अमेरिका राष्ट्रपतीय निर्वाचन परिणामः जो बाइडनको विजयले बाँकी विश्वलाई के अर्थ राख्छ

तस्बिर स्रोत, Reuters
केही दिनको अनिश्चिततापछि जो बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचन जितेको बीबीसीको परिणाम प्रक्षेपणले देखाएको छ।
डोनल्ड ट्रम्पको चारवर्षे कार्यकालमा बाँकी विश्वसँग अमेरिकाको सम्बन्धमा एकदमै ठूलो परिवर्तन देखिएको थियो।
संसारका विभिन्न स्थानमा रहेका बीबीसी पत्रकारहरूले ती स्थानमा बाइडनको विजयलाई कसरी लिइएको छ भनेर विवरणहरू पठाएका छन्।
चीन
बेइजिङबाट बीबीसीका जन सडवर्थ लेख्छन्- अमेरिकामा जो बाइडनको जितले चिनियाँ प्रणालीसमक्ष अर्को चुनौती खडा गरिदिएको छ।

तस्बिर स्रोत, Getty Images
कसैलाई चीन डोनल्ड ट्रम्पको ह्वाइट हाउसबाट बिदाइ भएको हेर्न चाहन्छ भन्ने लाग्न सक्छ। किनकि उनी चीनसँगको व्यापार-युद्ध , चीनविरुद्ध लगाइएका दण्डात्मक प्रतिबन्धहरूका साथै कोरोनाभाइरसको महामारीका लागि चीनलाई दोष दिने गरेर एक नम्बरको चीन आलोचकका रूपमा देखिन्थे।
तर केही विश्लेषकहरूको विचारमा ट्रम्प ह्वाइट हाउसका लागि पुनः निर्वाचित भएको भए उनका नीतिहरूका कारण अमेरिकाको शक्ति क्षीण हुँदै जान सक्ने हुँदा त्यो आफ्नो हितमा हुने आशा बेइजिङले गरेको हुनुपर्छ।
तर निश्चय नै अब जो बाइडनले जलवायु परिवर्तनजस्ता ठूला मुद्दामा आपसी सहयोग खोज्ने प्रयास गर्दा चीनले आफ्नो फाइदा हुने अवसरहरू पनि खोज्ने नै छ।
बाइडनले चीनसँग अमेरिकी सम्बन्ध सुधार गर्ने प्रयासहरू गर्दा ट्रम्पले जस्तो एक्लै हिँड्ने कदमको दाँजोमा विश्वशक्ति बन्ने चिनियाँ आकाङ्क्षामा केही अङ्कुश लाग्न सक्छ।
भारत
उपराष्ट्रपति-निर्वाचित कमला ह्यारिसको वंशको नाताले गर्दा उनलाई भारतमा गौरवका रूपमा लिइएको छ। तर दिल्लीबाट बीबीसीकी रजिनी वैद्यनाथन लेख्छिन् - प्रधानमन्त्री नरेन्द्र मोदीले बाइडनबाट उनका पूर्ववर्तीभन्दा केही चिसो प्रतिक्रिया पाउन सक्छन्।
भारत लामो समयदेखि नै अमेरिकाको महत्त्वपूर्ण साझेदार रहँदै आएको छ र यो दिशामा बाइडनको शासनकालमा पनि खासै परिवर्तन होला जस्तो छैन।
चीनको उदय रोक्न र विश्वव्यापी आतङ्कवादविरुद्ध लड्न दक्षिण एशियाको सबैभन्दा ठूलो जनसङ्ख्या भएको यो देश अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको एक महत्त्वपूर्ण साझेदार हुनसक्छ।

तस्बिर स्रोत, Getty Images
तर बाइडनको चुनाव प्रचार अभियानको वेबसाइटमा कश्मीरका सबै बासिन्दाको अधिकार पुनर्स्थापित हुनुपर्ने आह्वानदेखि लिएर न्याश्नल सिटिजन रेजिस्टर एनआरसी नागरिकता संशोधन ऐन सीएएको विरोधसम्मका कुराहरू राखिएका छन्।
उपराष्ट्रपति-निर्वाचित कमला ह्यारिसले पनि भारतको हिन्दू राष्ट्रवादी सरकारका नीतिहरूको आलोचना गरेकी छन्।
उत्तर कोरिया
दक्षिण कोरियाको राजधानी सउलबाट बीबीसीकी लोरा बिकर लेख्छिन् - उत्तर कोरियाले कुनै समय बाइडनलाई "रोगग्रस्त श्वान" भन्ने गर्थ्यो।

तस्बिर स्रोत, Getty Images
तर अब किम जङ अनले नयाँ अमेरिकी राष्ट्रपतिलाई उत्तेजित पार्ने प्रयास गर्नुभन्दा अघि केही सावधानीपूर्ण आकलनहरू गर्नेछन्।
डोनल्ड ट्रम्पसँगको अभूतपूर्व भेटघाट र बैठकहरूले उपलब्ध गराएका विभिन्न अवसरहरूका कारण किमले सम्भवतः ट्रम्पको थप चार र्षे कार्यकाल चाहेका हुनसक्छन्।
तर जो बाइडनले किम जङ अनसँग भेट गर्नुअघि उनले देशको परमाणुअस्त्र कार्यक्रमहरू परित्याग गर्ने चाहना स्पष्ट रूपमा प्रदर्शन गर्नुपर्छ भनेका छन्।
यूके
बीबीसीकी लन्डनस्थित राजनीतिक संवाददाता जेसिका पार्कर लेख्छिन् - अब जो बाइडन शक्तिमा आएपछि अमेरिका र यूकेको "विशेष मैत्रीपूर्ण सम्बन्ध" ओरालो लाग्न सक्छ।
अनुभवी डेमोक्र्याट राजनीतिज्ञ जो बाइडन र चर्को ब्रेक्जिट पक्षधर बोरिस जोनसनका बीचमा स्वाभाविक तालमेल नमिल्न सक्छ।

तस्बिर स्रोत, ccb
कुनै बेला डोनल्ड ट्रम्पले ब्रिटिश प्रधानमन्त्री जोनसनलाई "ब्रिटेन ट्रम्प" भनेका थिए र त्यसप्रति बाइडनको सहमति रहेको हुनसक्छ।
किनकि उनले पनि जोनसनलाई ट्रम्पका "शारीरिक र भावनात्मक नक्कल" भनेका बताइएको थियो।
यसर्थ पनि जो बाइडनले यूकेसँग भन्दा पहिला ब्रसल्स , बर्लिन वा प्यारिससँग सम्बन्ध अघि बढाउने चाहना राख्न सक्छन्।












