युक्रेन रुस युद्ध: 'मैरै सामु छोरी मारिइन्, मलाई बन्दी बनाइयो'

    • Author, आना फोस्टर
    • Role, बीबीसी न्यूज, किएभ

भिक्टोरिया कोभालेन्कोलाई ती हरेक क्षणको स्पष्ट सम्झना छ।

"त्यहाँ विस्फोट वा कुनै गोलाबारी भयो र मेरा कान बन्द भए। कारको पछाडिको सिसा चकनाचुर भयो। मेरा श्रीमान्‌ले चिच्याएर "बाहिर निस्क" भने।

त्यस दिनको त्रासदी अकल्पनीय छ।

यो भोगाइमा विभत्स विवरणहरू छन्। यसले कसै-कसैलाई विचलित बनाउन पनि सक्छ।

भिक्टोरिया र उनका पतिले युद्ध सुरु भएको नौ दिनपछि युक्रेन सहर चेर्नीहिभ छोडेर भाग्ने निर्णय गरे। उनीहरू जसरी भए पनि आफ्ना बालबच्चा जोगाउन चाहन्थे। भिक्टोरियाको पहिलो विवाहबाट जन्मिएकी भेरोनिका १२ वर्षकी थिइन्। सानी छोरी भरभारा एक वर्ष मात्रै हुँदै थिइन्।

आफूलाई अत्यावश्यक सामग्री बोकेर उनीहरू आफ्नो घरबाट कारमा निस्किए। जब उनीहरू सहरको बाहिरी भागमा अवस्थित यहिद्‌ने नगरको छेउमा पुगे ढुङ्गा थुपारिएका कारण सडक अवरुद्ध थियो। उनका श्रीमान् पेट्रोले कारबाट निस्किएर ढुङ्गा पन्छाउन सुरु गरे।

कारमा रुसी गोलाबारी

त्यसको केही सेकेन्डमै उनीहरूको कारमा आगो देखियो।

"मेरी छोरी भेरोनिका रुन थालिन् किनभने सिसाको टुक्राले काटेर मेरो टाउकोबाट रगत बगिरहेको थियो," आँखा मुनि रातो खत देखाउँदै भिक्टोरिया भन्छिन्।

"फेरि भेरोनिका चिच्याउन थालिन्। उनका हातहरू कामिरहेका थिए। त्यसैले मैले उनलाई सम्झाउन खोजेँ। उनी कारबाट बाहिर निस्किने बित्तिकै ढलिन्। उनको टाउको फुटिसकेको रहेछ," भिक्टोरियाले सुनाइन्।

रुसी बम प्रहार भएको उनीहरूको कारमा दनदनी आगो बल्न सुरु गर्‍यो।

"म सकेसम्म सम्हालिन खोजेँ। मैले अर्को बच्चा समातिरहेकी थिएँ र उनलाई सुरक्षित ठाउँमा पुर्‍याउनु थियो," उनले भनिन्।

पेट्रो केही नबोलेपछि उनलाई थाहा भयो उनका श्रीमान् पनि मारिइसकेका थिए।

मारिएका श्रीमान्‌ र ठूली छोरीसँगै जल्दै गरेको कार छोडेर उनी त्यहाँबाट भागिन्। आफूलाई जीवित राख्न त्यसपछिका २४ घण्टा उनले अथक प्रयास गरिरहिन्।

भिक्टोरिया र उनकी सानी छोरी भारभाराले एउटा रोकिएको कारमा आश्रय पाए। तर त्यहाँ पनि गोली हानाहान सुरु भयो। उनीहरू भागेर एउटा घरमा पुगे। तर त्यो घर पनि सैनिकहरूले प्रयोग गरिरहेका थिए।

रुसी फौजको बन्दी

उनीहरू त्यही घरमा लुके। ब्याट्री बचाउन उनले फोन स्विच अफ गरिन्। आफू र छोरीलाई कसरी बचाउने भनेर उनले सोचिरहिन्।

अर्को दिन गस्तीमा निस्किएका रुसी फौजले उनीहरूलाई देखे। उनीहरूलाई यहिद्‌नेको एक विद्यालयमा लगियो र भूमिगत तलामा बन्धक बनाइयो।

आमा र छोरीले अर्को २४ घण्टा यहाँ दयनीय अवस्थामा समय बिताए। आफ्नै सामुन्ने मानिसहरूको मृत्यु देखिन् भिक्टोरियाले। उनले आफ्नो चोटको कुनै उपचार पाइनन्।

बीबीसी उनी बसेको भूमिगत तला हेर्न यहिद्‌नेको विद्यालय पुगेर र त्यहाँ राखिएका अन्य मानिसहरूसँग पनि कुरा गरिसकेको छ।

