डोनल्ड ट्रम्पः राष्ट्रपति निर्वाचनमा रुससँग मिलेमतो गरेको पुरानो आरोपमा हिलरी क्लिन्टनविरुद्ध मुद्दा

तस्बिर स्रोत, Reuters
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा आफ्नो निर्वाचन अभियानलाई रुससँग जोडिदिएर हिलरी क्लिन्टन र डेमोक्र्याटिक पार्टीका अन्य नेताहरूले धाँधली गर्न खोजेको आरोप लगाउँदै उनीहरूविरुद्ध मुद्दा दायर गरेका छन्।
उक्त निर्वाचनमा ट्रम्पले क्लिन्टनलाई पराजित गरेका थिए।
तर आफ्नो निर्वाचन अभियानविरुद्ध षड्यन्त्र भएको ट्रम्पको दाबी छ।
ट्रम्पको अभियान र टोलीलाई रुसी गुप्तचरहरूसँग मिलेर उनको पक्षमा निर्वाचनको परिणाम पार्ने षड्यन्त्र गरेको आरोप लागेको थियो।
सन् २०२० मा रिपब्लिकन पार्टीको नेतृत्वमा रहेको एउटा सिनेट समितिले प्रकाशित गरेको प्रतिवेदनमा रुसले ट्रम्पलाई विजयी हुन सघाउन रिपब्लिकन पार्टीका राजनीतिक कार्यकारी पोल म्यानफोर्ट र विकिलीक्सको वेबसाइट प्रयोग गरेको निष्कर्ष निकालेको थियो।
मस्कोले आफ्नो संलग्नता अस्वीकार गरेको छ।
उक्त प्रतिवेदनले षड्यन्त्रबारे कुनै प्रमाण फेला नपरेको उल्लेख गरेको थियो।
यद्यपि ट्रम्पले सम्भवतः न्याय अवरुद्ध हुनेगरी काम गरेको भन्दै केही उदाहरण प्रस्तुत गरेको थियो।
क्षतिपूर्तिको माग
मुद्दामा ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको बेलामा क्लिन्टन र उनका सहयोगीहरूले एउटा "अकल्पनीय षड्यन्त्र" रचेको आरोप लगाएका छन्।
उनका अनुसार त्यस्तो षड्यन्त्रले "चेतनालाई स्तब्ध पार्छ र यो देशको प्रजातन्त्रलाई अपमान गर्छ"।
एउटा शत्रुराष्ट्रसँग सम्बन्ध भएको देखाउन खोजेर प्रतिवादीहरूले रिपब्लिकन उम्मेदवार डोनल्ड जे ट्रम्पविरुद्ध "मिथ्या भाष्य" निर्माण गर्ने षड्यन्त्र गरेको दाबी गरिएको छ।
ट्रम्पले प्रतिवादीहरूबाट क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन्।
क्लिन्टनले मुद्दाबारे प्रतिक्रिया व्यक्त गर्न बाँकी नै छ।
ट्रम्पले आफू २.४ करोड डलर हानि बेहोर्न बाध्य भएको दाबी गरेका छन्।
अरू कसलाई मुद्दा
ट्रम्पले हिलरी क्लिन्टनबाहेक डेमोक्र्याटिक पार्टीको राष्ट्रिय समितिकी अध्यक्ष डेबी वासरमान शूल्ज, अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईका पूर्वनिर्देशक जेम्स कमी र डेमोक्र्याटिक पार्टीका राजनीतिक परामर्शदाता जोन पोडेस्टालाई पनि मुद्दा हालेका छन्।
अमेरिकी निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्ने कुरा उठेपछि रोबर्ट म्युलरको नेतृत्वमा दुई वर्ष लामो अनुसन्धान भएको थियो।
म्युलरले ट्रम्प वा उनको अभियानले रुससँग मिलोमतो गरेको निर्क्योल त गरेनन् तर उनले आफ्नो प्रतिवेदनले ट्रम्पले न्यायमा अवरोध गरेको कुरामा सफाइ नदिएको बताए।
रुस सरकारले ट्रम्प राष्ट्रपति हुँदा आफूलाई लाभ हुन सक्छ भन्ने ठानेको र त्यस्तो परिणाम आओस् भनेर काम गरेको अनि उनको निर्वाचन अभियानले रुसी प्रयासमा चुहाइएको सूचनाबाट चुनावी फाइदा हुन्छ भन्ने आशा गरेको उनको प्रतिवेदनमा उल्लेख छ।
किन हाले मुद्दा
बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्करका अनुसार ट्रम्पले अदातलबाट जित्ने सम्भावना कम छ।
यद्यपि ट्रम्पले मुद्दा हालेको विषय आफ्ना समर्थकहरूसमक्ष आफूलाई आरोप लगाउनेहरूलाई प्रत्युत्तर दिएको प्रमाणका रूपमा प्रस्तुत गर्ने सम्भावना भएको जर्करको भनाइ छ।
"अनि यदि यो अन्ततः मुद्दा खारेज भयो भने त्यसलाई उनलाई संस्थापनले अझै समात्न खोजेको सङ्केतका रूपमा प्रस्तुत गरिनेछ।"














