखिम कायम नै रहेको बतायो।

सोही दिन नियमित जारी हुने उसको दैनिक आँकडामा भने महिनौँयता पहिलोपटक कोभिड बिरामीका सघन उपचार कक्ष आईसीयू खाली भएको तथ्याङ्क थियो।

बिहीवारको आँकडाअनुसार थप १५ जना सङ्क्रमित फेला परेको अनि आईसीयू र भेन्टिलेटरमा एकजना पनि कोभिड बिरामी नरहेको उल्लेख छ।

अझ देशभरिमा जम्मा २९८ जना मात्रै सक्रिय सङ्क्रमित रहेको अनि त्यसमध्ये तीन जना मात्रै स्वास्थ्य संस्थामा रहेको देखिन्छ।

माघको पहिलो सातातिर दैनिक १०,००० भन्दा धेरै सङ्क्रमित भेटिने गरेको अवस्थाको तुलनामा पछिल्लो अवस्था यस्तो हुँदा पनि किन स्वास्थ्य मन्त्रालयले चिन्ताजनक अपील जारी गर्‍यो त?

स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ् भन्छन्, "हामीकहाँ अहिले तेस्रो लहर मत्थर भएको छ। तर भारतमा विगत पाँचसात दिनदेखि सङ्क्रमण बढिरहेको हुँदा अनि विश्व स्वास्थ्य सङ्गठनले समेत न्यूनदर भए तापनि ढुक्क हुन नहुने भनेको सन्दर्भमा मन्त्रालयले जनमानसलाई सचेत गराउन खोजेको छ।"

"यस्तो बेला समाजमा भिडभाड नहोस् र मापदण्ड खुकुलो नहोस् भन्ने हामी चाहन्छौँ।"

भारतको स्थिति कस्तो?

विगतमा हरेकपटक जसो भारतमा सङ्क्रमण बढ्न थालेको केही सातामै उक्त प्रवृत्ति नेपालमा समेत प्रतिबिम्बित हुने गरेको छ।

अहिले भारतमा केही दिनयता सङ्क्रमण बढ्न थालेका विवरण आएका छन्।

दिल्लीमा राज्य सरकारले फेरि मास्क लगाउन अनिवार्य गराएको छ।

विगत २४ घण्टामा भारतमा २,४०० भन्दा धेरै सङ्क्रमित थपिएको अनि ५४ जनाको ज्यान गएको टाइम्स अफ इण्डियाले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ।

खासगरि दिल्ली, हरियाणा, उत्तरप्रदेश तथा महाराष्ट्रमा सङ्क्रमित बढ्न थालेका विवरण आएका छन्।

यस पृष्ठभूमिमा अब नेपाल सरकारले पनि सिमानाकाहरूमा विगतमा गरिएजस्तै चेकजाँच अनि कडिकडाउ गर्ने तयारी गरिरहेको स्वास्थ्य राज्यमन्त्री खापुङ्ले बताए।

"भारतमा यसैगरि सङ्क्रमण धेरै बढ्न थाल्यो भने चेकजाँच अवश्य नै बढाउनु पर्नेछ।"

भारतबाहेक अर्को छिमेकी चीनमा पनि कोभिडका मामिला बढेका विवरण आइरहँदा सचेत हुनुपर्ने अवस्था आइपरेको धेरै विज्ञहरूले बताइरहेका छन्।

कस्तो छ भाइरसको उत्परिवर्तन?

विगतमा कोरोनाभाइरसले उत्परिवर्तन गरेर स्वरूप बदलेका कारण विभिन्न लहरहरूले विश्वभरिका देशहरूलाई गाँजेको थियो।

नेपालमै पनि डेल्टा प्रजातिको भेरिअन्टका कारण एक वर्ष अगाडि देखा परेको दोस्रो लहर निकै घातक सावित भयो।

‌ओमिक्रोन भेरिअन्टले ल्याएको तेस्रो लहरसम्म आइपुग्दा सङ्क्रमण तेज फैलने तर क्षति कम हुने स्थिति देखा परेको थियो।

"अहिले पनि यसो हेर्दा तेस्रो लहरकै मोडल आइपर्ने सम्भावना देखिन्छ। अर्थात् सङ्क्रमण धेरै हुने तर गम्भीर बिरामी कम हुने," टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले बताए।

उनले थरीथरीका कोभिड-१९ गराउने भाइरसको संयोजनका कारण पनि जोखिमहरूको स्तर बदल्ने गरेको बताए।

पुन भन्छन्, "डेल्टा र ओमिक्रोनको संयोजन भएर डेल्टाक्रोन देखा परेको छ अनि ओमिक्रोनभित्रकै उपप्रजातिहरू मिलेर बनेको एक्सई अहिले चर्चामा छ।"

"तर जेसुकै भएपनि अहिलेको परिस्थिति आकलन गर्दा यदि हामीकहाँ पनि भारतकै जसरी सङ्क्रमितको सङ्ख्या बढ्न थाल्यो भनेपनि पहिलेको जस्तो गम्भीर बिरामी कमै होलान् भन्ने लाग्छ।"

तर नौलो भेरिअन्ट उत्पन्न हुनसक्ने जोखिमका साथै पुरानै भेरिअन्टले पनि खोप नलगाएका वा धेरै उमेर अनि अन्य रोगका कारण कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसलाई घातक जोखिम उब्जाउनेमा भने उनले सचेत गराए।