रुस-युक्रेन युद्ध: मारिओपोलमा आत्मसमर्पण गर्न रुसले गरेको आह्वान युक्रेनद्वारा अस्वीकार

तस्बिर स्रोत, Getty Images
मस्कोले दिएको समयसीमाभन्दा अगावै युक्रेनी सरकारले निरन्तर आक्रमणमा परिरहेको मारिओपोल सहरमा आत्मसमर्पण नगर्ने जबाफ दिएको छ।
आत्मसमर्पण गरेर हतियार त्यागे लडाकु र गैरसैनिकलाई सुरक्षित मार्ग दिने रुसले भनेको थियो।
'आत्मसमर्पणको प्रश्नै उठ्दैन'
युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेस्चुकले आफ्ना सैनिकले हतियार त्याग्ने प्रश्नै नउठ्ने बताएकी छन्।
रुसले आत्मसमर्पण गर्न दिएको समयसीमा सकिनु घण्टौँ अगाडि नै उनले त्यसो भनेकी हुन्।
मस्कोले सोमवारबाट त्यहाँ सुरक्षित मार्ग खोलिदिने बताएको छ।
कोही बाँकी रहे उनीहरूले सैन्य अदालतको सामना गर्नुपर्ने पनि उसले चेतावनी दिएको छ।
तर मारिओपोल सहरका मेयरका एकजना सल्लाहकारले बीबीसीसँग कुरा गर्दै मस्कोको प्रस्ताव विश्वास गर्न नसकिने भन्दै अन्तिमसम्म लडिरहने बताए।

तस्बिर स्रोत, Getty Images
मानवीय सङ्कट गहिरियो
दक्षिणी बन्दरगाह सहर मारिओपोलमा रुसले हप्तौँदेखि घेराबन्दी तथा निरन्तर आक्रमण गरिरहेको छ।
राजधानी किएभस्थित सम्वाददाता लीज डुसेटले त्यसलाई पूरै सहरलाई भोकभोकै पारेर आत्मसमर्पणका निम्ति बाध्य पार्ने सैन्य रणनीति भनेकी छन्।
यसबीच मस्कोस्थित रक्षा मन्त्रालयले मारिओपोलमा डरलाग्दो मानवीय सङ्कट उत्पन्न भइरहेको स्वीकारेको छ।
रुसी बमबारीका कारण मारिओपोल सहर लगभग ध्वस्त भइसकेको बताइएको छ।
आइतबार राजधानी किएभमा पनि ठूल्ठूला विस्फोटहरू भएका छन्।
त्यहाँका मेयरका अनुसार कैयन् घरहरू तथा एक किनमेल केन्द्र समेत निसानामा परेका छन्।
एक करोड मानिस विस्थापित
संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायले युक्रेनमा युद्धका कारण घर छाडेर भाग्नेहरूको सङ्ख्या १ करोड पुगेको जनाएको छ।
युक्रेनको कूल जनसङ्ख्याको त्यो एक चौथाइ हो।
विस्थापित हुने गति र व्यापकताको हिसाबबाट यो पछिल्ला दशकहरूकै अभूतपूर्व घटना रहेको सो निकायले बताएको छ।
विस्थापितहरूमध्ये झन्डै ३५ लाख मानिसले देश नै छाडेका छन्।
त्यसको दोबर सङ्ख्याको आन्तरिक विस्थापन भएको छ।
युएनएचसीआरका प्रवक्ताले यसलाई सिरियाली सङ्कटसँग तुलना गरे तर सिरियामा पनि यस्तरी विस्थापन हुन लामो समय लागेको थियो।








