अमेरिका राष्ट्रपति निर्वाचन: डोनल्ड ट्रम्प कसरी होटल व्यवसायदेखि देशको सर्वोच्च पदसम्म पुगेका थिए

तस्बिर स्रोत, Getty Images
पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडनसँग निर्वाचनमा पराजय खेप्नुपरेको छ। अघिल्लो निर्वाचनमा उनले हिलरी क्लिन्टनलाई पराजित गरी ह्वाइट हाउसको यात्रा सुनिश्चित गरेका थिए।
सन् २०२० को परिणामले ट्रम्पलाई सन् १९९० यता एक कार्यकाल मात्रै शासन गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनाइदिएको छ।
राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा आउनुभन्दा धेरै अगाडिदेखि नै ट्रम्प अमेरिकामा एक रसिक अर्बपतिका रूपमा प्रख्यात थिए। उनी आफूलाई 'द डोनल्ड' भनेर चिनाउँथे।
संसारको एकजना सबैभन्दा शक्तिशाली राजनीतिज्ञका रूपमा रहेका उनको उमेर ७४ वर्ष छ।
सन् २०१६ मा राष्ट्रपतिको उम्मेदवार बन्न खोज्दा नै आप्रवासनबारे उनको आपत्तिजनक मानिने धारणा र प्रचारप्रसार तथा विवादास्पद विगतका कारण ट्रम्पले रिपब्लिकन पार्टीबाट उम्मेदवार हुन पाउनेमा आशङ्का व्यक्त गरिन्थ्यो।
तर सबै अनुमानलाई असत्य प्रमाणित गरिदिँदै उनले आफ्नो रिपब्लिकन दलमा भएको प्रारम्भिक प्रतिस्पर्धामा पुराना नेताहरूलाई हराइदिएका थिए।

तस्बिर स्रोत, Getty Images
त्यसपछि उनले एकदमै विवादास्पद निर्वाचनमा हिलरी क्लिन्टनलाई पराजित गर्दै ह्वाइट हाउसको यात्रा सुनिश्चित गरे।
प्रारम्भिक जीवन
ट्रम्प न्यूयोर्कका एकजना घरजग्गा व्यापारी फ्रेड ट्रम्पका चौथो सन्तान हुन्। विद्यालयमा दुर्व्यवहार गर्न थालेपछि उनलाई १३ वर्षको उमेरमा एउटा सैन्य प्रतिष्ठानमा पठाइयो।
पछि उनका जेठा दाइले विमानचालक बन्ने निर्णय गरेपछि डोनल्ड ट्रम्पलाई पिताले आफ्नो व्यापारिक साम्राज्यको उत्तराधिकारी बनाउने विचार गरे।
दाइको ४३ वर्षको उमेरमा मदिराको दुर्व्यसनका कारण मृत्यु भएपछि ट्रम्पले मदिरापान र धूमपान गरेनन्।

