तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
त्रिकोणात्मक शृङ्खला: पपुवा न्यूगिनीसँग नेपालले लियो एक दिवसीय क्रिकेटको बदला
नेपालले त्रिकोणात्मक टी २० आई सिरिजको पहिलो खेलमा पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको छ।
१८ औँ ओभरको पाँचौँ र छैटौँ बलमा करण केसीले लगातार दुई विकेट लिएपछि रोमाञ्चक मोड लिएको खेलमा नेपाल विजयी भयो।
खेल पपुवा न्यूगिनीको पक्षमा ढल्किरहेको अवस्थामा केसीले पाँचौँ बलमा ५२ रन बनाएर खेलिरहेका नोरमान भानुआलाई एलबीडब्लूको धरापमा पारे।
अनि अर्को बलमा सिमोन अताईलाई दीपेन्द्र सिंह ऐरीबाट क्याच गराए। यसपछि खेल नेपालको पक्षमा ढल्किएको थियो।
१९ ओभरको २ बलमा पपुवा न्यूगिनीका एलि नाओ रन आउट भएपछि टोली अलआउट हुनपुग्यो।
१६७-७ मा खेलिरहेको पपुवा न्यूगिनीले अर्को चार बलमा तीन विकेट गुमाउँदा १६८ रनमा सीमित हुन पुगेको थियो।
यसअघि गत हप्ता खेलेको एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपाल दुवै खेलमा पराजित भएको थियो।
टस हारेर पहिलो ब्याटिङ पाएको नेपालले निर्धारित २० ओभरमा नौ खेलाडी गुमाउँदै १८३ रनको चुनौतीपूर्ण स्कोर जोडेको थियो।
जवाफमा पपुवा न्यूगिनी १६८ रनमा सीमित हुन पुग्यो।
अर्को टोली मलेसिया सम्मिलित शृङ्खलामा डबल राउण्ड रोविन लीगको आधारमा सबै टोलीले एक अर्कोसँग २/२ खेल खेलेपछिको शीर्ष दुई टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन्।
नेपाली ब्याटिङ
टी- २० को नियमित ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखलाई राखेर सुरु गरेको नेपालले आज ब्याटिङमा राम्रै पकड जमाएको देखियो।
राम्रो लय समाउन थालिसकेका ओपनर कुशल भुर्तेल २० रनमा रन आउट हुन पुग्दा नेपालको पहिलो विकेट झरेको थियो।
त्यसपछि अर्का ओपनर आसिफ शेखले ३५ बलमा पाँच चौका र एक छक्कासहित ४३ रन जोडे।
उनले दोस्रो विकेटका लागि रोहित पौडेलसँग मिलेर ८० रनको साझेदारी गरे।
२९ रनमा स्लिपमा क्याच ड्रप हुँदा जोगिएका पौडेलले ३४ रन बनाए। उनले दुई चौका र एक छक्का प्रहार गरे।
१४ औँ ओभरमा दीपेन्द्र सिंह ऐरी चार रनमा क्याच आउट भए।
आरिफ शेखले २२ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै ३१ रन जोडेपछि नेपाल विशाल स्कोरतिर अग्रसर भएको थियो।
त्यस्तै कुशल मल्लले ११ रन बनाए भने करण केसीले दुई छक्का सहित सात बलमा १४ रन जोडे।
पपुवा न्यूगिनीका लागि एली नाओ, चाद सोपर र चाल्र्स अमिनीले २/२ विकेट लिएका थिए।
भोलि मङ्गलवार मलेसिया र पपुवा न्यूगिनी बीच खेल हुनेछ।