युक्रेन युद्धः मारिऊपोलमा युक्रेनका सैनिकले 'आत्मसमर्पण गरेको' रुसी दाबी

तस्बिर स्रोत, Reuters
रुसले युक्रेनका १,००० जनाभन्दा बढी मरीन सैनिकहरूले घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह सहर मारिऊपोलमा आत्मसमर्पण गरेको दाबी गरेको छ।
समाचारसंस्था रोएटर्सका पत्रकारहरूले ती सैनिकहरूले प्रतिरक्षात्मक मोर्चा बनाएको आजोभ्स्टाल स्टील कारखानाबाट आगोको मुस्लो निस्किरहेको देखेको जनाएका छन्।
रुसी टेलिभिजनले इल्यिच आइरन एन्ड स्टील वर्क्स कारखानामा मरीन सैनिकहरूले आत्मसमर्पण गरेको भन्दै दृश्यहरू प्रसारण गरेको छ।
छत्तीसौँ मरीन ब्रिगेड नाम गरेको सैन्य समूहले आत्मसमर्पण गरेको बताइएको छ।
तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले ती सैनिकहरू घेराबन्दी तोडेर आजोभ बटालियनसँग गएर मिसिएको र त्यसको अर्थ मारिऊपोल अझै पराजित नभएको दाबी गरेका छन्।

तस्बिर स्रोत, Reuters
युक्रेनका रक्षा मन्त्रालयका प्रवक्ता ओलेक्सान्डर मोटुज्यान्यीकले यस विषयमा आफूसँग अहिलेसम्म कुनै जानकारी नभएको बताएका छन्।
उक्त दक्षिणी बन्दरगाह हप्तौँदेखि रुसी आक्रमणको निसानामा रहेको थियो र त्यो रुसीहरूको कब्जामा पुग्नै लागेको बताइएको थियो।
"सहर पूरै घेराबन्दीमा छ। गोलाबारी र बम आक्रमण रोकिँदैरोकिँदैन," युक्रेनी सांसद मित्रो गुरिनले बीबीसी रेडिओ फोरको टूडे कार्यक्रमलाई बुधवार बिहान भनेका थिए।
गुरिनका अनुसार रणनीतिम रूपमा महत्त्वपूर्ण मानिएको उक्त बन्दरगाह सहरमा अझै एक लाखजति सर्वसाधारण मानिस बाँकी छन्।
रुसीहरूले ले त्यहाँ नरसंहार गरेको कुरामा कुनै द्विविधा नरहेको बताए। उनका अनुसार रुसी सैनिकहरूको उद्देश्य स्पष्ट थियो - युक्रेन र युक्रेनी नागरिकलाई मास्ने।
उनले मारिऊपोल र युक्रेनका अन्य क्षेत्रमा भएका सामूहिक हत्यालाई नाजीहरूले अश्विचमा गरेको क्रूरतासँग तुलना गरे।
यसअघि रुसले आत्मसमर्पण गरेर हतियार त्यागे युक्रेनी सैनिक र गैरसैनिकलाई सुरक्षित मार्ग दिने रुसले भनेको थियो। तर युक्रेनले त्यसो गर्न अस्वीकार गरेको थियो।

तस्बिर स्रोत, MAXAR/REUTERS

मारिऊपोल किन महत्त्वपूर्ण
मारिऊपोल मस्कोका लागि विभिन्न कारणले महत्त्वपूर्ण मानिएको छ। त्यसैले सुरुदेखि नै रुसी सेनाले उक्त बन्दरगाह सहरलाई आफ्नो रणनीतिक उद्देश्यसहित निसानामा राखेको छ।
बीबीसीका रक्षा संवाददाता फ्र्याङ्क गार्डनरका अनुसार पहिलो कारण मारिऊपोलको भूमिबाट रुसले क्राइमिया र डोन्बाससँग जोड्ने बाटो पाउन सक्ने भएकाले हो।
मारिऊपोल आजोभ सागरको बन्दरगाह भएकाले युक्रेनको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पार्न सकिने रुसको आकलन छ।
मारिऊपोलमा आजोभ ब्रिगेड नामक युक्रेनी लडाकुहरूको समूह छ। उक्त समूहमा उग्रदक्षिणपन्थी अतिवादी र नवनाजीहरू छन्।
युक्रेनी लडाकु समूहमा उक्त समूह निकै सानो भए पनि रुसले युक्रेनमा नवनाजीहरू रहेको भनेर प्रचार गरिरहेको छ। मारिऊपोलमा विजय हात पार्न सके मस्कोले आफ्नो सैन्य कारबाहीबाट नवनाजीलाई दमन गर्न सकिएको भनेर व्यापक प्रचार गर्न सक्छ।
मारिऊपोलमा रुसले युक्रेनलाई परास्त गरे दुवै पक्षमा त्यसको मनोवैज्ञानिक प्रभाव पर्ने देखिन्छ।
रुसले सरकारी सञ्चारमाध्यमबाट युक्रेनमा आफ्नो सैन्य कारबाहीको उद्देश्य पूरा भएको दाबी गर्न सक्छ। युक्रेनमा धावा बोल्ने रुसी राष्ट्रपतिका लागि यसको ऐतिहासिक महत्त्व छ।
उनी युक्रेनको ब्ल्याक सीको तटीय क्षेत्रलाई "नोभोरोसिया" (नयाँ रुस) अर्थात् अठारौँ शताब्दीमा रुसी साम्राज्यको भूभागको रूपमा हेर्छन्।
पुटिन "किएभस्थित पश्चिमतिर ढल्किएको सरकारको उत्पीडनबाट रुसीलाई उद्धार गरेर" उक्त अवधारणलाई बिउँताउन चाहन्छन्। त्यो उद्देश्यको बीचमा मारिऊपोल थियो।
युक्रेनका लागि मारिऊपोलको पराजयबाट ठूलो चोट पर्नेछ। सैन्य र आर्थिक रूपमा मात्र हैन, रुसी सेनासँग सङ्घर्ष गरिरहेका मानिसको मनमा पनि।

यो पनि हेर्नुहोस्