तस्बिर स्रोत, Getty Images
कम्पनीमा प्रवेश गर्नुअघि उनले पितासँग १० लाख डलर सापट लिएर घरजग्गा व्यवसाय 'रीअल स्टेट व्यवसाय' थालेको ट्रम्पले बताउने गरेका छन्।
कम्पनीमा आफ्नो वर्चस्व कायम भएपछि सन् १९७१ मा उनले उक्त कम्पनीको नाम फेरेर ट्रम्प अर्गनाइजेशन राखे।
धनाढ्य व्यापारी
ट्रम्पले परिवारको व्यापार ब्रुक्लिन र क्वीन्सबाट म्यान्हटनमा सारेर कमजोर होटललाई बलियो बनाए। उनले प्रसिद्ध ६८-तले ट्रम्प टावर निर्माण गरे त्यस्तै ट्रम्प प्लेस, ट्रम्प वर्ल्ड टावर, ट्रम्प इन्टर्न्याश्नल होटलजस्ता संरचनाको निर्माण गरे।
मुम्बई, इस्तानबुल र फिलिपिन्समा पनि ट्रम्प टावरहरू छन्।
ट्रम्पले होटल र क्यासिनोको क्षेत्रमा पनि व्यापार विस्तार गरे अनि मनोरञ्जन उद्योगमा पनि हात हाले।
सन् १९९६ देखि २०१५ सम्म मिस यूनिभर्स, मिस यूएसए, मिस टीन यूएसएजस्ता सौन्दर्य प्रतियोगिता सञ्चालन गर्ने संस्था उनको स्वामित्वमा थियो।
सन् २००३ मा उनले एनबीसी टीभीमा एउटा रीआलिटी कार्यक्रम 'द अप्रेन्टिस' सञ्चालन गर्न थाले। उक्त कार्यक्रम १४ सीजन सञ्चालन गर्दा उनले २१.३ करोड अमेरिकी डलर पारिश्रमिक लिएको घोषणा गरेका थिए।
ट्रम्पले केही पुस्तक पनि आफ्नो नाममा प्रकाशित गरेका छन्। उनको स्वामित्वमा नेक-टाईदेखि बोटलबन्द पानीसम्म बेच्ने व्यवसायहरू छन्।
फोर्ब्स म्यागजिनका अनुसार उनको कुल सम्पत्ति २.५ अर्ब डलरजति छ।
गत सेप्टेम्बरमा न्यूयोर्क टाइम्सले ट्रम्पले सन् २०१६ र राष्ट्रपति बनेको पहिलो वर्ष जम्मा ७५० डलर आयकर तिरेको विवरण प्रकाशित गरेको थियो। तर ट्रम्पले त्यसलाई 'मिथ्या समाचार' भन्दै खण्डन गरे।
पारिवारिक जीवन
ट्रम्पले तीन पटक बिहे गरे। उनकी प्रथम पत्नी इभाना जेलनिक्कोभा चेक धाविका तथा मोडल थिइन्।
उनीहरूका तीन सन्तान डोनल्ड जूनीअर, इभान्का र एरिक छन्। तर इभानाले सन् १९९० मा सम्बन्धविच्छेदको आवेदन दिएपछि सञ्चारमाध्यममा त्यसबारे ठूलो चर्चा भयो।
ती समाचारमा इभानाले ट्रम्पले आफूलाई शोषण गरेको आरोपबारे पनि चर्चा गरिएको थियो। तर पछि उनले ती घटनाबारे नरम बोलेकी थिइन्।

तस्बिर स्रोत, Getty Images
सन् १९९३ मा उनले अभिनेत्री मार्ला म्यापल्ससँग बिहे गरे। उनले छोरी टिफनीलाई जन्म दिइन्।
तर ट्रम्प र मार्लाको १९९३ मा सम्बन्धविच्छेद भयो।
त्यसपछि ट्रम्पले स्लोभेनियाली मोडल मेलानियासँग २००५ मा बिहे गरे। उनीहरूका एक छोरा ब्यारन विलियम ट्रम्प छन्।

तस्बिर स्रोत, Getty Images
प्रथम पत्नीका सन्तानले ट्रम्पलाई अहिले ट्रम्प अर्गनाइजेशन सञ्चालन गर्न सघाउँछन्।
जेठी छोरी इभान्का ट्रम्पसँगै ह्वाइट हाउस गइन्।
उनका पति ज्यारेड कुश्नर र इभान्का ट्रम्पका सल्लाहकार छन्।
राजनीतिमा रुचि
ट्रम्पले पहिलो पटक सन् १९८७ मा राष्ट्रपतिको निर्वाचनमा उठ्ने इच्छा व्यक्त गरेका थिए। सन् २००० मा उनी रिफर्म पार्टीबाट उम्मेदवार पनि बनेका थिए।
बाराक ओबामा अमेरिकामा जन्मिएका हुन् कि हैनन् भनेर प्रश्न सोध्ने अभियानमा ट्रम्प सन् २००८ पछि सहभागी भए। ओबामा हवाईमा जन्मिएको प्रमाण छ। ट्रम्पले त्यो स्वीकारे पनि क्षमायाचना भने गरेनन्।
जुन २०१५ मा ट्रम्पले औपचारिक रूपमै राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरे।
'मेक अमेरिका ग्रेट अगेन' नारासहित उनले एउटा विवादास्पद अभियान थाले। अमेरिकी अर्थतन्त्रलाई सुदृढ बनाउने, मेक्सिकोसँग अमेरिकाको सीमामा पर्खाल बनाउने र मुसलमान आप्रवासीलाई अमेरिका आउन अस्थायी प्रतिबन्ध लगाउने उनको वाचा थियो।