उनीहरूका अनुसार त्यहाँ बन्दी बनाइएकाहरूको मृत्यु हुँदा कहिले घण्टौँ र कहिले केही दिनसम्म पनि शव उठाइँदैन थियो।

भिक्टोरियाका अनुसार यो तलामा ४० जनालाई राखिएको थियो। जहाँ आवतजावत र हिँडडुल गर्ने ठाउँको पनि अभाव थियो।

बिजुली नभएका कारण उनीहरू मैनबत्ती र लाइटरहरू बाल्थे। धुलै धुलो र गर्मी ठाउँमा मानिसहरूलाई सास फेर्न पनि कठिन भएको भिक्टोरिया बताउँछिन्।

बन्दी गृहमा दयनीय जीवन

अधिकांश समय मानिसहरूलाई दिशा पिसाबका लागि समेत बाहिर निस्कन रोकेर भित्रै बसेर बाल्टीमा गर्न भनिन्थ्यो।

"यताउता चहलपहल गर्न पनि नपाउँदा मानिसहरू बिरामी परे। उनीहरू कुर्सीमै बसे कुर्सीमै निदाए। उनीहरूका नसा बाहिरै देखिन्थे र रगत बग्न सुरु भएपछि हामीले पट्टी लगाइदियौँ," भिक्टोरिया सम्झन्छिन्।

आफ्ना श्रीमान् र ठूली छोरी गुमाइसकेकी भिक्टोरिया आफैँ निकै कठिन पीडामा थिइन्। तैपनि उनले अर्की छोरी बचाउन दृढ अठोट र आफूसँग भएको शक्ति प्रयोग गरिन्।

उनले आफूलाई बन्धक बनाइरहेका रुसी सैनिकहरूलाई आफ्ना श्रीमान् र छोरीको शव ल्याइदिन अनुरोध गरिन्। उनलाई ती शवहरू आफैँ पुर्नु थियो।

उनले भेरोनिकाका बुबा आफ्ना पूर्व पतिलाई उनीहरू मारिएको ठाउँमा पठाइन्। उनका अनुसार ती शवहरू मानव अवशेषका रूपमा पहिचान गर्न समेत कठिन अवस्थामा थिए।

आगोले जलेको कारमा केही पनि बाँकी थिएन। बाँकी थिए, रगत लतपतिएका भेरोनिकाका केही लुगा, प्वाल परेको झोला, कारको नम्बर प्लेट र आगोले ज्वालाबाट गालिएको चाँदी बाँकी थिए।

शव पुर्दै गर्दा बमबारी

ती शवहरू आइपुगेको दिन भिक्टोरिया सम्झन्छिन्।

"त्यो १२ मार्चको दिन थियो। उनीहरूले मलाई बोलाएर कहाँ पुर्ने भनेर सोधे," उनले भनिन्।

शवहरूलाई एउटा ठूलो र एउटा सानो बाकसमा राखेर दुई वटा छुट्टाछुट्टै चिहानमा जङ्गलमा लगेर पुरियो।

"जब हामीले ती बाकसहरू माटोले पुर्न सुरु गर्‍यौँ बमबारी सुरु भइहाल्यो। पुरिनसक्दै हामी त्यहाँबाट भग्न पर्‍यो। त्यो निकै डरलाग्दो क्षण थियो" उनले भनिन्।

"यदि मलाई पुटिनलाई गोली हान्ने अवसर दिइयो भने म त्यो काम गर्न सक्छु मेरा हातहरू काँप्दैनन्," भिक्टोरियाले भनिन्।

भिक्टोरिया र भरभारालाई युक्रेनको पश्चिमी क्षेत्र लभिभको सुरक्षित ठाउँमा राखिएको छ। भिक्टोरिया अहिले मनोवैज्ञानिक परामर्श लिइरहेकी छिन्।

"जब म मानिसहरूसँग हुन्छु, केही गर्छु वा बोल्छु म के भएको थियो भन्ने बिर्सिन्छु। तर जब म एक्लै हुन्छु म होस गुमाउन पुग्छु," उनले सुनाइन्।

यसो भनिरहँदा उनका आँखाबाट आँसु चुहिन थाले।

मारिएकी आफ्नी छोरीले उपहार दिएको एउटा चिनो उनले देखाइन्। सानो गाईको आकृति भएको यो चाबी राख्ने चिनो केही अक्षरहरू लेखिएको सुनको औँठीसँगै जोडेर राखिएको थियो।

"यो चर्चबाट ल्याइएको हो। उनले मेरो लागि यो किनेकी थिइन्। यसमा भएको शक्तिका कारण गर्दा म बाँचेँ जस्तो लाग्छ। किनभने यो सधैँ मेरो खल्तीमा हुन्छ र मलाई सुरक्षित राख्छ," उनले सुनाइन्।