तस्बिर स्रोत, Reuters
निर्वाचनमा विजयी भएपछि ट्रम्पको पदासीन राष्ट्रपति बाराक ओबामासँग भेट भयो।
ट्रम्प अमेरिकी सरकारमा कुनै पद वा सैन्य सेवा नगरेका प्रथप राष्ट्रपति हुन्।
अमेरिकाको ४५औँ राष्ट्रपतिका रूपमा ज्यानुअरी २०१७ मा पदभार ग्रहण गर्नुभन्दा अघि नै ट्रम्पले यसरी नयाँ कीर्तिमान बनाइसकेका थिए।
राष्ट्रपतिको कार्यकाल

तस्बिर स्रोत, Getty Images
उम्मेदवारीजस्तै ट्रम्पको राष्ट्रपतीय कार्यकालमा पनि विवाद र नाटकीय घटनाक्रमहरू भए।
पदभार ग्रहण गरेपछि उनले आफ्नो पहिलो कार्यकारी आदेशमा सात देशका मानिसलाई अमेरिका प्रवेशमा निषेध लगाइदिए। अधिकांश देशमा मुस्लिम बाहुल्य थियो। धेरै आलोचित उक्त आदेशलाई सर्वोच्च अदालतले सदर गरिदियो।
केही महिलापछि उनले एफबीआईका निर्देशक जेम्स कमीलाई पदमुक्त गरिदिए।
सन् २०१६ मा ट्रम्पपक्षीय निर्वाचन अभियान र रुसबीच सहकार्य भएको आरोपको अनुसन्धानसँग त्यो निर्णयको सम्बन्ध भएको आशङ्का गरिएको छ।
त्यसपछि ट्रम्पले जो बाइडनलाई दुर्नाम गर्न एउटा देशलाई दबाव दिएको आरोप लाग्यो। डेमोक्र्याटिक पार्टीको नेतृत्वमा महाभियोग लगाउने विषयमा छानबिन भयो। अमेरिकाको इतिहासमा महाभियोग खेप्ने उनी तेस्रो राष्ट्रपति हुन्।
यो निर्वाचनको परिणामप्रति असन्तुष्टि व्यक्त गर्दै ट्रम्पले असन्तुष्टि व्यक्त गर्दै धाँधली भएको आरोप लगाएका छन्। तर उनले आरोप पुष्टि गर्न कुनै प्रमाण देखाएका छैनन्।

तस्बिर स्रोत, Reuters
उनका पक्षधरहरूले विभिन्न राज्यमा मतगणनालाई कानुनी चुनौती दिँदै मुद्दा हालेका छन्।
शनिवार बाइडनको विजय घोषणा गरिँदा ट्रम्प गल्फ खेल्न गएका थिए। त्यही बेला जारी भएको विज्ञप्तिमा ट्रम्पले बाइडनले आफूलाई अनुचित रूपमा विजेता घोषणा गर्न लागेको र उनलाई समर्थन गर्ने सञ्चारमाध्यमले त्यसमा सघाउन खोजेको आरोप लगाए।
"उनीहरू सत्य बाहिर आओस् भन्ने चाहन्नन्," उनको वक्तव्यमा लेखिएको छ।
गणना गरिएको मत प्रमाणीकरण हुन बाँकी भएको र सार्वजनिक भएको परिणाम सञ्चारमाध्यमको प्रक्षेपणमात्र भएको सङ्केत गर्दै उनले भने, "सामान्य तथ्य के हो भने यो निर्वाचन सकिइसकेको छैन।"












